काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने भएका छन् । निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गरेपछि प्रधानमन्त्रीले बिहीबार राजीनामा दिने भएका हुन् । कानुनतः निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ ।
देउवाले बिहीबार बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार अन्तिम मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ । ‘प्रधानमन्त्रीज्यूले बिहीबार बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाउनुभएको छ, त्यसलगत्तै राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ सरकारका लागि मार्गप्रशस्त गर्नुुहुनेछ,’ परियारले भने ।
बुधबार नै मन्त्रिपरिषद्को बैठक बस्ने र प्रधानमन्त्रीले राजीनामा दिने तयारी भए पनि बिहीबारका लागि सारिएको उनले बताए । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्न ढिलाइ गरेका कारण बिहीबारको मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको हो ।
आयोगले निर्वाचन परिणाम बुझायो
आयोगले १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ । आयोगले बुधबार साँझ राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहका बीच निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको हो ।
अब सरकार गठन प्रक्रिया अघि बढ्छ: राष्ट्रपति
निर्वाचन परिणाम प्रतिवेदन बुझ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अब नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने बताएकी छिन् । उनले निर्वाचन परिणाम प्राप्त भइसकेकाले सरकार गठन प्रक्रिया सुरु हुने बताएको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।नयाँ पत्रिका
प्रतिक्रिया