देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेता खाँणले भने– काँग्रेस ठूलो पार्टी बन्ने गृहकार्यमा लागेको छ

देशान्तर

चितवन । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस अब बन्ने सरकारमा प्रतिपक्षमा बस्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस सरकारमा जाने कुनै योजना नरहेको बताएका हुन् ।

उनले पार्टीको सरकारमा जाने योजना नभएको बताए । नेता खाँणले सरकारले ल्याएका नीति तथा कार्यक्रममा आधारित भएर रचनात्मक सहयोग गर्ने बताए । उनले काँग्रेसको सिटको संख्या घटेकाले सरकार निर्माणका लागि जनादेश नभएको पनि बताए ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल गरेर निर्वाचनमा गएको भन्दै उनले उनीहरुकै बहुमत भएकाले कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषय उनीहरुकै विषय भएको पनि स्पष्ट पारे । आउँदो निर्वाचनसम्ममा काँग्रेसलाई पहिलो पार्टी बनाउने भन्दै उनले त्यसैका लागि काँग्रेस गृहकार्यमा लाग्ने बताए । पार्टी्भित्रका गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने पनि उनले दाबी गरे ।

अर्को एक प्रश्नमा उनले नेतृत्व परिवर्तनले पार्टीमा किचलो बढ्न सक्ने भन्दै पार्टीको ढाँचा परिवर्तन गरी प्रादेशिक संगठन बनाउनु पर्ने बताए । सरकारले जनताका अपेक्षाअनुसारका निर्णय गरेको भन्दै अब बन्ने सरकारले यसलाई के गर्छ भन्ने विषय उसैको सरोकारको विषय भएको नेता खाँणले बताए ।