वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्साले स्व. गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार यस वर्ष क्रियाशिल पत्रकारलाई नदिई मिडिया मालिकलाई दिएको भन्दै सुरु भएको विरोध चर्किएको छ । पर्साका अधिकांश क्रियाशिल पत्रकारहरुले निर्णय सच्याउन माग गरेका छन् ।
महासंघको पछिल्लो बैठकले २०७३ सालको गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार सर्वराष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक महेशचन्द्र गौतमलाई र २०७४ सालको लागि रेडियो वीरगंजका संचालक ध्रुव साहलाई दिने निर्णय गरेपछि पर्सामा कार्यरत क्रियाशिल पत्रकारहरुले सो निर्णयको विरोध गरेका हुन् ।
पुरस्कार वितरण समितिको संयोजक प्रायः नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुघ्न नेपाललाई नै संयोजत्क बनाएकोमा पनि उनीहरुले आपत्ती समेत जनाएका छन् ।
शुक्रबार पनि देशान्तरसँग कुरा गर्दै पर्साका केही क्रियाशिल पत्रकारहरुले महासंघ पर्साको सो निर्णयको विरोध गरेका हुन् । उनीहरुको भनाई जस्ताको तस्तै:-
अशोक तिवारी, पूर्व अध्यक्ष एवं सल्लाहकार, नेपाल पत्रकार महासंघ पर्सा
गोपाल गिरी कृयाशिल पत्रकारिता पुरस्कार वितरण छनौट प्रकृया नै गलत छ । सधैं एउटै व्यक्तिको नेतृत्वमा चयन कमिटि गठन हुनुको पछाडी पनि षडयन्त्र छ । दिनरात खट्ने पत्रकारहरुलाई पाखा लगाएर मालिकहरुलाई रिझाउन यसपटकको पुरस्कार दिइएको हो । वर्तमान अध्यक्षले चारपाँच महिना अगाडी बाहिर बोल्दै हिडेका व्यक्तिहरु नै छनौट समितिको निर्णयमा पर्नु निश्चय नै स्वच्छाचारी चरित्र हो । म वैधानिक रुपमा यो शाखाको सल्लाहकार भएता पनि मलाइ हालसम्म कुनै मिटिङ्गमा बोलाइएको छैन । पत्रकार महासंघलाई प्राइभेट कम्पनी जस्तै चलाउने काम भइरहेको छ । यसले स्व. गोपाल गिरीको मान प्रतिष्ठालाई आघात पुर्याउने काम गरेको छ । यो निर्णयले एउटा गुट विशेषलाई पनि पोष्ने काम भएको छ । यो निर्णयको म घोर भत्र्सना गर्दछु ।
सन्तोष पटेल, अध्यक्ष, प्रेस मञ्च नेपाल
युवा पत्रकारहरुलाई मन दुखाउने काम यो निर्णयले गरेको छ । कृयाशिलको कुन मापदण्ड बनाएका छन् । त्यो त बाहिर आएको छैन । जो रातदिन फिल्डमा खटिरहेको छ त्यस्तो व्यक्तिलाई दिनु पथ्र्यो । अझ आर्थिक रुपले कमजोर र कृयाशिल पत्रकारलाई समेट्न सकेको भए राम्रो हुने थियो ।
जगत राई, उपाध्यक्ष, जनजाती पत्रकार महासंघ, पर्सा
मालिक पत्रकारहरु कृयाशिलको परिभाषामा पर्दैनन् । अहिले पर्सा जिल्लामा दिनरात खट्ने पत्रकारहरुको कमि छैन । त्यो खटिरहेको जमातलाई वेवास्ता गरी स्वार्थवस आफ्ना निकटका व्यक्तिहरुलाई खुशी पार्न स्व. गोपाल गिरी कृयाशिल पत्रकारिता पुरस्कार दिइने काम भएको छ । हामी कृयाशिल युवा जगत यसको विरोध गर्छौं ।
नरेश सर्राफ, संवाददाता, नेपाल वान टेलिभिजन
हामी सकृय पत्रकारहरु एकजुट नभएकोले नै महासंघको मनोमानी ढंगले आफ्नो काम गरिरहेको छ । जसलाई मनलाग्यो त्यसलाई पुरस्कृत गर्ने काम सुरु भएको छ । रेडियो भित्रकाम गर्ने पनि थुप्रै कृयाशित पत्रकार छन् । तर उनीहरुलाई नदिएर मालिक रिझाउने काम भएको छ । यसले फिल्डमा सकृय भई काम गर्ने पत्रकारहरुको मनोवल घटाएको छ ।
अमित अग्रवाल, कार्य समिति सदस्य, नेपाल पत्रकार महासंघ, पर्सा
नेतृत्वको मनोमानीको कारणले यो सब गलत काम भइरहेको छ । यो पुरस्कार वितरणको निर्णय प्रति मेरो सहमति छैन । अचेलमा मिटिङ्गमा जान पनि उति मन लाग्दैन । प्रेस चौतारी नेपाल निकटका साथीहरुको कब्जामा नेपाल पत्रकार महासंघ पर्सा भएता पनि त्यहि भित्रका पनि थुप्रै कृयाशिल पत्रकारहरु छन् । उनीहरुलाई नै दिएको भए कसैको चित्त दुख्ने थिएन । तर स्व. गोपाल गिरी कृयाशिल पत्रकारिता पुरस्कार गैर कृयाशिल व्यक्तिहरुलाई दिएकोमा आम कृयाशिल पत्रकारहरु दुःखी छन् ।
नेहाल खान, प्रवन्ध निर्देशक, वीरगन्ज सन्देश दैनिक
कोठामा बसेर जसलाई जे मन लाग्यो त्यो गर्न पाइन्न । स्व. गोपाल गिरी जस्तो व्यक्तिको नाम जोडिएको पुरस्कार कसलाई दिईंदैछ ? त्यो कुराको मूल्याँकन हुनुपर्दछ । यो निर्णयले उनको नामको बद्नाम गर्ने काम गरेको छ । फिल्डमा दौडेर काम गर्नेहरुलाई उपेक्षा गर्नु र आशेपासेहरुलाई खुशी पार्न पुरस्कृत नै गर्नुपर्ने परम्परा गलत हो । नेतृत्वको मनोपोलीले घरमा सुतेर बस्नेलाई पुरस्कार दिएर स्व. गोपाल गिरीको नामको खेलवाड गर्न पाइदैन ।
प्रतिक्रिया