देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीको उपचारमा करोडौंको भार

देशान्तर

नेपालका कुनाकन्दरामा जरो आउँदा खाने सिटामोलको चक्की नपाएर ज्यान गुमाएको समाचार बर्सेनि सुनिँदै आएको छ । पश्चिम नेपालको जाजरकोटलगायतका इलाकामा फैलिएको भाइरलमा राज्यले समयमै स्वास्थ्यकर्मी र औषधि पठाउन नसक्दा कैयौंले अकालमै ज्यान गुमाएका समाचारहरूले अझै पनि अखबारका पानाहरू भरिएका छन् । बजेटका अभावमा हिले बाटोलाई ग्राभेलले पुर्न सकिएको छैन । पेट पाल्ने जोहो गर्न नेपालका हजारौं युवाहरू ५० डिग्री सेल्सियसको तापक्रममा नंग्रा खियाइरहेका छन् । तर यही देशले एउटा नागरिक उपचारमा करोडौं खर्च गर्न सक्छ भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्ला । तर यो यथार्थ हो । एउटै नागरिकको उपचारका लागि नेपालको ढुकुटीबाट करिब २० करोड रुपैयाँ खर्च भइसकेको छ । र, त्यस्तो सुविधा पाउने भाग्यमानी नागरिक हुन् केपी शर्मा ओली ।

हुन त केपी शर्मा ओली कुनै अमूक पार्टीका अध्यक्ष हुन् । त्यतिमात्र होइन उनी पटकपटक मन्त्री र एकपटकको मुलुकको प्रधानमन्त्री पनि भइसकेका व्यक्ति हुन् । तर, लोकतन्त्रमा पद प्राप्त गर्दैमा राज्यको सुविधा बढी उपभोग गर्ने छुट कसैलाई हुँदैन । लोकतान्त्रिक राज्य प्रणाली छ भन्ने मान्ने हो भने ओली र जाजरकोटमा बस्ने गरिब बिर्खबहादुर रोकायाको बीचमा राज्यले कुनै भेदभाव गर्न मिल्दैन । जुन निर्णयबाट राज्यले ओलीलाई उपचार खर्च दिन सक्छ त्यस्तै निर्णयबाट बिर्खबहादुरलाई पनि दिन सक्छ । तर, बिर्खबहादुरले भाइरल जरो आउँदा सिटामोलको चक्कीसमेत पाउँदैनन्, ओलीले भने गाथ बिगँ्रदा राज्यको खर्चमा सिंगापुर र बैंककका महँगा अस्पतालहरूमा उपचार गराउँदै आएका छन् ।

सन् २००८ मा दुवै मिर्गौलाले काम गर्न छोडेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको भारतको नयाँदिल्ली स्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोणपछि उनले नियमित रूपमा विदेशमै उपचार गराउँदै आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार राज्यकोषबाट वार्षिक ओलीको उपचारमा ५० लाखभन्दा बढी खर्च दिने गरिएको छ । उनको उपचारका लागि सरकारले रकम उपलब्ध गराउँदै आएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका अनुसार ओलीले २०५९ माघ २७ गते १३ लाख ५८ हजार ५ सय र २०६४ असार १५ गते २० लाख २५ हजार रकम लिएका थिए । यसैगरी उपचारका लागि ओलीले २०६४ साउन ६ गते २७ लाख १२ हजार १ सय रकम लिए । ओलीले २०६८ भदौ १३ गते ३५ लाख ६३ हजार उपचार खर्च लिएको भेटिन्छ ।

राष्ट्रिय पार्टीको मुख्य नेतालाई राज्यले उपचार खर्च दिने व्यवस्था भए पनि एमाले अध्यक्ष ओली सबैभन्दा महँगा नेतामा परेका छन् । उनको उपचार खर्च बर्सेनि बढ्दै गएको छ । उपचारमा जानुपूर्व विभिन्न महँगा औषधिहरूको सेवन गर्नुपर्ने भएकाले ओलीको उपचार खर्च पनि बढ्दै गएको हो । उनले २०७१ साल कात्तिक १७ गते एक मुष्ठ ९ करोड २२ लाख १३ हजार रकम लिएका छन् । ओलीले २०७१ सालको चैत्र ५ गते ३६ लाख ६३ हजार रकम सरकारी कोषबाट लिएका छन् । उनले २०७२ कात्तिक ९ गते २० लाख १२ हजार ३ सय र २०७२ सालकै फागुन ३ गते एकमुष्ठ ४ करोड ९८ लाख १३ हजार रकम उपचार खर्चबापत लिएका छन् । उनले लिएको रकम मध्ये १७ करोड ६६ लाखको मात्र तथ्यांक पाइएको छ । गएको दुई वर्षमा उनले दुई करोडभन्दा बढी लिएको हुन सक्ने कार्यालयका अधिकारीहरू नै बताउँछन् ।