खिला कार्की
चुनावमा पराजयपछि नेपाली कांग्रेसको सुधारका लागि बहस र बैठकहरू असंख्य भए । कोठे बैठकदेखि गुटका छलफल भए । त्यतिमात्र होइन, चुनावको समीक्षा गर्न र कांग्रेसमा सुधार गर्नका लागि वैधानिक थलो केन्द्रीय समितिको बैठक पनि भयो । बैठकमा बहस पनि भयो । तर आम कांग्रेसजनले खोजेको कांग्रेस बन्ने निर्णय केन्द्रीय समितिले गर्न सकेन । केन्द्रीय समितिको बैठकमा के भएन, निर्वाचनको समीक्षा भयो, पार्टी नेतृत्वको आलोचना भयो, राष्ट्रियसभाको निर्वाचनका बारेमा चर्चा भयो, तर केन्द्रीय समितिको बैठकमा यी छलफल र बहसमा मात्र सीमित भए । प्रदेश र प्रतिनिधिसभाको चुनावपछि पहिलो पटक बसेको केन्द्रीय समितिको बैठकपछि कांग्रेसले आगामी बाटो तय गर्दै निराश भएका आम कार्यकर्तालाई ऊर्जा दिने केही न केही निर्णय गरिन्छ भन्ने आशा थियो । तर कुनै निर्णय नहुँदा आम कार्यकर्तामा अझ निराशा छाएको छ ।
कांग्रेसका प्रतिबद्ध कार्यकर्ताहरू कांग्रेस सुधारको अब एउटा मात्रै बाटो भनेको आफू कांग्रेसबाट अलग रहने मनस्थिति बनाइरहेका छन् । कार्यकर्ताहरूमा छाएको यस्तो निराशामा आशा जगाउनका लागि तत्काल केन्द्रीय समितिले दूरगामी ठोस निर्णय गर्नु आवश्यक थियो । चुनावमा पराजय भोगेपछि पहिलो पटक बसेको केन्द्रीय समितिको बैठक पधँेराको झगडा जस्तो नेताहरूबीच एकले अर्कोलाई आरोप लगाउने थलो बन्यो । केन्द्रीय समिति बैठक कांग्रेस सुधारका लागि सिर्जनात्मक थलो बन्न सकेन । केन्द्रीय समितिको बैठकलाई सिर्जनात्मक थलो बनाएर नेताहरूले कमजोरीको सुधार गर्ने वाचासमेत गर्न सकेनन् । कांग्रेस किन पराजित भयो भन्ने सन्दर्भमा पार्टीमा खास छलफल भएन । पराजय भएको विषय उठ्यो तर रिस पोख्ने ढंगबाट । यसरी नै कांग्रेस चल्ने हो भने कसरी सुधार होला ?
यो पटकको बैठकमा छलफलको एजेन्डा निर्वाचनको समीक्षा नभएर राष्ट्रियसभा निर्वाचनको तयारी भन्ने थियो । तर दुई दिनसम्म भएको छलफलले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड तय गर्न सकेन । बैठक बिरालो बाँध्ने काममै सीमित भयो । पार्टी पराजित भएर सकिनै लागेको अवस्थामा पनि लोभ र पाप देख्ने नेतृत्वबाट कांग्रेसमा सुधार हुन्छ भनेर आम कांग्रेसजनले कसरी आस गर्ने ? अनि सडकबाट नै कांग्रेस बदल्छांै भन्ने हुँकार दिने युवाहरूले केन्द्रीय समितिमा देखाएको आलस्यपनलाई के भन्ने ? कांग्रेसजनले कुन पुस्ताको कांग्रेससँग, कुन नेतासँग आशा गर्ने ? अनि कसरी कांग्रेस सुध्रिन्छ भन्ने ?
कांग्रेस केन्द्रीय समितिमा सभापतिको चर्को विरोध भएको विषय समाचारमा आए । सभापतिको बचाउ गरेको अनि पार्टी सभापति शेरबहादुर देउवाले कसैले पद छाड भनेर दबाब दिँदैमा पार्टी नेतृत्व नछाड्ने भनी दिएको अभिव्यक्ति समाचार बनेर सार्वजनिक भए । अहिले बैठक र बहस होइन कांग्रेसलाई सिंगो बनाउने निर्णय, नीति र नेताको आवश्यकता छ । पार्टी पराजयपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकमा कांग्रेस सुधारका केही संकेत देखा पर्लान् भन्ने धेरैले अनुमान गरेका थिए । तर केन्द्रीय समितिले आशाका संकेत भन्दा निराशाको बादल दिएको छ ।
कांग्रेसको पराजयपछि भएको असंख्य बहस, चिया पसलमा हुने छलफल, कोठामा हुने गुटका बैठकभन्दा विधि र नीति निर्माण गर्ने थलो केन्द्रीय समिति बैठकमा ती बहसहरू केन्द्रित हँुदा कम्तीमा पनि कांग्रेसले आफूलाई सुधारेर स्वार्थबाट मुक्त गर्ने बाटोमा जानेछ भन्ने सन्देश दिने आशा थियो । तर लगत्तै आएको राष्ट्रियसभाको चुनावमा अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउने गोलमोटल निर्णय गरेर बैठक समाप्त भयो । केन्द्रीय समितिले त कांग्रेसको समानुपातिकमा एकपटक अवसर उपभोग गरिसकेकालाई उम्मेदवार नबनाउने निर्णय गरेको थियो । तर समानुपातिकतर्फका उम्मेदवारहरूको नाम पार्टीको संसदीय बोर्डका सदस्यहरूले समेत हेर्न नपाएको गुनासो गर्दा कांग्रेस नेतृत्वले त्यो बेला स्वार्थबाट लिप्त भएर विधानको खिल्ली उडाएको, विवेकलाई बन्धकी बनाएको भन्ने आरोप यथार्थ देखियो ।
अहिले राष्ट्रियसभामा उम्मेदवार बनाउँदासमेत समानुपातिक उम्मेदवार बनाउँदाको सम्भावना कायम हुने देखिन्छ । नेपाली कांग्रेसबाट राष्ट्रियसभामा बढीमा ७/८ जना सांसद बन्न सक्ने अवस्था छ । त्यो पनि हरेक प्रदेशबाट बनाउनुपर्ने भएकाले अवसरबाट बञ्चित सबैलाई न्याय गर्ने अवस्था छैन । तर साँच्चै कांग्रेसले न्याय गर्न सुरु गर्यो भन्ने सन्देश दिने निर्णय गर्न भने सकिन्थ्यो । जस्तो कांग्रेसको केन्द्रीय समितिमा भएर पनि पटकपटक अवसरबाट बञ्चित भएका सुरेन्द्र पाण्डे, प्रत्यक्ष चुनाव त्यो पनि प्रदेश सांसद बन्न तयार भएर पनि अवसरबाट वञ्चित गरिएका गुरुराज घिमिरे, पुराना र त्यागी कांग्रेस नेता वलदेव शर्मा मजगैंया, अवसर नपाएका कल्याण गुरुङमात्र होइन २०६४ सालयता कांग्रेसको प्रतिनिधित्व नील भएका जिल्लालाई कांग्रेस नेतृत्वले न्याय गर्न जरुरी छ । कम्तीमा पनि कांग्रेसले यसमा सुधार गर्न सकेन भने यति भन्नै पर्छ– गधालाई दूधले नुहाएर गाई बनाउन सकिँदैन ।
प्रतिक्रिया