गायिका शर्मिला गुरुङले औपचारिक रूपमा रेकर्डिङ स्टुडियोमा गएर गीत गाउन थालेको १७ वर्ष भइसक्यो । कौडा, सालैजो, ठाडो भाका, विभिन्न चाडपर्वका गीतलगायत गरी २५ सय लोक तथा दोहोरी गीतमा उनको स्वर सुन्न पाइन्छ । गज्जबका कृष्ण कट्टेलले उनीसँग सांगीतिक जीवनको आरोह–अवरोहबारे कुरा गरेका छन् :
धेरै गीत गाउनुभयो, कुनै रेकर्ड राख्नुभएको छ ?
अहिलेसम्म मैले २ हजारदेखि २५ सयजति गीत रेकर्ड गरेँ होला । कौडा, ठाडोभाका, सालैजो, लोकदोहोरी, एकल लोकगीत तथा विभिन्न चाडपर्वका गीत गरेर यति गीत पुगे होलान् भन्ने मेरो अनुमान हो ।
संगीत क्षेत्रमा प्रवेश कसरी गर्नुभयो र पहिलो रेकर्डेड गीत कुन हो ?
मेरो जन्मघर स्याङ्जा हो । बाल्यकालदेखि नै गायन क्षेत्रमा रुचि थियो । यद्यपि गाउँघरमा रहँदा त्यतिधेरै गीत गाइएन । सांगीतिक यात्राकै क्रममा स्याङ्जाबाट पोखरा हुँदै काठमाडौं प्रवेश गरेँ । ०५६ तिर पुरुषोत्तम न्यौपाने दाइलगायतसँग म्युजिक नेपालमा ‘नीलो पछ्यौरी’ नामक गीत गाएँ । रेकर्डको हिसाबमा यही नै पहिलो हो ।
शर्मिला गुरुङ भनेर सबैले चिन्नुअघि र चर्चित बनिसकेपछि गाउनुमा फरक के हुँदोरहेछ ?
फरक निकै पाएँ । किनकि गीत गाएर धेरैले चिन्नुअघि सबैले चिनुन् र सांगीतिक क्षेत्रमा मेरो पनि नाम होस् भनेर संघर्ष गरिँदोरहेछ । जब संगीतकर्मी तथा स्रोताले चिन्दै जानुहुन्छ, तब उस्तै चर्चा र सफलतामा रहिरहन संघर्ष गर्नुपर्दोरहेछ । सुरुमा चर्चा कमाउन गाइँदोरहेछ । चर्चा कमाइसकेपछि आफूले गाएको गीत धेरैले मन पराइदिउन् र केही सन्देशमूलक, कालजयी गीत गाउन पाइयोस् भन्ने हुँदोरहेछ ।
गीत गाएर पहिलोपटक कति पारिश्रमिक लिनुभएको थियो ?
म सांगीतिक क्षेत्रमा प्रवेश गर्दैगर्दादेखि गायकगायिकालाई पैसा दिने चलन सुरु भइसकेको थियो । मैले सुरुमा एउटा गीत गाएबापत तीन हजार रुपैयाँ पारिश्रमिक लिएकी थिएँ ।
कस्तो गीत गाउँदा बढी आनन्द आउँछ ?
मलाई ‘सेन्टिमेन्ट’ गीत गाउँदा बढी आनन्द आउँछ । गाउन त मैले ‘रोमान्टिक’ गीत पनि धेरै गाएकी छु । तर, गीतमार्फत कसैको भावना छुनु र भावनात्मक बनाउन सक्नुमा बढी आनन्द आउँछ ।
नयाँ गीत–संगीत र कलाकार कस्तो पाउनुहुन्छ ?
पहिलेभन्दा आजभोलि धेरै परिवर्तन भएको छ । विकास भएको छ । नयाँ कलाकार यस क्षेत्रमा आकर्षित हुनुहुन्छ । शब्द लेख्नेदेखि संगीत गर्ने तथा गाउनेहरूको प्रतिस्पर्धा राम्रो छ । अर्कोतर्फ प्रविधिले समेत भरपूर साथ दिएको छ । मैले संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै गर्दा सुरुसुरुमा ‘लाइभ’ गाउनुपर्ने अवस्था थियो । अहिलेको जस्तो आधुनिक प्रविधिको विकास र सोहीअनुसारका प्राविधिक ज्ञानको अभाव थियो । तर, कलाकारितामा लाग्ने नयाँ पुस्तालाई केही सहज छ । यद्यपि चर्चा कमाउन उत्कृष्ट सिर्जना अनिवार्य छ । यो आवश्यक पक्ष हो ।
संगीत क्षेत्रमा धेरै समय बिताउनुभयो, फर्केर हेर्दा कतै असन्तुष्टि भेट्टाउनुहुन्छ ?
मेरो बाल्यकालदेखिको लक्ष्य भनेकै गीत गाउनु थियो । गायन क्षेत्रबाट केही गरौँ भन्ने जुन सोच थियो, त्यो सोच यहाँसम्म आइपुग्छु भन्ने थिएन । अहिले म जुन स्थानमा छु, धेरै स्रोता, दर्शक तथा संगीतकर्मीलगायत कलाकारकै माया पाएकी छु । यो नै मेरो सबैभन्दा ठूलो सफलता हो । म असन्तुष्ट हुनुपर्ने कुनै क्षण पाउँदिनँ । यस क्षेत्रमा लागेकोमा मलाई गर्व छ । आगामी दिनमा मैले सकुन्जेल गीत गाइरहन्छु । मैले गुमाएको केही पनि छैन ।
सांगीतिक क्षेत्रमा अघि बढिरहँदाको कुनै एक अविस्मरणीय क्षण ?
सांगीतिक क्षेत्रभन्दा पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण छ । ०५५ तिर भाइ बिरामी भएपछि पाल्पामा उपचारका लागि लगियो । उपचार गरेर घर फर्किंदै गर्दा गाडी दुर्घटनामा प¥यौँ । त्यसवेला म झन्डै डेढ महिनाजति हस्पिटल बसेकी छु । त्यो दुर्घटनाको क्षण नै दुःखद तथा अविस्मरणीय लाग्छ ।
तपाईं अविवाहित हुनुहुन्छ, फुर्सदमा व्यक्तिगत जीवनबारे के सोच्नुहुन्छ ?
म अहिलेसम्म सांगीतिक क्षेत्रमै व्यस्त छु र आगामी दिनमा पनि व्यस्त भइरहन चाहन्छु । मलाई विवाह गर्नु नै सबै कुरा हो जस्तो लाग्दैन । विवाह गर्न पाए हुन्थ्यो अथवा जीवनमा यस्तो गर्न पाए हुन्थ्यो भन्ने मलाई सोच आएन । त्यही भएर होला अहिलेसम्म अविवाहित छु । जे छु ठीक छु भन्ने लाग्छ ।
शर्मिला गुरुङ, लोक तथा दोहोरी गायिका नयाँ पत्रिका
प्रतिक्रिया