ललितपुर — रेडियो नेपालको खुमलटारस्थित प्रसारण केन्द्रको जग्गा ठेकेदार कम्पनीलाई कौडीको भाउमा भाडामा दिइएको भेटिएको छ । ललितपुर महानगरपालिकाका अधिकारीहरूका अनुसार खुमल्टारको उक्त जग्गाको मूल्य चलनचल्तीमा प्रतिरोपनी ५ करोडभन्दा बढी छ ।
भाडामा प्रतिरोपनी एक लाखभन्दा कम मूल्यमा पाउन नसकिने महानगरका अधिकारीहरू बताउँछन् । आव ०७३/७४ मा घरजग्गा कर प्रयोजनको सरकारी मूल्यांकन पनि उक्त क्षेत्रमा प्रतिरोपनी चक्रपथ बाहिर पर्ने पिच सडकसँग जोडिएको जग्गाको ३२ लाख २५ हजार मूल्य कायम छ । तर, रेडियो प्रसार सेवा विकास समितिले जग्गाको अवस्था र व्यापारिक प्रयोजनसहितलाई ध्यानमा राखेर भन्दै प्रतिरोपनी ३५ हजार न्यून भाडा दर कायम गरी त्योभन्दा माथि रकमका लागि सिलबन्दी बोलपत्रमार्फत प्रतिस्पर्धा गराई भाडामा दिने निर्णयमा गरेको थियो ।
यसै निर्णयलाई टेकेर रेडियो नेपालका कार्यकारी अधिकृत सुरेश कार्कीको पालामा जेठ २९ मा खुमलटार ट्रान्समिसन स्टेसनको सातदोबाटो गोदावरी जाने मूल बाटोको उत्तरपट्टिको ४२ रोपनी जग्गा कुबेर ज्ञान हाउजिङ कम्पनीलाई प्रतिरोपनी प्रतिमहिना ४१ हजार ५१ रूपैयाँमा (बर्सेनि १० प्रतिशतले वृद्धि हुने गरी) ३० वर्षका लागि भाडामा दिएको छ । यसबाट रेडियो प्रसार सेवा विकास समितिलाई वर्षेनी ४२ रोपनी जग्गाबाट मात्रै झन्डै ३ करोड घाटा हुने देखिएको छ । रेडियो नेपालको खुमलटार प्रसारण केन्द्रमा उत्तर र दक्षिणपट्टि एक सय १८ रोपनी गरेर जम्मा एक सय ६० रोपनी जग्गा छ ।
दक्षिणपट्टिको जग्गामध्ये १० रोपनी २०७३ जेठ १ मा इन्फ्राटेक कम्पनीलाई प्रतिमहिना ३५ हजार दरले भाडामा दिइएको छ । दक्षिणपट्टिको १० रोपनी जग्गाबाट मात्रै वर्षेनी ७८ लाख घाटा भएको महानगरका अधिकारीहरू बताउँछन् । ५ रोपनी जग्गा जियो अटोमोबाइल कम्पनीलाई २०७३ जेठ १ देखि प्रतिमहिना ३५ हजारका दरले १० वर्षका लागि भाडामा दिइएको छ ।
त्यस्तै गणपति तथा भेनियर प्लाइउड उद्योगलाई २०७३ पुस २५ देखि लागू हुने गरी २ रोपनी जग्गा प्रतिमहिना ३५ हजारका दरले भाडामा लगाइएको छ । जियो अटोमोबाइल र गणपतिलाई कम मूल्यमा भाडामा लगाउँदा रेडियो प्रसार सेवा विकास समितिललाई वर्षेनी क्रमश: ३९ लाख र १५ लाख ६० हजार घाटा भएको महानगरका अधिकारीहरू बताउँछन् । चारवटा ठेकेदार कम्पनीबाट वर्षेनी ४ करोडभन्दा बढी रेडियो प्रसार सेवा विकास समितिललाई घाटा भएको छ । स्रोतका अनुसार ठेकेदार कम्पनी र रेडियो प्रसार सेवा विकास समितिलको मिलेमतोमा व्यक्तिगत फाइदाको लागि कौडीको भाउमा भाडामा लगाइएको हो ।
ललितपुर महानगरपालिका १५ वडा अध्यक्ष सुदर्शन मिश्रका अनुसार स्थानीय तहको जग्गा भाडामा लगाउन कुनै पनि निकायले महानगरसँग समन्वय गर्नुपर्ने कानुनी व्यवस्था छ । ‘रेडियो नेपालले महानगरपालिकासँग स्वीकृति पनि लिएको छैन,’ उनले भने, ‘यस बारेमा सञ्चार मन्त्रालयमा पत्र पठाउने तयारी गरेको छु ।’ रेडियो नेपालका निर्देशक बुद्धिबहादुर केसीले पहिला २०६८ मा भाडामा दिने भनी भएको निर्णयको अवधिमात्र थप गरिएको बताए । ‘त्यतिबेला न्यूनतम प्रतिरोपनी प्रतिआना जग्गाको मूल्य ११ हजार कायम गरेर टेन्डर आहवान गरिएको थियो,’ उनले भने, ‘अहिले हामीले त्यसलाई बढाएर ३५ हजार पुर्याएका छांै ।’
महानगरका अनुसार भाडामा लिएका कम्पनीले महानगरलाई घरबहाल कर बुझाउनुपर्छ । महानगरले कुपन्डोलदेखि सातदोबाटोसम्मको मूल सडकमा रहेका घरजग्गा व्यावसायिक प्रयोजनका लागि जग्गा भाडामा दिए प्रतिआना १० हजार, चक्रपथ ट्रयाकमा ८ हजार, पुल्चोकदेखि मंगलबजार हुदै ग्वार्कोसम्म, पाटन अस्पतालदेखि महालक्ष्मी हुँदै रिङरोड, सातदोबाटोदेखि धापाखेलसम्म र अन्य सहायक सडकमा ७ हजार, कच्ची सडकमा २ हजार र गोरेटो बाटोमा १ हजारसम्म करको दर कायम गरेको छ ।
बहालमा दिएका घर, पसल, ग्यारेज, टहरा, सेड (छप्पर), कारखाना, जग्गा आदिबाट २ प्रतिशत कर असुलउपर गर्ने कानुनी व्यवस्था छ । तर कुनै पनि ठेकेदार कम्पनीले महानगरलाई कर तिरेका छैनन् । महानगरका अधिकारीहरूका अनुसार कुबेर ज्ञान हाउजिङ कम्पनीले प्रतिरोपनी प्रतिमहिना चार लाख ८३ हजार, इन्फ्राटेकले एक लाख १५ हजार, जियो अटोमोबाइलले ५७ हजार, गणपतिले २३ हजार बुझाउनुपर्छ ।
ठेकेदार कम्पनीले घर बहाल करबाट मात्र प्रतिमहिना ६ लाखभन्दा बढी कर छली भइरहेको छ । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा भाडामा दिने विषयमा अनियमितता भएको भन्दै अनुसन्धान गरिरहेको छ । बाँकी रहेको १ सय १ रोपनीमध्ये १० रोपनीमा स्टेसन, घर, क्वार्टर राखिएको छ ।कान्तिपुर
प्रतिक्रिया