काठमाडौं । भारतको युवा टोली न्युूजिल्याण्डमा जारी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतको भेट पाकिस्तानसँग हुनेछ ।
पाकिस्तान दक्षिण अफ्रिकालाई हराउँदै सेमिफाइनलमा पुगीसकेको छ । महादेशीय प्रतिस्पर्धी बंगलादेश विरुद्ध १ सय ३१ रनको जित आत्मसाथ गर्दै तीन पटकको विश्व विजेता तथा गएको संस्करणको उप–विजेता भारत सेमिफाइनलमा पुगेको हो ।
क्वीन्सटाउनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले इनिङको ४ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै २ सय ६५ रन बनाएको थियो । भारतका लागि शुभम गिलले सर्वाधिक ८६ रनको योगदान गरे । ९४ बलमा गिलले ९ चौका प्रहार गरे ।
भारतका अभिशेक शर्माले अर्धशतक पूरा गर्दा कप्तान पृथ्वी शले ४० र एचएम देसाईले ३४ रन बनाए । बलिङतर्फ बंगलादेशका क्वाजी ओनीकले ३ तथा नयीम हसन र सइफ हसनले २–२ विकेट लिए ।
२ सय ६६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२।१ ओभरमा १ सय ३४ रनमै समेटिएपछि भारतको १ सय ३१ रनको जित निश्चित भयो । बंगलादेशलाई सस्तैमा समेट्न भारतका कमल नगरकोटीले ३ तथा अभिशेक शर्मा र शिभम मावीले २–२ विकेट लिए ।
बंगलादेशका ओपनर पिनाक घोषले ४३ रन बनाए पनि भारतीय बलरको धारिलो बलिङसामू अन्य ब्याट्सम्यान टिकेर खेल्न सकेनन् ।
प्रतिक्रिया