देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुख नपाएको झोकमा एमाले नेता शाहीले राजिनामा दिए

देशान्तर

काठमाडाै‌ं । मन्त्री बन्नका लागि पैसाको चलखेल भएको भन्दै नेकपा एमालेका एक जना प्रदेशसभा सदस्यले सांसद र पार्टीको साधरण सदस्यबाट समेत राजीनामा दिएका छन् । एमाले केन्द्रीय कमिटिको सल्लाहकार तथा मुगुबाट निर्वाचित सांसद चन्द्रबहादुर शाहीले नेकपा एमालेमा पद प्राप्तीका लागि गुट र पैसा चलखेल भएको भन्दै उनले राजीनामा दिएका हुन् ।

माधव नेपाल निकट शाही मुगुबाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । उनी एमालेले प्रदेश नम्बर ६ को सभामुख पाएपछि सभामुखको दाबेदार थिए । तर उनलाई सभामुख बनाइएन । त्यस्तै सभामुख बन्न नसकेपछि मन्त्री बन्ने आंकाक्षा राखेका थिए ।

मन्त्री पनि नबनाएपछि उनले राजीनमा दिएका हुन् । शाहीले एमालेले प्रदेश ६ मा पैसाको आडमा मन्त्री बनाएको आरोप लगाएका छन् । उनले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार आफ्नै निजी स्वार्थ र पैसाको भरमा मन्त्री किनबेच गरी चलेकाले यो सरकारले जनताको भावना माथी कुठराघात गर्ने बताए ।

शाहीले प्रदेश ६ मा आफुले सभामुखमा दावी गरेतापनि नेतृत्वको चित्त बुझाउन नसक्दा आफु अन्यायमा परेको बताए । उनले आजकै दिनदेखि लागु हुनेगरी सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् ।

राजिनामा दिन सुर्खेतबाट सोमबार विहान काठमाडौं आएको शाहीले प्रदेशसभा सदस्यको राजीनामा हुलाकमार्फत सभामुखलाई पठाएका छन् ।
प्रदेश ६ मा आईतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद गठनगर्दा एमालेबाट उनी परेनन् । पार्टीभित्र उनी माधवकुमार नेपाल पक्ष हुन् । नेपाल पक्षका भएकै कारण उनको सभामुख बन्ने सपना सपनामात्रै भएका हुन् । प्रदेश ६ को मन्त्रिपरिषदले सभामुखको जिम्मा आईतबारै राजबहादुर शाहीलाई दिईसकेका छन् । उनी ओली पक्षका हुन् । त्यसलगत्तै शाहीले आफु अपमानित भएको महशुस गर्दै राजीनामा दिएको बताए ।

उनले भने ‘नवप्रवेशी र पैसावालहरुलाई आर्थिक चलखेल गरेर संसदीय दलका नेता यमलाल कँडेककलले मन्त्री बनाए । पार्टीमा कुनै योगदान नगरेका र कुनै कमिटीमा नरहेका व्यक्तिलाई सभामुख बनाइयो ।

ममाथि सहनै नसकिने अन्याय गरेपछि धेरै पीडावोध महशुस गरेर राजीनामा दिएको हुँ’ । एमालेबाट मन्त्री बनेका डोल्पाका नन्दसिंह बुढा राप्रपाबाट एमाले प्रवेश गरेका हुन् भने हुम्लाका दल रावल जनमोर्चाबाट एमाले प्रवेश गरेका एनजिओकर्मी रहेको शाहीले बताए ।

उनले सुर्खेतका ठेकेदार खड्ग खत्रीलाई दलका नेता कँडेलले आर्थिक चलखेल गरेर मन्त्री बनाएको आरोपसमेत लगाए । ‘नवप्रवेशी र पार्टीमा कुनै योगदान नगरेका व्यक्तिहरुलाई आर्थिक चलखेल गरेर मन्त्री बनाइन्छ भने यस्तो पार्टीमा कसरी बस्न सकिन्छ ?’ शाहीले भने, ‘पार्टीमा लागेर जेलनेल खाएको र मुगुमा पार्टी स्थापना गर्दै केन्द्रीय कमिटीसम्म पुगेको व्यक्तिमाथि यो भन्दा ठूलो अपमान केही हुँदैन’ ।

एमाले नेता शाही २०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्य जितेका थिए । मुगुमा एमालेबाट चुनाव जित्ने शाही पहिलो व्यक्ति हुन् । उनी आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने हाल सल्लाहकार छन् ।