देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको अबको यात्रा : व्यवहारमा लोकतान्त्रीक आचरण

देशान्तर

फागुन ३ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अब कांग्रेस पाँच वर्षका लागि प्रतिपक्षी दलका रूपमा राजनीति यात्रामा होमिएको छ । कांग्रेस केन्द्रीय सरकारमा मात्र होइन, सबै प्रदेशको सरकार र धेरै स्थानीय सरकारमा पनि प्रतिपक्षको भूमिकामा छ । हुन त लोकतान्त्रिक आचरण र व्यवहार सरकार र विपक्षीले देखाउन सकेमा प्रतिपक्ष भनेको पनि सरकारको एउटा अंग हो । तर त्यो आचरण र व्यवहार यतिबेलासम्म कुनै पनि राजनीतिक दलहरूले देखाउन सकेका छैनन् । लोकतन्त्रमा संसद् भनेको सधैं प्रतिपक्षको हो । सरकार बहुमत हुनेले चलाउने हो । अनि खबरदारी संसद्मार्फत गर्ने हो । खबरदारी गर्ने नाउँमा संसदीय पद्धति र मर्यादाभन्दा बाहिर गएर विगतमा भएको केही निकृष्ट कामको अनुसरण अवश्य होइन । अनि सरकारले पनि शासन गर्ने नाममा संसद् छ र सरकार संसद्प्रति उत्तरदायी हुनुपर्छ भनेर अगाडि बढ्नुपर्छ । कांग्रेसका धेरै नेताहरूले अबको भूमिका जिम्मेवार प्रतिपक्ष भन्दै आएका छन् । तर त्यो जिम्मेवार प्रतिपक्ष भनेको के हो यो विषयलाई स्पष्ट पारेका छैनन् । कांग्रेसजस्तो लोकतन्त्रवादी पार्टीको अबको भूमिका भनेको लोकतान्त्रिक आचरणलाई व्यवहारमा उतार्न जरुरी छ । लोकतन्त्रवादी भन्ने तर कांग्रेसका नेता कार्यकर्ताहरूको व्यवहार लोकतान्त्रिक थिएन् । अबको प्रतिपक्ष भूमिकामा बस्दै गर्दा आम कांग्रेसजनले लोकतन्त्रवादी चरित्र, आचरणलाई व्यवहारमा उतार्न सके भनेमात्रै साँच्चै कांग्रेस बन्छ । लोकतन्त्र भनेको केही विधि हो, अनि विधान हो अनि प्रक्रिया पनि हो । हिजोका दिनमा सहमतिका नाममा कांग्रेसले राज्य सञ्चालन गर्दा होस् या राज्य सञ्चालनको साक्षी बस्दा समेत विधि, विधान र प्रक्रियामाथि धावा बोलेको छ । अब त्यो होइन लोकतन्त्रका मूल्य मान्यतामा जस्तो अवस्था आए पनि सम्झौता गर्नुहुन्न ।

तर सरकारले त्यो लोकतान्त्रिक चरित्र देखाउने लक्षण प्रधानमन्त्रीका रूपमा केपी ओलीको शपथमा देखिएनन् । लोकतान्त्रिक र संसदीय व्यवस्थाको एक प्रकारले भन्दा प्रधानमन्त्रीका रूपमा ओलीको शपथ हुँदै गर्दा संविधानको संरक्षणको दायित्व पाएका र संविधानको निर्माणमा योगदान पु¥याएकाहरूबाट खिल्ली उठाउने काम भयो । लोकतन्त्रमा नैतिकताको कुरा ठूलो हुन्छ । विधि विधानको पालना गर्नु त लोकतन्त्रको मूलभूत सिद्धान्त नै हो । तर प्रधानमन्त्रीको शपथ गराउँदा प्रतिनिधिसभा सदस्यमा रूपमा शपथ नै नलिएका व्यक्तिलाई शपथ गराएर गरेर लोकतान्त्रिक चरित्रमा आचरणमा हामी बस्दैनौं भन्ने चुुनौती दिन सुरु गरेका छन् । यो भनेको लोकतन्त्र र लोकतान्त्रिक विधि विधान र प्रक्रियामाथि काल पल्कन सुरु गरेको हो । काल पल्कँदा कांग्रेस पनि प्रतिकारमा उत्रेन । प्रतिकार नगर्दा पलायनको सुरुवात हुन्छ । विधि र विधानमाथि धावा बोल्दा कांग्रेसका नेताहरूले चुइँक्कसमेत नबोल्नु वा बोल्न नसक्नु अझ गम्भीर कुरा हो ।

तीन तहको चुनाव सकिएपछि बल्ल संविधानसभाले बनाएको संविधान लागु भयो । नयाँ संविधानअनुसार नयाँ सरकार बन्दा संविधान, विधि र प्रक्रियाको खिल्ली उठाउन सुरु हुँदा कांग्रेसजस्तो इतिहास भएको पार्टीले किन बोल्न सकेन ? आज संविधानको संरक्षक र संविधानको कार्यान्वयन गर्ने दुईवटा संस्थाले प्रतिनिधिसभा सदस्यको शपथ नखाएको व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा कांग्रेसले बोल्न नखोज्नु, नसक्नु भनेको मुलुकको भविष्यका लागि सुनौलो विषय होइन । भोलिका दिनमा यसरी विधि प्रक्रिया र विधान क्रमशः मिच्दै जान थाल्दा पनि कांग्रेसको भूमिका यही हुन्छ । अनि कांग्रेसले भन्दै आएको रचनात्मक प्रतिपक्ष यस्तै हो ?

नेपालको लोकतान्त्रिक आन्दोलनमा २० को दशकदेखि लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफैं किन संविधानसभाले बनाएको संविधान कार्यान्वयनपछिको पहिलो सरकार गठन हुँदा मिचिएको विधि र विधानको साक्षी बसे । उनीसँग के बाध्यता थियो । किन देउवाले प्रतिनिधिसभा सदस्यको शपथ नखाई प्रधानमन्त्री पदको शपथ खाने व्यवस्था नभएको विषय उठाउन सकेनन् । कांग्रेस र देउवालाई यो विषय उठाउँदा सत्ता लम्ब्याउन लागेको आरोप लाग्न सक्थ्यो । तर गलत नजिर बस्न नदिन एउटा लोकतन्त्रवादीले आफ्नो आलोचना मात्र होइन अपमान पनि सहनुपर्छ । देउवाले यो विषय उठाउँदा कांग्रेसले यो विषयमा बोल्दा आलोचना हुन्थ्यो होला, तर मुलुकमा गलत नजिर बस्न कांग्रेसले दिँदैन र देउवाले दिदैनन् भन्ने एउटा आदर्श पनि स्थापित हुन्थ्यो ।

यो विषय हेर्दा सामान्य होला तर अलि गहिरिएर हेर्दा यो विषय गम्भीर हो । यो एक प्रकारको संविधानमाथिको बल मिच्याइँ हो । भोलिका दिनमा पनि बल मिच्याइँ गर्न सक्छौं भन्ने एउटा सन्देश हो । अनि यो विषय भोलिका लागि एउटा नजिर पनि हो । सत्य भनेको त सांसद पदको सुरुवात शपथ ग्रहणपछि हुन्छ । यदि सांसद पदको सुरुवात निर्वाचन आयोगले प्रमाणपत्र दिएका दिनबाट हुने हो भने प्रधानमन्त्रीको शपथ खान केपी ओलीले सुविधा नपाएजस्तै अरू सांसदहरूले सांसदबापत पाउने सेवासुविधा किन नपाउने ? यो विषय भोलिका दिनमा संसद्मा प्रवेश पाउँछ कि पाउँदैन अब महत्वपूर्ण भोलि भएको छ । भोलिका दिनमा संसद्मा यो विषयले प्रवेश पायो केपी ओलीले दिने जवाफ के हुन्छ । त्यसकारणले कांग्रेसले यो विषयलाई नजिरका रूपमा स्थापित हुन नदिनका लागि भोलीका दिनमा विधि र प्रक्रिया मिच्न नदिनका लागि पनि संसद्सम्म पु¥याउनुपर्छ ।