देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीले प्रदेश ६ मा उपसभामुख छान्न सकेन, पुष्पा र कृष्णाको दाबी

देशान्तर

सुर्खेत । एमालेका राजबहादुर साही प्रदेश नम्बर ६ को सभामुख निर्वाचित भइसके पनि उपसभामुख को बन्ने भन्ने टुंगो लाग्न सकेको छैन ।

स्पष्ट बहुमत रहेको वाम गठबन्धनमा उपसभामुख माओवादी केन्द्रले पाउने सहमति भएको छ । उपसभामुख चयनका लागि मिति नजिकिए पनि माओवादीले उम्मेदवारको टुंगो लगाउन बाँकी छ । यही फागुन ५ गते बस्ने प्रदेशसभा बैठकले उपसभामुख चयन गर्ने कार्यतालिका छ ।

उपसभामुखमा माओवादीबाट २ जनाको दाबेदारी छ । पार्टी पोलिटब्यूरो सदस्यसमेत रहेकी सुर्खेतकी पुष्पा घर्ती र जाजरकोटकी कृष्णा साहले उपसभामुख बन्ने आकांक्षा देखाएका छन् । सभामुख पुरुष भएकाले उपसभामुख महिला नै हुनुपर्ने बाध्यात्मक अवस्था छ ।

उपसभामुखकी आकांक्षी पुष्पाले पार्टीले दिएको भूमिका निर्वाह गर्ने बताइन् । उनले भनिन्, ‘मलाई यो नै पद चाहियो त म भन्दिनँ, तर यदि पार्टीले जिम्मा दिएको खण्डमा उपसभामुख भएर काम गर्न तयार छु,’ उनले भनिन् ।

प्रदेश ६ का महिला नेतृमध्ये पार्टीमा आफू वरिष्ठ भएकाले कि त मन्त्री नभए उपसभामुख बनाउन भन्दै पुष्पाले लबिङ गरिरहेको स्रोतले बताएको छ ।

उपसभामुखकी अर्की आकांक्षी कृष्णा शाह भने अग्रजहरू मन्त्री पदका दाबेदार रहेकाले आफू उपसभामुख बन्न चाहेको बताउँछिन् । ‘सीता दिदी, पुष्पा दिदी र विमला दिदीले मन्त्री पदका लागि लबिङ शुरु गर्नुभएको छ, उहाँहरु उपसभामुख नबन्ने भन्ने मैले सुनेकी छु, त्यसैले उपसभामुखको जिम्मेवारी पार्टीले दिएको खण्डमा म निभाउन तयार छु,’ उनले भनिन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता तथा भावी मुख्यमन्त्री महेन्द्रबहादुर शाही  फागुन ४ गते उपसभामुखको टुंगो लगाउने बताउँछन् । ‘हामीले त्यबारेमा अहिलेसम्म छलफल नै गरेका छैनौँ,’ उनले भने, ‘४ गते नै को उपसभामुख बन्छ थाहा हुनेछ ।’