काठमाडौं। सरकारले ६८ अौँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठित प्रजातन्त्र दिवस मूल समारोह समितिको बुधबार बसेको बैठकले ६८ औं प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फागुन ६, ७ र ८ गते ३ दिनसम्म देशभर प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । यसै अवसरमा फागुन ७ गते काठमाडौंका टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा विशेष समारोह आयोजना हुनेछ । प्रजातन्त्र दिवसलाई देशभर भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री देउवाले जानकारी दिए ।
उनले प्रजातन्त्र दिवसमा नेपाली जनता उत्साहका साथ सहभागी हुने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री देउवाले निर्वाचन सम्पन्न भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अव राजनीतिक स्थायित्व कायम हुने विश्वास पनि व्यक्त गरे ।
प्रजातन्त्र दिवसलाई भव्यताका साथ सम्पन्न गर्न प्रचार प्रसार उपसमिति, मंच सजावट तथा व्यवस्थापन उपसमिति र ग्राउन्ड, कवाज, व्यायाम व्यवस्थापन समन्वय उपसमिति पनि गठन गरिएको छ । सैनिक मंच टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक समितिहरु गठन गरिएको गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।
विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्यदुताबासहरुमा पनि प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइनेछ ।
गृह मन्त्रालयका अनुसार प्रदेश र स्थानीय तहमा पनि प्रजातन्त्र दिवस मनाउनका लागि विभिन्न समितिहरु गठन गरिएको छ ।
प्रतिक्रिया