देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाइड बडी जहाज आउने पक्का

देशान्तर

काठमाडौं । हाल एउटा बोइङ र दुईवटा न्यारो बडी एयरबस जहाजबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निगमसँग आउँदो असोजभित्र अर्को ठूलो जहाज हुने निश्चित भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा एयरवस वाइड बडी खरिदको जिम्मा अमेरिकी कम्पनी एआरआर कर्पोरेसनलाई दिएसगै वाइड बडी जहाज आउने निश्चित भएको हो । माघ १ गते बसेको निगम सञ्चालक बोर्डको बैठकले उक्त कम्पनीको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको थियो । 

निगमले दुईवटा एयरबस ३३०–२०० सिरिजका एक हजार घन्टासम्म उडेका जहाज खरिद गर्न सकिने भन्दै ग्लोबल टेन्डर आह्वान गरेकोमा सबैभन्दा कम रकममा ‘ब्रान्ड न्यु’ जहाज उपलब्ध गराउने प्रस्ताव गरेको एआरआरको प्रस्ताव स्वीकृत गरिएको स्रोतले जानकारी दिएको छ । वायुसेवा निगमको आर्थिक विनियमावली २०३६ को उपविनियम १ को (च) बमोजिम उक्त प्रस्ताव स्वीकृत गरिएको बताइएको छ । अन्तरमहादेशीय उडानमा हात हाल्ने योजना बनाएको निगमसँग २०७४ को चैत्रसम्म अर्को वाइड बडी पनि थपिनेछ जसपछि निगमसँग अन्तर्राष्ट्रिय उडानकै लागि पाँचवटा जहाज हुने ।

छनोट भएको एआरआरलाई निगमले एक आसयपत्र पठाइसकिएो छ । अब निगम र कम्पनीबीच सैद्धान्तिक सहमति (एमओयू) हुनेछ । एमओयू भएपछि खरिद सम्झौता हुने र उक्त क्रममा हाल प्रस्तावित मूल्य, समय आदिको बारेमा पनि हेरफेर हुन सक्ने बताइएको छ । 

एआरआरले दुई सय नौ मिलियन अमेरिकी डलरमा दुईवटा नयाँ वाइड बडी जहाज उपलब्ध गराउने प्रस्ताव गरेको छ । आजको डलरको मूल्यअनुसार दुईवटा जहाज २२ अर्ब ६२ करोड नेपाली रुपैयाँ हुन आउँछ । यसअघि निगमले १८ महिनाभित्र दुईवटा जहाज ल्याउने गरी टेन्डर प्रस्ताव आह्वान गरेको थियो । 

सन् २०१८ को मार्चसम्म दुईवटा ‘एयरबस ३३०–२२०’ वाइड बडी खरिद गर्ने योजना बनाएको छ । यसअनुसार पहिलो वाइड बडी जहाज २०७४ को असोज महिनासम्म काठमाडौं आइपुग्नेछ भने त्यसको ६ महिनापछि अर्को जहाज काठमाडौं आउनेछ । 

२५ अर्बमा दुईवटा वाइड बडी विमान खरिद गर्ने योजना बनाएको निगमले जारी गरेको गोप्य बोलपत्रमा १० वटा कम्पनीले सहभागिता जनाएका थिए । प्रतिविमान दुईवटा ‘रोल्सरोयस ट्रेन्ट ७७२ बी’ इन्जिनसहित एक हजार घन्टाभन्दा कम उडेको विमान हुनुपर्ने सर्त राखिए पनि एआरआरले नयाँ जहाज नै उपलब्ध गराउने भएको छ ।  निगमले खरिद गर्ने जहाजमा २–२–२ फम्र्याटमा ४० देखि ६० इन्चसम्मको पिच भएका १२ देखि १८ सम्म बिजनेस क्लास, २–४–२ फम्र्याटमा ३० देखि ३६ इन्चसम्मको पिच भएका इकनोमी क्लासका सिटसहित जम्मा २५० देखि २८० सम्म सिट हुनेछन् । 

 विमान आएपछि जापान कोरिया, अस्ट्रेलिया, सिंगापुर, ग्वान्जाउन उडान भर्ने निगमको तयारी रहेको छ । तर पहिलो वाइडवडीको पहिलो उडान भने कोरियाको इन्चोन एयरपोर्टमा गर्ने निगमले बताएको छ । हाल निगमले एउटा बोइङ र दुईवटा एयरबसबाट हप्तामा भारतका तीन सहरमा २०, हङकङ, बैंकक र क्वालालम्पुर ३/३ र दुबई, दोहामा ४/४ वटा उडान गरी कुल ३७ वटा उडान भर्दै आएको छ । 

 

]]>