काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल हुने भएको छ । ओली र दाहालबीच आज प्र्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनका विषयमा थप छलफल हुने भएको हो ।
अब ३० दिनभित्र प्रदेश सरकार गठन गर्नुपर्ने र त्यसभन्दा अगाडी माघ २४ गते राष्ट्रियसभा निर्वाचन हुने भएकाले त्यसको गृहकार्यका लागि दुई अध्यक्षबीच छलफल हुने भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारको बिषयमा पनि कार्यादलले प्रारम्भिक प्रस्ताव तयार गर्नेछ । त्यसको आधारमा अध्यक्षहरुबीच छलफल गरी टुंगोमा पुर्याइनेछ ।प्रदेश सरकार र प्रदेश सभाका मुख्य पदमा कति सिट भागबन्डा गर्ने भन्नेमा भने दुई दलबीच कुरा मिल्न सकेको छैन ।
यसअघि हिजोको भेटमा पार्टी एकता प्रक्रियालाई छिटो अघि बढाउने र त्यसका लागि भोलि एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको थियो ।एकता संयोजन समितिको बैठक अघि आज हुने दुई अध्यक्षबीचको छलफलले भोलिको बैठकबारे गृहकार्य गर्ने ओलीका प्रेस संयोजक अधिकारीले बताउनुभयो । संयोजन समितिमार्फत पार्टी एकता सम्बन्धि गृहकार्य गर्न एउटा संगठनात्मक र अर्को बैचारिक बिषय हेर्ने गरी कार्यदल बनाउने तयारी छ ।
प्रतिक्रिया