हामीबीच नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति र पूर्वप्रधानमन्त्री सुशील कोइराला हुनुहुन्न । तर पार्टीले कहिल्यै बिर्सन नसक्ने नेतामा सुशील कोइराला पनि पर्नुहुन्छ । हुन त नेपाली कांग्रेस र नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हेर्ने हो भने पछिल्लो समयसम्म पनि जनताको शासन स्थापना गराउने विषयमा कोइराला परिवारको विशेष र महत्वपूर्ण भूमिका रहेको छ । माओवादी जनयुद्ध र पहिलो संविधानसभाको निर्वाचनले देशले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्न सकेन । देश अन्योल नै रहेको अवस्थामा गिरिजाप्रसाद कोइराला रहनु भएन । दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई सभापति सुशील कोइरालाले सबैभन्दा ठूलो पार्टी बनाउनुभयो । सबै विपक्षीहरूले समेत उहाँको विषयमा सम्मानजनक कुरा नै गर्दै आएका छन् । पार्टी संसद्मा ठूलो भएपछि उहाँको नेतृत्वमा सरकार पनि गठन भयो । सुशील कोइरालाको व्यक्तिगत विषयमा भन्नुपर्दा उहाँको जीवनशैली एकदमै साधा थियो । कुनै कुरामा लोभ थिएन । पार्टी र देशलाई आर्थिक अपारदर्शिताबाट बचाउनुपर्छ भन्ने उहाँको सोच थियो । उहाँले पार्टी सभापति भएपछि कहिले पनि कार्यकर्तालाई अपमान गर्नु भएन । कार्यकर्तालाई उचित व्यवस्थापन गर्न सकेमात्र पार्टी बलियो हुन्छ भन्ने उहाँको सोच रहेको थियो ।
जहाँसम्म कांग्रेसको आन्तरिक विषय र कांग्रेस माथि परेको संविधान निर्माणको दायित्व थियो यसलाई जसरी पनि पूरा गराउने अठोट उहाँले लिनुभएको थियो । मैले पनि उहाँको नेतृत्वमा सरकार गठन भएका समयमा सँगै बसेर काम गर्ने मौका पाएँ । हामीले बाहिरबाट जसरी सुशील कोइरालालाई हेर्ने र बुझ्ने गर्दथ्र्यौ, यसमा धेरै फरक रहेछ । सादा, शालीन र बोलीमा अडिग रहने उहाँको बानी रहेछ । उहाँले संविधानसभाको निर्वाचनमा कांग्रेसले बहुमत पाएकै अवस्थामा भन्नुभएको थियो कि कांग्रेसले बढी सिट जित्यो भनेर फुर्किनुपर्ने अवस्था अहिले होइन । जनताले कांग्रेसबाट धेरै अपेक्षा गरेको छ । पहिलो चुनावमा पहिलो दल बनेको माओवादी तेस्रो स्थानमा गएको छ । एमाले दोस्रो स्थानमा रहँदा मधेस केन्द्रित दलहरूले पनि आफ्नो उपस्थिति जनाएका छन् । यी पार्टीलाई मिलाएर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्नुपर्छ भन्ने उहाँमा सोच थियो । सुशील कोइरालाको अडान र भनाइ वास्तवमै सही थियो । पहिलो संविधानसभामा नेपाली कांग्रेस पहिलो पार्टी बनेको भए पहिलो पटकमै संविधान जारी भइसक्ने थियो । कम्युनिस्टहरूको नेतृत्व हुँदा जनतालाई संविधान दिन सकेनन् ।
त्यसकारण पनि कांग्रेस नेतृत्वको सरकारको पार्टीको पहिलो काम भनेको संविधान जारी गराउनुपर्छ भन्ने उहाँको सोच थियो । संविधान निर्माण र जारी हुने अवस्थामा मधेस केन्द्रित केही दलहरू सहभागी भएनन् । संविधान तयार भइसक्यो, मधेसी दलहरूले असन्तुष्टि देखाएका छन् । संविधानका विषयमा देश विदेशबाट विभिन्न क्रिया र प्रतिक्रियाहरू आइरहेका थिए । यो अवस्थामा तत्कालीन सभापति सुशील कोइरालाले पार्टीमा छलफल गर्नुभयो । अहिले संविधान जारी गर्न सकिएन भने भोलि संविधान नबन्ने अवस्था पनि आउन सक्छ, त्यसकारण संविधानमा केही सर्त र स्पेस छाडेर अगाडि जाउँ भन्नुभयो । पार्टीले सहमति दियो र उहाँले यही कुरा एमाले र माओवादीको शीर्ष तहमा राख्नुभयो । अन्ततः कोइरालाकै प्रस्तावमा सबैले सहमति जनाएपछि संविधानसभाबाट अहिलेको संविधान जारी भएको हो । कोइरालाले संविधान जारी गर्दा भन्नुभयो यो संविधान भनेको सबैको साझा सहमतिको दस्तावेज हो । यो संविधानभित्र एमाले, माओवादी र मधेसवादीदेखि पूर्व राजावादीहरूसम्मका असन्तुष्टिहरू छन् । यसलाई पछि आवश्यकताअनुसार संशोधन गर्दै लान सकिने प्रतिबद्धता पनि जनाउनुभयो । अर्को कुरा कांग्रेस सभापतिमा सुशील कोइराला भएको समयमा अहिलेको जस्तो सहज अवस्था थिएन । संसदीय व्यवस्था मान्ने र नमान्नेहरूलाई वा भनौं दुई धु्रवबाट संविधानसभामा पुगेका दलहरूलाई मिलाएर संविधान जारी गर्नुपर्ने अवस्था थियो । यही मुद्दा लिएर कोइराला दोस्रो संविधानसभाको चुनावमा जानुभयो ।
देशमा संविधान बनाएर लागू गर्नका लागि लोकतान्त्रिक गठबन्धनलाई दुई तिहाइ र कांग्रेसलाई बहुमत भनेर मत माग्नु भएको थियो । उहाँको शालीनता र स्वार्थहीन भावनाले जनताको मन जित्न सक्यो र कांग्रेस पहिलो पार्टी बन्यो । संविधान जारी गर्न कांग्रेसलाई बहुमतमा पु¥याउनै पर्ने, विपरीत ध्रुवका दलहरूलाई मिलाएर संविधान जारी गर्नु र महाभूकम्पजस्ता राष्ट्रिय विपत्तिका कुराहरू पनि समावेश भएका थिए । वर्षौंदेखि संसदीय अभ्यासमा रहेको एमाले र जनयुद्धबाट आएको माओवादीकै बीचमा धेरै असहमतिहरू थिए । राज्यपुनर्संरचनाका लागि विभिन्न आयोग बनाइए पनि विवादरहित हुन सकेन र कोइरालाले यसलाई पनि पार लगाउनुभयो । उहाँले पहिलो पटक आफैंले संविधान संशोधनका लागि प्रस्ताव पनि लानुभयो । त्यो बीचमा जो सुकै सरकारमा भए पनि भारतीय नाकाबन्दीको सामना पनि गर्नु परेकै हो । आज हामी जसरी सुशील कोइरालाको विषयमा सम्झना गरिरहेका छौं । त्यो नेतृत्व भएको भए अहिले पनि नेपाली कांग्रेस पहिलो पार्टी बन्ने थियो । उहाँले जस्तो साझा निर्णयमा त्यसपछि पार्टी जान सकेको छैन । अहिलेका केही नेताहरूको प्रवृत्ति आफूलाई उच्च र अरूलाई निच बनाउन प्रवृत्तिको छ । यो सबैभन्दा घातक विषय हो । यी र यस्ता अनेकौं कारण कांग्रेसभित्र हावी हँुदै गएका छन् जस्ले पार्टीको भविष्य सुखद हैन दुःखद् बनाउँदै लगेको छ ।
(वार्तामा आधारित)
प्रतिक्रिया