देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेमा सिलवालको विकल्पमा वामदेव !

देशान्तर

काठमाडौं । नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं पूर्वडीआईजी नवराज सिलवालको निर्वाचन क्षेत्र पुनस् निर्वाचन गराउनका लागि एमाले नै लागेको तथ्यको खुलासा भएको छ । सिलवाललाई डीआईजीबाट आईजीपीमा बढुवा हुने वेलामा कार्यसम्पादन मूल्यांकन फारममा नम्बर सच्याउन किर्ते गरेको अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर सिलवाल अहिले मलेसिया पुगेको चर्चा छ ।

सुरुमा सिलवालका विरुद्धमा पक्राउ पुर्जी जारी गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल भए पनि एमाले नेतृत्वको सुझावमा उनी विरुद्धमा पक्राउ पुर्जी जारी गरिएको बताइएको छ । सिलवालको यो मुद्दामा पक्राउ नगरी पनि कार्यसम्पादन मूल्यांकन फाराममा किर्ते गरे नगरेको छानबिन गर्न सकिने आधार हुँदाहुँदै पनि सिलवाललाई एमाले नेताहरूकै सुझावमा पक्राउ पुर्जी जारी गरिएको प्रहरी उच्च स्रोतको दाबी छ ।

अदालतले किर्ते कागज गरेको पुष्टि भएपछि सिलवालको सांसद पद खारेज हुनेछ । सिलवालका विरुद्धमा पक्राउ पुर्जी जारी गर्दा समेत एमालेले सो विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यसबाट पनि एमाले सिलवालको सांसद पद खारेज गर्न लागेको तथ्यको पुष्टि हुन्छ । एमाले उच्च स्रोतका अनुसार सिलवालको सांसद पद खोज भएर पुनस् निर्वाचन गर्दा एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारीमा एमाले लागेको छ । गौतम बर्दियाबाट नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए ।

सांसद सिलवाललाई जेल पठाएर सो क्षेत्रबाट वामदेव गौतमलाई जिताउने डिजाइनअन्तर्गत सिलवाललाई फसाउन एमाले नेताहरू नै लागेपछि उनी मुलुक छोडेर भागेको बताइन्छ । आईजीपी नियुक्तिको बेलामा समेत प्रहरीले पक्राउ पुर्जी जारी गर्दा मुलुक छोडेर बाहिर नगएका सिलवाल अहिले मुलुक छोडेर हिँडेकाले समेत धेरैको मनमा एमाले सिलवाललाई फसाउन लागेको शंका गर्न थालेका छन् ।

प्रहरीले पक्राउ पुर्जी काटेपछि सिलवाल यतिबेला मलेसियामा छन् । सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरी उनको घर पुगेको थियो । प्रहरी प्रमुख आफूलाई बनाउन भन्दै अदालतमा किर्ते कागज तयार गरेर अदालतमा पेस गरेको खुलासा भएसँगै प्रहरीले सिलवाललाई सरकारी कागज किर्ते गरेको मुद्दामा अनुसन्धान गर्न पक्राउ पुर्जी काटेको हो ।
अहिले एमाले नेताहरूलाई बर्दियाबाट चुनाव हारेका वामदेव गौतमको व्यवस्थापनको समस्या परिरहेका बेलामा ललितपुर एकबाट निर्वाचित सांसद सिलवालको सांसद पद खारेज भएमा वामदेवलाई व्यवस्थापन गर्न सहज हुने भएकाले सिंगो एमालेको नेतृत्व सिलवालको मुद्दामा मौन रहेको एमाले केन्द्रीय कार्यालय परिसरमा नै चर्चा सुरु भएको छ ।