देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कसरी छुटे ओलीको रेलमा ईश्वर पोखरेल ?

देशान्तर

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ खाएसँगै गठन गर्ने मन्त्रिमण्डलमा एमालेका महासचिव ईश्वर पोखरेल पर्ने निश्चित जस्तै थियो । एमालेका केही शीर्ष नेताहरू अध्यक्ष ओलीसँगै सरकारमा महासचिव जाने अनौपचारिक निर्णयसमेत भइसकेको थियो । तर ओलीको शपथसँगै शक्तिशाली गृह वा अर्थ मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारीमा जुटेका ईश्वर पोखरेलको रेल राष्ट्रपति कार्यालय नपुग्दै छुटेको थियो । शपथग्रहण समारोहमा राष्ट्रपति कार्यालयमा ओलीको रेल लालबाबु पण्डित र थममाया थकालीले समातिसकेका थिए ।

ओली अध्यक्ष भएदेखि ओली गुटका विश्वासपात्र रहेको पोखरेललाई मन्त्री बन्न रोक्दै माधव नेपाल निकट नेता लालबाबुर पण्डित र वामदेव निकट थममाया थापामगरलाई ओलीले सरकारमा सहभागी गराएपछि ओली गुटमा भित्रियाहरू असन्तुष्ट बनेका छन् ।

महासचिव पोखरेललाई मन्त्री बनाउने पक्कापक्की हुँदाहुँदै पनि शपथ नगराएपछि सोही साँझ ओली निकट एमाले नेताहरू बालकोट पुगेका थिए । पार्टीभित्र ओली गुट चलाउँदै आएका नेताहरू असन्तुष्टि लिएर बालकोटमा पुगेका थिए । तर प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन् र महासचिव पोखरेललाई मन्त्री नबनाएको विषयसमेत राख्न पाएनन् । आफ्नो गुनासो राख्ने समय नै ओलीले नदिएपछि ती नेताहरू असन्तुष्ट भएर फर्केको स्रोतले बताएको छ ।

पछिल्लो समयमा सरकारको दाबी पेस गर्नका लागि राष्ट्रपति कार्यालयमा पार्टीका प्रभावशाली नेताहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसँगको सल्लाहमा ओलीले आफ्नो रेलबाट पोखरेललाई छुटाएको बताइएको छ । राष्ट्रपति कार्यालयबाट संसदीय दलको बैठकका लागि पार्टी कार्यालय पुग्दा ओली र नेपाल ओलीको गाडीमा सँगै पुगेका थिए । माधव नेपालको गुटमा रहेका पोखरेल सो गुटलाई धोका दिदै ओली गुटमा पुगेका थिए ।

अघिल्लो महाधिवेशनमा माधव नेपाल गुटलाई धोका दिएका कारण पोखरेलसँग नेपाल असन्तुष्ट बनेका थिए अर्कोतर्फ पोखरेलसँग वामदेव गौतम पनि सन्तुष्ट थिएनन् । त्यसैगरी प्रधानमन्त्री ओलीसमेत कसैलाई पनि उपप्रधानमन्त्री बनाउने पक्षमा नभएकाले सवै नेताहरूको स्वार्थ मिलेका कारण पोखरेलको रेल छुटेको चर्चा धुमवाराहीतिर छ । महासचिव पोखरेल यसअघि नै बाबुराम भट्टराई सरकारमा १३ दिने उपप्रधानमन्त्री भइसकेका कारण सरकारमा सहभागी गराउँदा उपप्रधानमन्त्री दिनुपर्ने भएकाले पोखरेललाई सरकारमा सहभागी नगराउने दाउको खोजीमा ओली भइरहेका बेलामा माधव नेपाल र वामदेव गौतमलाई मिलाउने भन्दै दुई गुटका नेताहरूलाई सरकारमा सहभागी गराएको बताइएको छ ।

यस्तै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्न एमालेका नेताहरूले दौडधुप तीव्र पारेका छन् । मन्त्रीका लागि आकांक्षी धेरै भएपछि एमालेमा भागबन्डा मिलाउन ठूलो सकस परेको छ । एमालेमा धेरै नेताको आकर्षणमा अर्थ मन्त्रालय परेको छ । अर्थमन्त्रीका लागि धेरै आकांक्षी देखिएका छन् । महासचिव ईश्वर पोखरेलदेखि उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीले अर्थ मन्त्रालयमा रुचि देखाएका छन् । यस अतिरिक्त पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि अर्थमन्त्री बन्न रुचि देखाएका एमाले स्रोत बताउँछ ।

ओली पहिलो पटक प्रधानमन्त्री बनेको समयमा पौडेल अर्थमन्त्री थिए । अर्थ मन्त्रालयमा आँखा गाँड्ने नेताहरू बाहेकमन्त्री बन्ने दौडमा सचिव योगेश भट्टराई, भक्तपुरका महेश बस्नेत, काभ्रेका गोकुल बाँस्कोटा र सिन्धुपाल्चोकका शेरबहादुर तामाङ प्रदेश ४ बाट राष्ट्रियसभा सदस्य बनेका एमालेका पोलिटब्युरो सदस्य गणेश तिमिल्सिना कास्कीका रवीन्द्र अधिकारी, पद्मा अर्याल, रूपन्देहीका घनश्याम भुसाल तथा गुल्मीका गोकर्ण विष्ट, अछामका भीम रावल, कैलालीका नारदमुनि राना, काठमाडौंका कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, चितवनका कृष्णभक्त पोखरेल, ओखलढुंगाका यज्ञराज सुनुवार मन्त्री बन्नका लागि लिगलिगे दौडमा रहेका छन् ।