देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रमुख दलका नेताले भने – ‘केसीको गिरफ्तारी निन्दनीय’

देशान्तर

काठमाडौँ — नागरिक अभियन्ता डा. गोविन्द केसीलाई छापामार शैलीमा पक्राउ गरेर हिरासतमा राखिएको प्रति सरकारकै नेतृत्वमा रहेका कांग्रेसलगायत प्रमुख राजनीतिक दलले विरोध जनाएका छन् । कानुनका नाममा अदालतको नेतृत्वकर्ताबाटै केसीमाथि ज्यादती भएको उनीहरूको निष्कर्ष छ । अदालत ‘भगवान्’ नभएर राज्यकै एउटा अंग रहेको भन्दै नेताहरूले अदालतभित्र लुकेका भ्रष्टाचार बाहिर आउलान् भन्ने भयकै आधारमा केसीमाथि मानहानिको मुद्दा लगाएर छापामार शैलीमा गिरफ्तारी गरिएको आरोप लगाए ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केसी पक्राउबारे सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन् । गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका देउवाले केसी पक्राउ परेलगत्तै प्रहरी महानिरीक्षकलाई फोन गरी असन्तुष्टि जनाएका थिए ।
न्यायालयको नेतृत्वकर्ताबाटै बारम्बार पक्रन दबाब दिइएपछि केसीलाई पक्राउ गरिएको जवाफ प्रहरी महानिरीक्षकले प्रधानमन्त्री देउवालाई दिएको बालुवाटार स्रोतले जनायो ।
एमाले सचिव प्रदीप ज्ञवालीले अदालतले पूर्वाग्रह राखेर केसीलाई रातरात पक्राउ गरेको बताए । ‘एक रात भए पनि जानीबुझी थुन्ने उद्देश्य देखिन्छ । उहाँले राखेका माग र भनाइसँग कसैको सहमति वा असहमति आफ्नो ठाउँमा होला तर एउटा सम्मानित नागरिकलाई गरिने व्यवहार गलत भयो,’ ज्ञवालीले भने ।
उनले अदालतको सम्मान बल प्रयोग गरेर वा सेना, पुलिस परिचालन गरेर आर्जन नहुने बताए । पछिल्ला समयमा अदालतका निर्णय विवादास्पद हुन थालेको र यसले सर्वसाधारणमा अदालतमा न्याय हराउन थालेको महसुस भइरहेका बेला यस्तो निर्णय आउनुले अदालत त्यस्तो होइन भन्ने पुष्टि हुन नसकेको बताए । ‘यो घटनामा अदालतको पूर्वाग्रह छ । प्रधानमन्त्रीलाई नै केसीको पक्राउबारे थाहा छैन भन्ने कुरा बाहिर आएको छ, यो हास्यास्पद छ ।
प्रधानमन्त्रीको जानकारीबिना कुनै सम्मानित नागरिक पक्राउ पर्छ भने देश कसले चलाइरहेको छ ?’ ज्ञवालीले भने, ‘यो विषयबाट जोगिन प्रधानमन्त्रीले यस्तो कुरा गर्नुभएको भए त्यो पनि आपत्तिजनक हो ।’
बालुवाटार स्रोतले भने प्रधानमन्त्रीलाई जानकारी नभएको मंगलबार पनि दोहोर्‍याएको छ । ‘प्रधानमन्त्रीलाई केसी पक्राउ भएको समाचार आएपछि मात्रै जानकारी भएको हो,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘प्रधानमन्त्री रातारात केसीलाई पक्राउ गरिएको घटनाबाट असन्तुष्ट हुनुहुन्छ ।’
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केसीको रातारात गिरफ्तारीलाई ‘कानुनको नाममा गरिएको ज्यादती’ भनेका छन् । ‘अदालतको मानहानिलाई सत्याग्रहीविरुद्ध हतियार बनाइनु नितान्त गलत छ । फेरि दोहोर्‍याएर भन्छु, अदालत भगवान् होइन,’ श्रेष्ठले भने, ‘राज्यको पुन:संरचना गर्दा न्यायालयलाई यथावत् राखियो, त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझून् ।’
कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने अदालतको क्षेत्राधिकारमा मुद्दा पुगिसकेपछि संविधान र विधिसम्मत ढंगले केसीका मागमा सम्बोधन हुनुपर्ने बताए । ‘शिक्षा र स्वास्थ्य सुधारका लागि लड्दै आएका केसीका मागलाई राज्य र न्यायालयले समेत सम्मानसाथ सम्बोधन गर्नुपर्छ,’ खाँडले भने, ‘अबको उपाय विधि र संविधानको बाटो हो । त्यही बाटोबाट समाधान खोजिनुपर्छ ।’
कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र यसबारे औपचारिक छलफल नभए पनि विधिसम्मत् ढंगबाट केसीको माग सम्बोधन गर्नेतर्फ कांग्रेसको भूमिका रहने बताए ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले न्यायालयको गलत मनसायकै कारण केसीलाई रातरात पक्राउ गरिएको बताइन् । ‘हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता छ । त्यसैले कसैले केही भन्नेबित्तिकै मानहानि हुन्छ भन्ने छैन ।
डा. केसीलाई मध्यरातमा जसरी पक्राउ गरियो, यसभित्र गलत मनसाय छ,’ उनले भनिन्, ‘कार्यपालिका र व्यवस्थापिकाका काममा प्रश्न उठ्ने गरेको थियो, तर न्यायालयभित्र पनि अहिले राम्रा काम नभएकाले प्रश्न उठ्ने गरेका हुन् । न्यायाधीशहरूका पनि गलत काम हुन सक्छन् । त्यसैले कसैले प्रश्नै गर्न नपाउने भन्ने हुँदैन ।’ उनले हठात् गिरफ्तार गर्नु गलत रहेको र न्यायालयभित्र पनि भ्रष्टाचार रहेको बताइन् ।
कानुनविद्कोआपत्ति
काठमाडौं (कास)– नागरिक अभियन्ता डा. गोविन्द केसीप्रति न्यायालय र प्रहरीबाट गरिएको व्यवहारको कानुनविद्हरूले आलोचना गरेका छन् । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता तथा बेलायतस्थित लिड्स युनिभर्सिटीका प्राध्यापक क्युसी डा. सूर्य सुवेदीले अनशनस्थलबाटै एक सत्याग्रहीलाई पक्रनुले नेपालको शिर अन्तर्राष्ट्रियस्तरमै निहुरिएको बताएका छन् ।
‘सर्वाेच्च अदालत आफैंले हतारहतारमा छापामार शैलीमा डा. केसीलाई गिरफ्तार गर्ने आदेश दिनु र प्रहरी प्रशासनले केही राष्ट्रिय महत्त्वका विषयमा आफ्ना माग राखी शान्तिपूर्ण तरिकाले अनशनमा रहेका डा. केसीलाई तुरुन्त्रै पक्राउ गर्नुजस्ता छापामार शैलीका कार्य निन्दनीय भएको र यस्तो शैलीले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धूमिल भएको छ,’ ग्लोबल पोलिसी फोरमका अध्यक्षसमेत रहेका सुवेदीले सोमबार बेलायतबाटै जारी विज्ञप्तिमा भनेका छन् ।
केसीलाई रातारात पक्राउ गर्ने कामले उनको कानुन व्यवसायीसँग परामर्श गर्न पाउने संवैधानिक हकसमेत कुण्ठित भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताए । ‘साँझदेखि सूर्याेदयसम्म कुनै मानिसलाई पक्राउ गर्नु आफैंमा निन्दनीय हो,’ थापाले भने, ‘त्यसमाथि अनशनमा बसेका निरपराध मानिसलाई हातहतियारसहित पक्राउ गरी प्रहरी घेरामा राख्नु त झनै आपत्तिजनक काम हो ।
मानहानि भनेको अदालतको स्वेच्छाचारिता र अपारदर्शिता ढाकछोप गर्ने अस्त्र होइन र त्यो बनाउनु पनि हुँदैन ।’
डा. केसीले भने आफूलाई जतिसुकै दु:ख दिइए पनि पारदर्शिता र विधिको शासनका लागि कहिल्यै अविचलित नहुने प्रतिबद्धता जनाएका छन् । ‘अदालतले जे–जस्तो व्यवहार गरे पनि म आफ्नो सत्याग्रहबाट विचलित छैन,’ सर्वाेच्च परिसरमा सोमबार दिउँसो एम्बुलेन्सभित्रै आराम गरिरहेका केसीले एम्बुलेन्सभित्रै वकालत नामापत्रमा हस्ताक्षर गर्दै भने, ‘यो देश स्वच्छ भएको नहेरी मेरो प्राण जाने छैन ।’ कान्तिपुर