काठमाडौं । चुनावमा पराजय भोगेपछि कांग्रेसभित्र पार्टीलाई पुर्नजिवन दिने बारेमा विभिन्न समुहमा बहस भइरहेको बेलामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित तीन प्रभावशाली नेताहरुका बीचमा भेटवार्ता भएको छ । वरिष्ठ नेता पौडेल, कृष्ण प्रसाद सिटौला र अर्जुन नरसिंह केसीबीच आइतबार राजधानीको महाराजगञ्जस्थित एक होटलमा झण्डै दुई घण्टा छलफल चलेको हो । पार्टीको १३ औं महाधिवेशनमा सिटौला र पौडेलले पनि सभापतिमा उम्मेदवारी दिएका थिए ।
विगतमा एकै समूहमा भएका भनिएका सिटौलाले समेत सभापतिमा उम्मेदवारी दिएपछि पौडेल–सिटौलाबीच सम्बन्ध विग्रिएको ठानिएको थियो । तर, पछिल्लो समय देउवाकै कारणले पार्टीमा समस्या आएको भन्दै सम्बन्ध सुधार गर्दै पौडेल–सिटौला समेत एकै ठाउँमा उभिएका हुन् । यसो त १३ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्री लडेका केसी पनि सभापतिको कार्यशैलीबाट रुष्ट रहेको बताइन्छ । असन्तुष्टहरु कांग्रेसलाई पहिलेको जस्तै बलियो अवस्थामा फर्काउन कसरी एकजुट भएर जाने भन्ने विषयमा निरन्तर छलफलमा गर्न नेताहरु सहमत भएको बतायएको छ । यही क्रममा गत बुधबार पनि गोंगबुमा प्रकाशमान सिंह, डा शेखर कोइराला र केसीबीच छलफल भएको थियो ।
कांग्रेसका युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदिप पौडेल लगायतका नेताले काँग्रेसको नेतृत्व अब युवा पुस्ताले लिनुपर्ने साथै सिंगो पार्टीमा पुर्नसंरचना र परिमार्जजसहित आम जनताको चाहानाअनुसार अघि बढ्नुपर्ने बहस चलाउँदै आएका छन् । त्यसैगरि पार्टीका १४ जना प्रभावशाली केन्द्रीय सदस्यहरुका बीचमा पनि पार्टी शुद्धिकरणका विषयमा छलफल चलिरहेको छ । गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा काँग्रेसले हार बेहोरेपछि देउवाले विशेष महाधिवेशन बोलाउनुपर्ने तथा राजीनामा दिनुपर्नेसम्मको माग कांग्रेसभित्र जोडतोडका साथ उठिरहेको छ ।
प्रतिक्रिया