लिवियाली सामुद्रिक क्षेत्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा कम्तिमा ९० जना आप्रवासी शरणार्थीको मृत्यु भएको आशङ्का गरिएको संयुक्त राष्ट्रसंघ आप्रवासी मामिला हेर्ने निकायले जनाएको छ ।
“आज बिहान भूमध्यसागरको लिवियाली क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तिमा ९० जना समुद्रमा डुबेका प्रत्यक्षदर्शीले बताएका छन्,” अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)को एक विज्ञप्तिमा जनाइएको छ ।
दुई लिवियाली तथा आठ जना पाकिस्तानी नागरिक दुर्घटनास्थलबाट केही पर लिवियाली सामुद्रिक तटमा मृत अवस्थामा भेटिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुर्घटनामा परेका दुई यात्रुले पौडेर जीवन जोगाउन सफल भएको छन् भने अर्को एक जनालाई माझीले उद्धार गरेका आइओएमले जनाएको छ ।
आइओएमले उक्त बाटो यात्राका लागि सुरक्षित नभएको पटक पटक चेतावनी दिँदै आएपनि मध्य भूमध्यसागरीय बाटो नाम दिइएको यस क्षेत्रहुँदै यूरोप जाने आप्रबासीको सङ्ख्यामा कमी आउन सकेको छैन । यो लिबियालाई इटालीसँग जोड्ने आप्रबासीले प्रयोग गर्ने अति खतरनाक बाटोका रूपमा लिने गरिन्छ ।
सन् २०१८ को शुरुदेखि शुक्रबारको दुर्घटना पहिले नै यस क्षेत्रमा २१८ जना आप्रबासी शरणार्थीको मृत्यु भएको आइओएमले जनाएको छ ।
त्यसैगरी टर्की र ग्रीस जोड्ने पूर्वी बाटो भएर यूरोप पुग्ने शरणार्थी सङ्ख्या एक हजार ८९ जना रहेको र सन् २०१८ मा कसैको मृत्यु भएको खबर नभएको आइओएमले दिएको छ ।
पश्चिमी बाटो उत्तर अफ्रिका हुँदै स्पेन जाने क्रममा २८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघ आप्रवासी मामिला हेर्ने उक्त अन्तर्राष्ट्रिय निकायले जनाएको छ ।
प्रतिक्रिया