काठमाडौं– सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई बनाएसँगै धनकुटा तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार बिहान साढे ११ बजेदेखि नै लागु हुने गरी कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यूपूर्वमा बिहीबारे हाट, पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास, लोकसेवा आयोगको कार्यालयसम्म, दक्षीणमा पातले खोलासम्म लगाइएको छ ।
कर्फ्यू लगाइएको बारे सूचना दिन अहिले ठाउँ ठाउँमा सुरक्षाकर्मीले माइकिङ गरिरहेकाछन् । यस्तै सुरक्षा व्यवस्था कायम गर्न सुनसरीबाट सुरक्षाकर्मीको थप बल समेत बोलाइएको छ । केही सातादेखि प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटावासीले आज विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी गरेका थिए ।
प्रदर्शनकारी र प्रहरीबीच धनकुटाका मुख्य चोकहरुमा झडप र ढुंगा हानाहान भएको थियो । हाम्रा सहकर्मीका अनुसार प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले क्षेत्रीय कार्यालयमा, डिभिजन कार्यालय लगायतका सरकारी कार्यलयमा आगजनी गरेका थिए ।प्रदर्शनमा उत्रिएका स्थानीयले नगरपालिकाको वारुणयन्त्रमा पनि तोडफोड गर्नुका साथै एम्बुलेन्समा पनि तोडफोड गरेका थिए । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ४ जना घाइते भएका छन् ।
यसैबीच, सरकारले प्रदेश ५ को अस्थायी मुकाम रूपन्देही तोकेपछि दाङमा जारी आन्दोलन पनि झनै चर्किएको छ । सरकारको निर्णय विरुद्ध दाङको तुलसीपुर विशाल दवाव मुलक र्याली निकालिएको छ । दाङ प्रादेशिक राजधानी तोक्न दवाव दिदै आएको संर्घष समितिले सरकारले तत्काल निर्णय नसच्याए दाङबाट आठौं प्रदेशको माग गर्दै अर्को आन्दोलन शुरु गर्ने चेतावनी दिएका छ ।
प्रतिक्रिया