देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोत्कृष्ट विद्यार्थीहरुलाई नेविसंघद्वारा सम्मान

देशान्तर

काठमाडौं । नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय समन्वय समितिले विभिन्न संकायमा सर्वोत्कृष्ट अंक हासिल गरेका पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको छ । समितिले मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पोखरा विश्वविद्यालयबाट सम्बधन प्राप्त काठमाडौं उपत्यकाका क्याम्पसहरुमा विविध संकायमा अध्ययनरत विद्यार्थीहरु मध्येबाट ‘फल समेष्टेर’मा सर्वोत्कृष्ट अंक हासिल गरेका ४ सय ११ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

समितिका अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य नवराज त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा, प्रदीप पौडेल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनिया, शिक्षा विद् प्रा.डा. विद्यानाथ कोइराला, पोखरा विश्वविद्यालयका डिन हरि खड्का, नेविसंघका महामन्त्री कुन्दन काफ्ले लगायतले उत्कृष्ट विद्यार्थीहरुलाई कदरपत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले विद्यार्थीहरुले विश्वविद्यालयबाट डिग्री हासिल गरिसकेपछि आ–आफ्नो क्षेत्रमा स्वावलम्बी बन्न सक्नुपर्ने बताए । उनले विद्यार्थीहरुले समाजलाई हेर्ने दृष्टिकोण रचनात्मक हुनुपर्ने बताउँदै विश्वविद्यालयलाई राजनीतिकरणबाट मुक्त गर्नुपर्ने धारणा राखे ।

यसैगरी कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सक्षम युवाहरु राजनीतिबाट टाढा रहे असक्षमहरुको शासक बेहोर्नुपर्ने बताए । उनले शैक्षिक क्षेत्रका टपरहरुलाई पनि राजनीतिमा आउन आह्वान गरे ।

त्रिविका उपकुलपति डा. खनियाले यस्ता खाले सम्मान कार्यक्रमले विद्यार्थीहरुको मनोबल बढाउने उल्लेख गर्दै विश्वविद्यालयलाई अगाडि बढाउन राज्यले थप सहयोग गर्नुपर्ने बताए । शिक्षाविद् कोइरालाले विद्यार्थीहरुले आफूले गरेको अध्ययनलाई जीवनपद्धतिसँग जोड्न सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघ महामन्त्री काफ्लेले शैक्षिक संस्थालाई राजनीतिकरणबाट मुक्त गराउन अब नेविसंघ अघि बढ्ने उद्घोष गरे । कार्यक्रमका सभापति त्रिपाठीले अबको विद्यार्थी राजनीति शैक्षिक मुद्दामा केन्द्रित हुने बताए ।

कार्यक्रममा इन्जिनियरिङ्गतर्फबाट १ सय २५, स्वास्थ्य विज्ञानबाट ४७ र व्यवस्थापन संकायबाट २ सय ३९ जना गरी कुल ४ सय ११ जना सर्वोत्कृष्ट अंक हासिल गरेका विद्यार्थीहलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण नेविसंघ नेता सुमधुर बरालले गरेका थिए ।