खिला कार्की
प्रदेश र प्रतिनिधिसभाको चुनावी परिणाम यतिबेला नेपाली राजनीतिमा तातो बहसको विषय बनेको छ, नेपाली कांग्रेसको सुधार । नेपाली कांग्रेस सुधारको विषयलाई कसैले कांग्रेसको पुनर्जीवन भनेका छन्, त कसैले कांग्रेसको पुनर्निर्माण । अहिले कांग्रेसको सुधारका नाममा हरेक दिनजसो कुनै न कुनै छलफल भइरहेका छन् । कांग्रेसलाई बाक्लै सुझाव र अर्तीहरू आइरहेका छन् । छलफलका विषय हेर्दा ती साँच्चै कांग्रेस बनाउनका लागि हो जस्तो लाग्छ तर छलफललमा भएका व्यवहार हेर्दा कांग्रेस बनाउने पहल हैन कांग्रेस सक्ने पहल हुँदैछ कि भन्ने आभास मिल्छ । एक ढंगले भन्ने हो भने अहिले नेपाली कांग्रेसका नेता कार्यकर्ता सबै फुर्सदिला भएका छन् । त्यसैले छलफल चलिरहेका छन् । कांग्रेसका नेता, कार्यकर्ता सबैको छलफल र बहसमा कांग्रेसको भविष्यबारे चिन्ता देखिन्छ । सबैले सिंगो पार्टीबारे चिन्ता व्यक्त गरिरहेका छन् तर पार्टीलाई यस्तो अवस्थामा पुर्याउन आफूले गरेका कमजोरी र सुधारको विषयलाई विरलै उठाउने गरिएको छ । वास्तवमा पार्टीलाई सुधारतर्फ अघि बढाउने हो भने नेता, कार्यकर्ताले सर्वप्रथम आफूलाई सुधार गर्नु जरुरी देखिन्छ । सबै कांग्रेसले उदारताका साथ आफैंबाट सुधारको सुरुवात गर्ने हो भने अवश्य नयाँ कांग्रेस पनि बन्छ, कांग्रेसले पुनर्जीवन पनि पाउँछ, अनि कांग्रेसको पुनर्निर्माण पनि हुन्छ, र कांग्रेसको सुधार पनि हुन्छ । तर यस्ता बहस र छलफलमा कांग्रेसले एकले अर्कोलाई गाली गर्ने अनि खुइल्याउने काम भइरहेको छ । यसैगरी अघि बढ्ने हो यो मौसमी बहसको असर केही समयपछि आफैं हराएर जानेछ । पार्टीको चरित्रमा गुणात्मक परिवर्तन ल्याउन सक्ने छैन ।
नेतृत्वको उदारता
सबैभन्दा पहिले कांग्रेस सुधारका लागि नेतृत्वले उदारता देखाउन सक्नुपर्छ । नेतृत्वले देखाउने उदारता भनेको प्रतिस्पर्धाको राजनीतिमा कुनै कार्यकर्ताले अग्रता लियो भने स्वीकार गर्न सक्नुपर्छ । त्यो उदारताका लागि नेतृत्वले सबैभन्दा पहिला कार्यकर्तालाई दास ठान्ने प्रवृत्तिलाई सुधार गर्नुपर्छ । अहिले कार्यकर्तालाई दास मान्ने अनि कार्यकर्ताले पनि आफूलाई दासकै दर्जामा राख्ने प्रवृत्ति झांगिएको छ । यसलाई नेतृत्वपंक्तिले उदारताका साथ त्याग्न सक्नुपर्छ ।
नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भएको आधा कार्यकाल बितेको छ । आधा कार्यकाल बित्दासमेत पार्टीको कार्यसमितिले पूर्णता पाएको छैन । पार्टीका भ्रातृ संगठनको अधिवेशन त भयो । तर ती भ्रातृ संगठनका न कार्यसमिति पूर्ण छन् न त कार्यकर्ता एकत्रित छन् । यस्तो हुनुको मुख्य कारण नै कार्यकर्तालाई दास मान्ने नेतृत्वको मानसिकता हो । पार्टीका पदाधिकारी सभापतिले किन नियुक्त गरेनन् ? यो प्रश्न आज कांग्रेसजनका मनमा उठिरहेको छ । पार्टीमा पदाधिकारीको नियुक्ति नेतृत्वको अनुदारवादी शैलीका कारण नभएको आम रूपको बुझाइ छ । पार्टीको पदाधिकारी नियुक्त नभइन्जेल पदाधिकारीको आकांक्षी नेतृत्वको पछि लागिराख्ने भयो । नियुक्त भएपछि त ऊ पार्टीको पदाधिकारी बन्छ, नेतृत्वको पछाडि लाग्नेभन्दा पनि पार्टी र संगठनको काम गर्नतिर लाग्छ, अनि नेतृत्वले आफ्ना ‘हनुमान’हरू बनाउन समस्या पर्छ । त्यस्तै पार्टीका भ्रातृ संगठनहरूको मनोनयन र पूर्णतामा पनि यही सूत्र लागू हुन्छ । अब नेतृत्वले उदारता देखाएर ‘हनुमान’ उत्पादन गर्ने शैलीलाई बन्द गर्नुपर्छ । साँच्चै कांग्रेसको सुधार गर्ने हो भने अब यहीबाट गर्न जरुरी छ ।
नेपालका राजनीतिक हस्ती विश्वेश्वरप्रसाद कोइरालाले पत्याएका, फलामे दृढता भएका, पञ्चायतले कुनै मूल्यमा गलाउन नसकेका, वर्षौं जेलको कहर काटेका, जेलभित्र पनि फलामे सिक्रीले बाँधिएका, सिद्धान्त विचलनप्रति टसमस नहुने, सुखसुविधा राम्रो खानपान नखोज्ने, ऐस आराम नरोज्ने यस्तैयस्तै कुराहरू, स्वभावहरू मिसिएका मान्छेहरू अहिले पनि कांग्रेसमा छन् । यिनीहरूले अहिले पनि साँच्चै कांग्रेस देख्न चाहन्छन् । दुई धार भएको टोपी, खद्दरको कुर्ता पाइजामा लगाउने धेरै नेताहरू साँच्चै लोकतन्त्रको प्रतीक बनेर अहिले पनि गाउँमा बसिरहेका छन् । तर अहिले गाउँमा ठेक्कापट्टा गर्नेहरूको हालिमुहाली देखिन्छ । साँच्चै कांग्रेसको संरक्षणमा होइन नेतृत्वले ठेक्कापट्टा गर्ने पैसाको खोलो बगाउन सक्ने भए पनि कांग्रेसको सदस्यता छ कि छैन भन्ने बारेमा खोजी हुन छाडेको छ । अब साँच्चै कांग्रेस सुधारका लागि सिद्धान्त विचलनप्रति टसमस नहुने, सुखसुविधा, राम्रो खानपान नखोज्ने, ऐसआराम नरोज्ने दुई धार भएको टोपी, खद्दरको कुर्ता पाइजामा र चप्पलमा हिँड्ने कांग्रेसलाई चिन्ने उदारता देखाउन जरुरी छ ।
कार्यकर्ताको उदरता
कांग्रेसमा चुनावको परिणामपछि विभिन्न समूहका नाममा कांग्रेस सुधार्ने छलफल र बैठक भइरहेका छन् । तर यी छलफलमा पनि आफूलाई सुधार गर्ने होइन नेतृत्वलाई गाली गर्ने मञ्च बनेका छन् । अहिले कांग्रेसहरूका मञ्च कतै सात भाइका नाममा बनेका छन् कतै १४ भाइका नाममा त कतै भ्रातृ तथा शुभेच्छुक संस्थामा प्रमुखहरूको भेलाका नाममा एक पक्षले अर्को पक्षलाई खुइल्याउन लागेको देखिन्छ । चुनावको परिणामको हार जित जे हुँदा पनि समीक्षा हुनुपर्छ । त्यो समीक्षाका लागि ढिला भएको छ । तर ढिला भयो भन्दैमा नेतृत्वको उछित्तो काँढेर कांग्रेस बन्दैन । अहिले वाम गठबन्धन बनेको छ । वाम गठबन्धनका कारणले नै कांग्रेस कमजोर भएको पनि छ । तर यो मौकालाई कांग्रेसको संगठन निर्माणका लागि उपयोग, कांग्रेसको संगठन निर्माणका लागि सही बाटो पहिल्याउने कोसिस भएन भने कांग्रेस कांग्रेस रहँदैन ।
कांग्रेस बनाउनका लागि पहल अब सबै कांग्रेसले आफैंबाट थाल्नुपर्छ । चाहे त्यो नेतृत्वले होस् वा कार्यकर्ताले । ककस्ले कस्तो गल्ती गरेको छ, त्यसको महसुस सबैले आ–आफ्नो ठाउँबाट गर्न जरुरी छ । नेतृत्वले आफ्ना गल्तीमा सुधार गर्न जरुरी छ । यसको अर्थ गल्ती नेतृत्वले मात्रै होइन गल्ती त कांग्रेसका कार्यकर्ताहरूले पनि गरेका छन् । धेरै उम्मेदवार कांग्रेस पुराना भए, धेरै पटकपटक उम्मेदवार बनेकालाई फेरि उम्मेदवार बनाउनु, नयाँलाई स्थान दिन नसक्नु, पुराना दु:ख पाएका नेता कार्यकर्ताको व्यवस्थापन गर्न नसक्नु नेतृत्वको कमजोरी होला । तर चिया पसल चोकमा बसेर कांग्रेसका कार्यकर्ताले कांग्रेसको गुटका नाम एउटा पक्षले अर्को पक्षलाई गाली गर्नु कार्यकर्ताको पनि दोष हो । कार्यकर्ताले पनि चिया पसल चोकमा बसेर नेतृत्वलाई गाली गर्दा मत प्रभावित हुन्छन् ।
अर्को महत्वपूर्ण पक्ष भनेको मुख्य नेतृत्वका गलत कामको साक्षी बस्ने तल्लो नेतृत्वको पनि गल्ती हो । पार्टी सभापति, वरिष्ठ नेता, महामन्त्री कोषाध्यक्ष अर्थात् भनौं पदाधिकारीहरूले गल्ती गरे भने त्यो गल्तीको खबरदारी गर्नका लागि नै कांग्रेसले भेडीगोठ जत्रो केन्द्रीय समिति बनाएको होला । त्यसकारण समयमा नेतृत्वलाई खबरदारी गर्न नसक्नु मूल नेतृत्वभन्दा तल बसेकाहरूको पनि कमजोरी हो । त्यसकारण अब कांग्रेससँग एउटै विकल्पमा छ, त्यो भने कांग्रेसको सुधार, कांग्रेसको सुधार भनेको सबै कांग्रेसले आफंैबाट सुधार गर्न जरुरी छ । अब कांग्रेस मिल्ने कि सकिने यी दुईमध्ये एउटा विकल्प रोज्नुपर्ने अन्तिम अवस्था आएको छ । सकिनलाई केही गर्न पर्दैन, मिल्नलाई सबैले आफैंबाट सुधार गर्न आवश्यक छ ।
प्रतिक्रिया