भक्तपुर– काठमाडौं र भक्तपुरको सिमाना रहेको जडीबुटीदेखि भक्तपुरको जगाती जाने वैकल्पिक सडकका रुपमा रहेको पेप्सीकोला, सानोठिमी, बाहाखा बजार, मध्यपुरथिमि हुँदै भक्तपुर जोड्ने खस्याङखुसुङ पुलसम्मको सडक विस्तार गर्ने कार्य सुरु भएको छ।
करिब छ किमी लामो उक्त सडकमा दोहोरो यातायात सञ्चालनमा समस्या आएको र सडक जाम हुन थालेपछि विस्तार कार्य अगाडि बढाएको हो। डिभिजन सडक कार्यालयको कूल रु ५४ करोडको लागतमा विस्तार सुरु भएको उक्त सडक फुटपाथसहित २० मिटरको चौडाइ बनाइने मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।
सडक विस्तारको प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शिलान्यास गरेका हुन्। बस्नेतले भक्तपुरको वैकल्पिक मार्गका रुपमा रहेको यो सडक विस्तारले थिमिको विकासमा ठूलो टेवा पुर्याउने बताए।
सडक विस्तार परियोजनाअन्तर्गत विस्तार सुरु भएको सडकमा परेका पुराना घर भने नभत्काइने भएको छ। बाहाखा बजारमा वर्षौंदेखि रहेका पुराना घर तत्काल नभत्काउने र घर भत्काउनु पर्ने अवस्थामा भने सरकारसँग उचित क्षतिपूर्ति माग गरिने नगर प्रमुख श्रेष्ठले जानकारी दिए।
चार वर्ष रोकिएको बालकोट र सूर्यविनायक विस्तार सुरु
त्यसैगरी स्थानीयवासीको विरोध र विवादका बीच विगत चार वर्षदेखि रोकिएको सूर्यविनायक नगरपालिका वडा नं २ र ३ मा पर्ने बालकोट चोकदेखि मध्यपुरथिमिको चारदोबाटो जाने सडक विस्तार पनि सुरु भएको छ। बालकोट चोकदेखि एमाले अध्यक्ष केपी ओली निवास, रोज भिलेज हुँदै मध्यपुरथिमि चारदोबाटो जोड्ने सडक विस्तार सुरु भएको हो।
एघार मिटर चौडाइ गर्न बजेट विनियोजन भए पनि स्थानीयवासीले विरोध गरेपछि हाल सहमतिमै सात मिटर चौडाइ बनाउने र स्थानीयवासीको घर भने तत्काललाई नभत्काउने सहमति भएपछि सडक विस्तार सुरु भएको डिभिजन सडक कार्यालय भक्तपुरले जानकारी दिएको छ।
सडक विस्तारका क्रममा खाली जग्गा लिने र पर्खाल भत्काउने कार्य शुरु भएको भक्तपुर क्षेत्र नं २ प्रदेश सांसद शशिजंग थापाले जानकारी दिए।
त्यसैगरी यता सूर्यविनायक नगरपालिकास्थित सूर्यविनायक चोकदेखि गणेश मन्दिरसम्म जाने सडक पनि फराकिलो पार्ने कार्य सुरु भएको छ। सूर्यविनायक नगरपालिका –७ सिपाडोलको उक्त सडक फराकिलो पार्दै सडक पेटी हडपेर राखिएका पसल एवं टहरा भत्काउने कार्य थालिएको हो।
प्रतिक्रिया