देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्राधिकरण सिइओ ज्ञवाली पदमुक्त, डा पोखरेल नियुक्त

देशान्तर

काठमाडौ । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई हटाई डा गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ । 

आजको मन्त्रिपरिषद् बैठकले ज्ञवालीले पेस गरेको दोस्रो स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै उनलाई अवकाश दिई डा पोखरेललाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

अघिल्लो मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई पुनः२४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पुनःनिर्माणको काममा तीव्रता नआएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको थियो । 

नवनियुक्त डा पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षका साथै पुनःनिर्माण प्राधिकरणसम्बन्धी ऐन आउनुपूर्व प्रमुख कार्यकारी अधिकृत थिए । 

बिदाहरु पुनरावलोकन हुने 

बैठकले राष्ट्रिय पर्व र चाड बिदाका सम्बन्धमा पुनरावलोकन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । 

आज राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा बिदा माग भएको सन्दर्भमा सरकारले समग्र बिदालाई पुनरावलोन गर्ने भएको हो । पुनरावलोकन गर्दा कुन बिदा राष्ट्रिय वा कुन बिदा आञ्चलिकरुपमा दिने भन्ने पनि निक्र्यौल हुनेछ । 

मन्त्री केसीको असन्तुष्टि 

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफूले पृथ्वी जयन्ती र एकता दिवसमा बिदा दिन तीन पटकसम्म बैठकमा आग्रह गर्दा पनि निर्णय हुन नसकेको प्रतिक्रिया दिए । 

उनले विश्वका धेरै मुलुकमा जस्तोसुकै तानाशाह भएको भए पनि उसले राष्ट्रिय एकीकरणमा भूमिका निर्वाह गरेको छ भने त्यसलाई सम्मान दिइने प्रचलन रहेको चर्चा गरे । 

निजामती ऐन संशोधनमा लोक सेवाको परामर्श 

बैठकले भूकम्प प्रभावित विद्यालयमा पुनःनिर्माणका कामलाई गति दिन अस्थायी दरबन्दीमा कर्मचारी नियुक्त गर्ने निर्णय पनि गरेको छ । 

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले निजामती कर्मचारीको उमेर बढाउने प्रस्तावसहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय भएको जानकारी दिए ।

]]>