राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले दलदर्ताका लागि दलहरुलाई दिएको समयसिमा आज सकिदैछ । आयोगका अनुसार अहिले सम्ममा १० वटा राजनीतिक दलले मात्रै दर्ता गराएका छन् ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रमुख तीन दलमध्ये कांग्रेसले दल दर्ता गराइसके पनि एमाले र माओवादी केन्द्रले अहिलेसम्म दलदर्ता गराएका छैनन्।
’आज कार्यालय समयभित्र नाम दर्ता गराउने दलले मात्रै राष्ट्रियसभा चुनावमा भाग लिन पाउनेछन’, प्रवक्ता ढकालले भन्नुभयो ।
आयोगले पुस १४ गते सूचना निकाल्दै २०७४ असार मसान्तसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई राष्ट्रियसभा निर्वाचनका लागि आजसम्म दल दर्ताको आह्वान गरेको थियो।
यसैबिच राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेशसभाका सांसदको अन्तिम नामावली आज निर्वाचन आयोगमा बुझाउने भएको छ । यसअघि निर्वाचन आयोगमा बुझाएको सूचीलाई क्रमसंख्या नमिलेको भन्दै आयोगले अस्वीकार गरेपछि राजपाले अर्काे सूची बुझाउन लागेको हो ।
अन्तिम सूचीमा प्रदेशसभा समानुपातिक सांसदको लागि राजपाबाट यसअघि निर्वाचन आयोगमा सिफारिस भएका नाममध्ये केहि फेरबदल हुने भएको छ ।
आज पठाउने सूचीमा केहि नाम फेरबदल हुने राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया