काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रियसभाको उम्मेदवार चयनको विषयलाई लिएर पार्टी नेतृत्वसँग असन्तुष्ट बनेका छन् । पार्टी नेतृत्वले राष्ट्रियसभाका उम्मेदवार चयन गर्दा आफूलाई भित्तैमा पु¥याउने गरी पेलेको महसुस श्रेष्ठले गरेका छन् । श्रेष्ठ राष्ट्रियसभाको गरिमा उँचो राख्न भन्दै आफू निकट डा. महेश मास्के, विश्वभक्त दुलाल ‘आहुति’ विश्वनाथ साह, रणेन्द्र बराइलीलाई उम्मेदवार बनाउन चाहन्थे तर पार्टी अध्यक्ष पुष्पकमल दाहालले नेता वर्षमान पुनको सल्लाहमा उनको प्रस्ताव अस्वीकार गरिदिए । त्यसपछि श्रेष्ठले गर्न के सक्थे र ? असन्तुष्ट बनेका उनले आफ्नो भडास सामाजिक सञ्जालमा पोख्न भ्याए । समाजिक सञ्जालमा उनले मुलुकको राजनीति धन्दावालको हात पुगेको टिप्पणी गरेका छन् । उच्च स्रोतका अनुसार उनले वर्षामान पुनप्रति इंकित गर्दै धन्दावाल भनेका हुन् ।
कुनै बेला काजीको निकट रहेका विश्वभक्त दुलाललाई पार्टीबाट बाहिर पठाउनका लागि वर्षमान पुनले विशेष भूमिका खेलेकोमा उनी असन्तुष्ट बनेको बताइएको छ । हुन त पछिल्लो समयमा आहुति काजीको भन्दा प्रचण्डको निकट थिए । प्रचण्डको निकट रहेर वैचारिक विषयमा काम गरिरहेका थिए । प्रचण्डको निकट रहेर संगठनको जिम्मेवारी भनेको वर्षमान पुनले हेरिरहेका थिए । प्रचण्डको निकट रहेर काम गरिरहेका दुवै नेतामध्ये आहुतिलाई पाखा पार्नका लागि वर्षमानले विशेष भूमिका खेलेको निष्कर्षपछि दुलालले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
हुन त नारायणकाजी र वर्षमानको द्वन्द्व प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार चयनका बेला देखिबाट नै सुरु भएको थियो । प्रदेशसभाको चुनावको उम्मेदवार चयन गर्ने बेलामा काजीले ललितपुरमा वर्षमान पुनकी बहिनी सुशीला पुनलाई उम्मेदवार बनाएको स्थानमा आहुतिकी श्रीमती बुद्धलक्ष्मीलाई उम्मेदवार बनाउनुपर्ने माग गरेका थिए । बुद्धलक्ष्मी ललितपुरकी स्थानीय भएकाले उनले प्रत्यक्षतर्फ प्रदेशसभामा उम्मेदवार बन्ने इच्छा व्यक्त गरेकी थिइन् । तर वर्षमानले जबर्जस्ती आफ्नी बहिनी सुशीलालाई उम्मेदवार बनाएपछि काजी असन्तुष्ट बनेका थिए । स्थानीय मान्छे हुँदाहुँदै वर्षमानको जबर्जस्तीले रोल्पाको मान्छेलाई ललितपुरबाट उम्मेदवार बनाइएको भन्दै असन्तुष्ट भएका थिए । सुशीला वर्षमान अर्थमन्त्री भएको बेलामा अर्थ मन्त्रालयमा करारमा सरकारी जागिरे थिइन् । उनलाई जागिरबाट राजीनामा दिन लाएर उम्मेदवार बनाइएको थियो ।
अहिले राष्ट्रियसभामा पनि आहुतिलाई समेट्न नसकेपछि बुद्धलक्ष्मीलाई प्रदेश नम्बर ३ को महिला कोटामा उम्मेदवार बनाउनुपर्ने काजीको माग रहेको थियो । तर ललितपुर इन्चार्ज हरि दाहालकी श्रीमती गंगा पराजुलीलाई उम्मेदवार बनाएपछि काजी असन्तुष्ट भएको बताइएको छ । अर्को भनेको नेता रामबहादुर थापा बादलले नारायणकाजीलाई प्रदेश नम्बर चारबाट उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए । तर काजीलाई प्रचण्डले प्रस्ताव नगरेका कारण उनले इच्छा देखाएनन् । काजीलाई प्रस्ताव नगरी प्रदेश नम्बर चारबाट दीनानाथ शर्मालाई उम्मेदवार बनाइयो ।
माओवादी उच्च स्रोतका अनुसार अब काजी मन्त्रिपरिषद्बाट मनोनीत हुने तीन जनाको कोटाबाट आफू राष्ट्रियसभामा जाने इच्छा देखाएका छन् । प्रचण्डले यसका लागि पहल नगरेमा पार्टीमा विद्रोह गर्ने तयारीसमेत गरेको बताइन्छ । आफूलाई वर्षमानहरू लगाएर पार्टीमा प्रचण्डले सधैं पेलेको काजीको बुझाइ रहेको छ । नारायणकाजी निकट उच्च स्रोतका अनुसार उनी राष्ट्रियसभाले पूर्णता पाउने समयसम्म मौन बस्ने र त्योभन्दा पछि आफ्नो कदम चाल्ने रणनीतिमा छन् । जसको तयारीको एउटा संकेत आहुतिले पार्टीबाट विद्रोह गरेकै दिन उनले सामाजिक सञ्जालमा धन्दावालको कब्जामा राजनीति भनेर सांकेतिक जनाउ दिएका थिए ।
प्रतिक्रिया