देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु: नेपालको तेस्राे जित, केन्या ३ विकेटले पराजित

देशान्तर

काठमाडौं। नामिबियामा जारी आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आफ्नाे चाैथो खेलमा नेपालले सोमबार केन्यालाई ३ विकेटले पराजित गर्दै एकदिवशिय विश्वकपकाे विश्वस्तरकाे छनोट खेल्ने सम्भावना बलियाे बनाएकाे छ।

केन्याले दिएको एक सय ७८ रनकाे लक्ष नेपालले ४९ अाेभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्‍याे। नेपालका जितमा बलिङतर्फ सन्दिप लामिछाने तथा ब्याटिङतर्फ दुई युवा खेलाडी आरिफ शेख र रोहित पौडेलले बेजाेड प्रदर्शन गरे। आरिफ र राेहितले छैटौं विकेटका लागि ८७ रनकाे साझेदारी गरेका थिए। आरिफले ४२ र रोहितले ४७ रन बनाए। आरिफले ८२ बलमा एक चौका प्रहार गरे। रोहितले ८५ बलमा एक चौका प्रहार गरे।

नेपालका कप्तान पारस खड्का ४२ , शरद भेषावकर १९ , ज्ञानेन्द्र मल्ल ९, दीपेन्द्रसिंह एेरी एक र अनिल शाह शुन्यमा आउट भए। तर माथिल्लाेक्रमका ब्याट्सम्यानले राम्राे खेल्न नसक्दा दुई युवा खेलाडी राेहित र आरिफमाथी जिम्मेवारी अाएकाे थियाे। नेपालले ८२ रन जोड्दा पाँच विकेट गुमाईसकेको थियाे। भेषावकर र पारसबीच चौथाे विकेटका लागि ५५ रनकाे साझेदारी भएकाे थियाे।

यसअघि केन्याले निर्धारित ५० अोभरमा ८ विकेट गुमाएर एक सय ७८ रन जोड्यो। नेपालका युवा स्पिनर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए। १० अोभर बलिङ गरेका सन्दीपले पाँच मेडन राख्दै २० रन खर्चिए। बसन्त रेग्मी , शरद भेषावकर र साेमपाल कामीले एक एक विकेट हात पारे । सन्दीपले बलिङ गरेका ६० बलमध्ये ५० बलमा रन दिएनन्। उनले दुई चौका दिएका थिए।

पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेकाे केन्याका सुरुका दुई विकेट सन्दीपले लिएका थिए। केन्याले एक सय तीन रन जोड्दा बसन्तले तेस्रो विकेटका रुपमा विकेटकिपर इरफान करिमलाई ४२ रनमा अाउट गरे। त्यसपछि आफ्नाे साताै‌ं अोभर लिएर अाएका सन्दिपले त्यस अाेभरमा दुइ विकेट लिएका थिए।

उनले ३४अाैं अोभरकाे पहिलाे दुई बलमा दुई विकेट लिएका हुन्। सन्दीपले अाफ्नाे १० अाैं तथा अन्तिम अोभरमा एक विकेट लिएर पाँच विकेट पुरा गरेका थिए। १७ अाै‌ अाेभरकाे अन्तिम बलमा सन्दीपले एलेक्स अोबान्डालाइ ब्यक्तिगत ४१ रनमा बाेल्ड अाउट गर्दै केन्याकाे पहिलाे विकेट साझेदारी ताेडेका थिए।

उनले १९ अाै‌ं अाेभरमा दाेस्रो विकेट लिए। त्यसपछिका आफ्ना लगातार दुई अाेभर सन्दीपले मेडन फ्याँके । उनले आइतबार यूएईविरुद्ध पहिलो अोभरमै दुई विकेट लिएका थिए। त्यतिबेला लगातार बलमा उनले विकेट हात पारेका थिए। सन्दीपले प्रतियोगिताका अाफ्ना चार खेलमा १४ विकेट लिएका छन्।

नामिबियाविरुद्ध चार विकेट लिएका सन्दिपले अोमानविरुद्ध दुई र यूएईविरुद्ध तीन विकेट लिएका थिए। पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपालले दाेस्राे खेलमा अाेमानसँग ६ विकेटले पराजित भएकाे थियाे भने तेस्रो खेलमा यूएईलाई चार विकेटले पराजित गरेको थियो ।

चार खेलपछि ६ अ‌ंक भएकाे नेपाल तालिकाको दाेस्राे स्थानमा छ। शीर्षस्थानमा रहेकाे क्यानडाकाे तीन खेलबाट ६ अ‌ंक छ। ६ टोली सहभागी प्रतियोगिताकाे शीर्ष दुई टाेली एकदिवशिय विश्वकपकाे विश्वस्तरकाे छनोटमा पुग्नेछन्। तीन तीन खेल खेलेका यूएई र अाेमानको समान दुई अ‌ंक छ। नेपालले आफ्नाे पाँचौं तथा अन्तिम खेलमा बुधबार क्यानडाकाे सामना गर्ने छ।