काठमाडौं– ‘काभ्रेको पाँचखाल उपत्यकामा जब पश्चिमबाट बेगले हावा चल्छ त्यहाँको वायुको प्रदूषण स्तर पनि काठमाडौंकै स्तरमा पुग्छ’, पाँचखालको वायु प्रदूषण अवस्थाबारे अध्ययन गरिरहेका एक विज्ञले भने, ‘कल्पना गरेभन्दा धेरै नै प्रदूषित हुन्छ ।’
सन् २०१७ जुलाईदेखि भइरहेको घरभित्र र बाहिरको वायु प्रदूषणको अवस्था अध्ययन-अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेका जनस्वास्थ्य प्राध्यापक डा. आमोदकुमार पोखरेलले नागरिकसँग भने, ‘राजधानी सहर काठमाडौंको प्रदूषित हावा सजिलै पाँच खाल पुगिरहेको छ ।’
पश्चिमबाट बेगले चल्ने हावाले राजधानीको प्रदूषित वायु पा“चखालसम्म पु¥याएको अध्ययनले देखाएको छ ।
काभ्रेका पाँचखाल र मण्डनदेवपुर नगरपालिकाका ७ सय २७ वटा घरको बाहिर र भित्रको वायु प्रदूषणसम्बन्धी अनुसन्धान गरिरहेका पोखरेलले अमेरिकाबाट स्काइपमा नागरिकसँगभने, ‘प्रतिसेकेण्ड ४ देखि ६ मिटरका दरले पश्चिमबाट हावा चल्दा त्यहाको वायुमा २.५ माइक्रोग्रामभन्दा साना धुलोका कणको मात्रा कल्पना गरेभन्दा धेरै गुना बढी पाइयो ।’
पोखरेलका अनुसार गत सेप्टेम्बर १ देखि अक्टुबर ११ बीचको तथ्यांक विश्लेषण गर्दा यस्तो निष्कर्ष आएको होे । पश्चिमबाट चल्ने हावाले राजधानीको प्रदूषित वायु पाँचचखालसम्म पु¥याएको अध्ययनले देखाएको उनले बताए ।
‘मौसम पूर्वानुमान उपकरणसहितको ई–स्पाम्पलरमा रेकर्ड भएको २.५ माइक्रोग्राम धुलोका कणको १५-१५ मिनेटको तथ्यांक विश्लेषण गर्दा बढीमा ५ सय ७३ माइक्रोग्राम प्रतिघनमिटरसम्म पाइयो’, पोखरेलले भने, ‘यो सामान्य किसिमको वायु प्रदूषण होइन ।’
उनका अनुसार पाँचखाल क्षेत्रमा पूर्व, दक्षिण र उत्तरबाट हावा चलेको अवस्थामा भन्दा पश्चिमबाट हावा चलेको अवस्थामा सबैभन्दा बढी वायु प्रदूषण भएको पाइएको छ । ‘जुनसुकै महिनामा पश्चिमबाट हावा चलेको बेला त्यहाँको वायु प्रदूषणको मात्रा बढेको देखिन्छ’, पोखरेलले भने, ‘औसत प्रदूषण भने २० माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ ।’
यही अध्ययनमा संलग्न लिडर्स नेपालका महासचिव धिरज पोखरेलले काठमाडौंको प्रदूषित वायु भक्तपुरको नगरकोट हुँदै पाँचखाल पुग्ने गरेको जानकारी दिए । उनका अनुसार बिहानको तुलनामा रातिको वायु बढी प्रदूषित पाइएको छ ।
‘काठमाडौं उपत्यकामा नागढुंगा र बालाजुको पश्चिम क्षेत्रबाट वायु भित्रिन्छ । तीनै स्थानमा प्रदूषण गराउने उद्योग छन् । तीनले पनि वायु प्रदूषण बढिरहेको छ’, उनले भने, ‘कुनै पनि विकास निर्माण गर्दा त्यसले पार्ने समग्र क्षेत्रको अनुसन्धान गर्नुपर्छ । अबको विकास यस्तो नहोस् ।’
नागढुंगाको पूर्वी क्षेत्रमा इँटाभट्टा र ससाना क्रसर उद्योग छन् भने बालाजुमा औद्योगिक क्षेत्र छ । पोखरेलका अनुसार यी उद्योगले वायु प्रदूषित गराइरहेका छन् । ‘त्यसैमा उपत्यकाको भद्रगोल विकास र सवारी चापले प्रदूषित भइरहेको वायु बेस्सरी हुरी चलेका बेला पा“चखाल पुग्छ । त्यो पनि पर्यटकीय नगरी नगरकोट छिचोल्दै ।’
उपत्यकाको हावा नगरकोट र साँगा हुँदै काभ्रे प्रवेश गर्छ । साँगाबाट बनेपा, धुलिखेल हुँदै पाँचखाल पुग्छ भने बालाजुको हावा उपत्यकाको उत्तर हुँदै भक्तपुरको नगरकोटबाट पा“चखाल पुग्छ । धिरजका अनुसार अन्य दिनको तुलनामा शुक्रबार वायुमा प्रदूषणमात्रा बढी भएको पाइएको छ ।
अदुरदर्शी विकास र योजनाका कारण वातावरण प्रदूषणका समस्या बढिरहेको उनको ठहर छ । ‘बागमती नदी शिवपुरीबाट सुन्दरीजल हुँदै दक्षिण बग्छ भन्ने हामीलाई थाहा थिएन र ? तर त्यहीं लगेर गलैंचा बुन्नेलगायत कारखाना किन राखियो ?’ पोखरेलले भने ।
अनुसन्धान टोलीले काभ्रेका दुइटा नगरपालिकामा वायु प्रदूषण परीक्षण गरिरहेको छ । घरबाहिरको वायुको स्तर परीक्षण गर्न दुइटा नगरपालिकामा एक/एक स्टेसन राखिएका छन् । घरभित्रको वायुको स्तर नाप्ने उपकरण पनि राखिएका छन् । स्टेसनका उपकरणबाट २.५ माइक्रोग्राम धुलोका कणको मात्रा नाप्ने र मौसमको अवस्थाबारे जानकारी लिने गरिन्छ ।
काभ्रेका दुई नगरपालिकाका ७ सय २७ वटा घरभित्रको वायुको अवस्था परीक्षण गर्दा नतिजा सन्तोषजनक नआएको धिरजले बताए । ‘घरभित्रको धुवाँले बाहिरको वायुलाई समेत प्रदूषित गरेको पाइयो’, उनले भने, ‘सामान्यतयाः त्यस क्षेत्रमा उद्योग र सवारी साधनको धेरै चाप छैन । तर पनि वायु प्रदूषित भएकै छ ।’
धिरजका अनुसार दुइटा नगरपालिकाका ७ सय २७ मध्ये ४ सय ८३ घरमा एलपिजी ग्या“स, २ सय ८२ घरमा गोबर ग्यास र ४ वटा घरमा इन्डक्सन चुलो छ । ‘झट्ट हेर्दा घरभित्र प्रदूषण नहुनुपर्ने हो तर परीक्षण गर्दा धेरै प्रदूषण पाइएको छ’, उनले भने ।
धिरजका अनुसार एलपिजी, गोबर ग्यास र इन्डक्सन चुलो चलाइरहेका सर्वसाधारणले दाउरा बाल्ने चुलो पनि प्रयोग गरिरहेका छन् । दुइटा नगरपालिकाका ७ सय २७ घरमा गरेर यस्ता चुलोको संख्या १२ सय छ । उनले भने, ‘त्यसैले घरबाहिरभन्दा भित्रको हावा बढी प्रदूषित भएको पाइयो ।’
एलपिजी बाल्ने घरभित्र पनि २.५ माइक्रोग्राम धुलोका कण १०० माइक्रोग्राम प्रतिघनमिटरसम्म पाइएको धिरजले बताए । ‘अझ दाउराको चुलो प्रयोग गर्ने घरको अवस्था त झन विकराल छ, त्यसैले हामीले यसलाई घरपरिवारको स्वास्थ्यस“ग जोडेर विद्युतीय चुलोमा रुपान्तरण गर्न खोजिरहेका छौं तर यो काम निकै चुनौतीपूर्ण छ’, उनले भने ।
छातीरोग विशेषज्ञ शरदचन्द्र बर्मासमेत संलग्न अनुसन्धान टोलीले आफ्ना अनुसन्धान उपकरणलाई हरेक घरको भान्छाकोठा र कौसीमा छुट्टाछुट्टै राखेर अनुसन्धान गरिरहेको छ । घरभित्र र बाहिरको २.५ माइक्रोग्राम धुलोका कण परीक्षण गर्न ३० वटा उपकरण प्रयोग भइरहेका छन् । लिर्डस नेपालले ग्लोबल एलायन्स फर क्लिन कुक स्टोभसँग मिलेर अध्ययन गरिरहेको छ ।
अध्ययन सन् २०१८ को डिसेम्बरसम्म चल्नेछ । ‘अहिलेसम्मको अध्ययन निष्कर्षअनुसार त्यहाका जनतालाई स्वच्छ ऊर्जा प्रयोग गर्न प्रोत्साहित गर्ने हाम्रो उद्देश्य हो’, डा. पोखरेलले भने, ‘पाँचखाल र मण्डनदेवपुरमा वायुको स्तर स्वच्छ पार्न काठमाडौंको वायुको स्तर पनि सुधार गर्नुपर्ने हुन्छ । अध्ययनले पनि त्यही देखाएको छ ।’
विश्व स्वास्थ्य संगठनले २.५ माइक्रोग्राम धुलोको कण घरबाहिरको मापदण्ड १० र भित्रको २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । सरकारी मापदण्डमा घरबाहिर ४० र भित्र ५० माइक्रोग्राम प्रतिघनमिटर तोकिएको छ । काठमाडौंको पिएम (२.५) ४९ माइक्रोग्राम घनमिटर छ ।
उपत्यकाको वायु प्रदूषणमा ३८ प्रतिशत हिस्सा सवारी साधनले ओगटेको छ । दोस्रोमा सबैभन्दा बढी २५ प्रतिशत प्रदूषण धुलोका कारण भइरहेको छ । कृषि र इट्टाभट्टाबाट क्रमश १८ र ११ प्रतिशत प्रदूषण भइरहेको छ । त्यस्तै उद्योगबाट ३, घरेलु प्रदूषण ३ र फोहर बाल्दा र अन्य गरी दुई प्रतिशत वायु प्रदूषण भएको छ । सन् २००२ देखि ०१२ बीचको तथ्यांक विश्लेषण गर्दा प्रत्येक वर्ष १४ प्रतिशतका दरले सवारी साधन बढिरहेको देखिन्छ ।
विश्व स्वास्थ्य संगठनको डाटाबेसमा भएका २ हजार ९ सय ७३ सहरमध्ये काठमाडौंको प्रदूषण (एएम २.५) का आधारमा नेपाल २ सय ६१ औं नम्बरमा छ । विश्व बैंक र आइएचएमई, २०१६ का अनुसार वायु प्रदूषणका कारण मृत्यु हुनेको जनसंख्या वार्षिक २२ हजार ३८ छ । वायु प्रदूषणका कारण अर्थतन्त्रमा वार्षिक २.८ खर्ब रुपैयाँ अथवा कुल ग्राहस्थ उत्पादनको ४.७ प्रतिशतले ह्रास आइरहेको छ । नागरिक
प्रतिक्रिया