देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निरक्षरता उन्मूलन अभियानमा सक्रिय बनौँ : शिक्षामन्त्री

देशान्तर

काठमाडाैं । उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले निरक्षरता उन्मूलन र विद्यालय सफाइमा रोटरीयनले योगदान पुर्‍याउन सक्ने बताएका छन् । रोटरी अन्तर्राष्ट्रिय नेपाल भुटान डिस्ट्रिक (च्याप्टर) को शनिबार विराटगरमा सम्पन्न दुई दिने सम्मेलनको समापन कार्यक्रममा श्रेष्ठले रोटरियनको भूमिकाको प्रशंसा गरेका हुन् ।

पोलियो उन्मूलन अभियानमा नेपालमा रोटरी क्लबले खेलेको भूमिका स्मरण गर्दै मन्त्री श्रेष्ठले गुणस्तरीय शिक्षा र विद्यालय सफाइमा रोटरीयनलाई आग्रह गरे । उनले भने ‘तपाईंहरूसँग सहकार्य गर्न नेपाल सरकार तयार छ । पोलियो उन्मूलन अभियनमा जस्तै यस अभियानमा पनि सक्रिय भएर योगदान गर्नुहोस् ।’ रोटरियनले थालेको गुणस्तरीय साक्षरता र विद्यालय सफाइ कार्यक्रम नेपालको संविधानले प्रदान गरेको सबैको अधिकारमा आधारित भएको उनले बताए ।

विराटनगर महानगपालिका मेयर भीम पराजुलीले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार नगरेसम्म शिक्षामा आमुल परिवर्तन हुन नसक्ने बताए । महानगरले चारवटा विद्यालयलाई नमुना बनाउन पहल सुरु गरेको उनले जानकारी दिए । उनले महानगरमा गुणस्तरीय साक्षरता र विद्यालय सफाइमा रोटहरीसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

रोटरियनहरूको प्रतिबद्धता
रोटरीयनले गुणस्तरीय शिक्षा र विद्यालय सरसफाइकामा प्रतिबद्ध भएर निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन् । रोटरी अन्तर्राष्ट्रिय नेपाल भुटान डिस्ट्रिक (च्याप्टर) को शनिबार विराटगरमा सम्पन्न दुई दिने दोस्रो राष्ट्रिय साक्षरता र विद्यालय सफाइ सम्मेलनमा सहभागी रोटरियनले निरन्तर सेवामा लागिरहने प्रतिबद्धता जनाएका हुन् ।

रोटरी क्लब भारत च्याप्टरका शेखर मेहताले रोटहरियनको अभियानले भारतमा साक्षरतामा आमुल परिवर्तन ल्याउन सफल भएको तर्क गरे । उनले भने, ‘चुपचाप बसेर होइन, सक्रिय भएर अभियानमा लाग्नुपर्छ ।’

सम्मेलनमा सहभागी पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. घनश्यामलाल दासले पूर्ण साक्षर र विद्यालयमा सफाइमा सुधार नआएसम्म देशको विकास हुन नसक्ने बताए । ‘उद्योगी व्यापारी र कुलिन घरानियाँसमेत सहभागी भएको रोटरी क्लब सक्रिय हुनु प्रशंसनीय छ,’ उनले भने।

युनिसेफका नेपाल प्रतिनिधि टोमु होचुमीले नेपालमा अझै पनि पूर्ण साक्षरता हुन नसकेको र विद्यालयमा अझै शौचालयको निर्माण र प्रयोग नभएकाले टिच कार्यक्रम सञ्चालन थालिएको बताए । रोटरी क्लब नेपाल भुटान च्याप्टरअन्तर्गतको लिटरेसी एन्ड वास स्कुल अभियानका संयोजक तीर्थमान शाक्यले सक्रिय भएमा रोटरीले साक्षरता र विद्यालय सफाइ अभियानमा आमुल परिवर्तन गराउन सक्ने भएकाले अभियानमा सहभागी हुन आग्रह गरे । अभियानका सहसंयोजक बासुदेव गोल्यानले उद्योगी व्यपारीले सामाजिक उत्तरदायित्वलाई ख्याल गरेर साक्षरता र विद्यालय सफाइ अभियानमा सहयोग गर्न सकिने बताए ।

११४ क्लबमार्फत ‘टिच’ कार्यक्रम
रोटरी डिस्ट्रिक ३२९३ अन्तर्गतको रोटरी नेपाल लिटरेसी मिसनले नेपालमा साक्षरता प्रतिशत वृद्धिका लागि नेपालमा रहेका ११४ वटा क्लबमार्फत ५ सय विद्यालयमा ‘टिच’ कार्यकक्रम सञ्चालन गरेर साक्षरता अभियान गरिरहेको छ । जसअन्तर्गत सामुदायिक विद्यालयको पढाइमा सुधार ल्याउन शिक्षकलाई तालिम दिने, कम्प्युटर प्रदान गर्ने, शौचालनय निर्माण गर्ने र विद्यालयलाई रमणीय बनाउनेलगायत काम भइरहेका छन् । हालसम्म देशभरका पाँच सय शिक्षकलाई तालिम, पाँच सय विद्यालयमा कम्प्युटर प्रदान, एक हजार पौढलाई साक्षर, तीन हजार बालबालिकालाई विद्यालय भर्ना र भूकम्पबाट क्षति पुगेका १० विद्यालयको पुनर्निर्माणको काम सम्पन्न भएको रोटरी अभियानले जनाएको छ ।नयाँपत्रिका