काठमाडौं ।
सातवटै प्रदेशमा ऐतिहासिक पहिलो बैठक सम्पन्न भएका छन् । सभामुख निर्वाचनको मिति तय गर्दै पहिलो बैठकबाट प्रदेशसभाले अन्तरिम कार्यविधि पारित गरेका छन् ।आज प्रदेश १ र ४ को बैठक बसेसँगै सात वटै प्रदेशको पहिलो चरणको बैठक सकिएका हुन् ।
प्रदेश २, ५, ६ र ७ को बैठक हिजो बसेको थियो भने ३ नम्बरको गत बिहीबार बसेको थियो । आजको बैठकसँगै सबै प्रदेश संघीयता अभ्यासको बाटोमा औपचारिक रुपमा प्रवेश गरेका छन् । प्रदेश सभाको पहिलो बैठक भएकाले सबै प्रदेश अन्तरिम कार्यविधि पारित गर्दै सभामुखको निर्वाचनको मिति तय गर्न केन्द्रित भएका छन् । यस्तै सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेश सभा बैठक सञ्चालन गर्ने अध्यक्ष मण्डल पनि सात वटै प्रदेशले गठन गरेका छन् ।
प्रदेश ३ मा आगामी शनिबार समाभुख चयनका लागि निर्वाचन हुँदैछ । सबैभन्दा पहिला बैठक डाकेको ३ नम्बरले सभामुख समेत अन्य प्रदेशले भन्दा अगाडि पाउनेछ । प्रदेश नम्बर १, ६ र ७ मा सभामुखको निर्वाचन आगामी सोमबार हुने भएको छ भने प्रदेश २ र ५ ले सभामुखको निर्वाचन फागुन २ गते गर्ने भएका छन् । प्रदेश ४ ले फागुन ३ गते सभामुख चयनको मिति तय गरेको छ । सभामुख चयनपछि उपसभामुख चयन गर्ने संसदीय अभ्यास छ । प्रदेश संसद सञ्चालनका लागि नियमावली तयार नभएकाले सबै प्रदेशले तत्कालका लागि काम अघि बढाउन अन्तरिम कार्यविधि पारित गरेका हुन् ।
यसैबीच सात वटै प्रदेशको पहिलो बैठकमा धारणा राख्ने सबै प्रतिनिधिले विकास निर्माणको एजेन्डालाई प्राथमिकतामा राख्दै अन्य प्रदेश भन्दा अब्बल बनाउनु पर्नेमा जोड दिएका छन् । त्यसका लागि सवै दल सबै एक हुनु पर्ने उनीहरुको भनाई छ । पहिलो बैठकमा उत्साहका साथ उपस्थित भएका प्रदेश सभाका प्रतिनिधिले कृषि, पर्यटन, जनलस्रोत जस्ता पूर्वाधारमा लगानी गरी विकास निर्माणमा अग्रसर हुनुपर्ने बताएका हुन् ।
प्रतिक्रिया