देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शुभेच्छुक संस्था रहेन सांस्कृतिक संघ

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघको दोस्रो महाधिवेशनमा तीव्र विवाद भएपछि पार्टीले हस्तक्षेप गरी नयाँ कार्यसमिति चयन गरेको छ । माघ २१ गतेदेखि सुरु भएको महाधिवेशनमा प्रतिनिधि विवादका कारण २३ गतेसम्म पनि नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न नसकेपछि पार्टीले हस्तक्षेप गरेको थियो । पार्टीले हस्तक्षेप गरी फेरि तीर्थ थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जनार्दन आचार्य, महासचिवमा दुर्गा रायमाझी, शिवशंकर रिजाल र रोशनी केसी चयन भएका छन् । बाँकी कार्यसमिति पछि चयन गर्ने बताइएको छ । महाधिवशेन प्रतिनिधि विवादका कारण निर्वाचन हुन नसकेपछि पार्टीले गठन गरेको निर्देशक समितिले आज सहमतिका आधारमा पाँचजना पदाधिकारीको टुंगो लगाएको थियो ।

कार्यसमितिका बाँकी पदाधिकारी तथा सदस्य गरी ८० जनाको चयन सहमतिका आधारमा छिट्टै गरिने बताइएको छ ।  उद्घाटनको तीन दिनसम्म पनि महाधिवेशन हुन नसकेपछि महाधिवेशन प्रतिनिधिहरू तरुण दलको महाधिवेशनको जस्तै चयन हुने देखेर फर्केका थिए । प्यूठान, म्याग्दी, मुस्ताङलगायतका आठ जिल्लामा महाधिवेशन प्रतिनिधिको विवाद देखिएको थियो । विवाद भएपछि एउटा समूहले निर्वाचन कार्यक्रम सुरु भए पनि महाधिवेशन बहिष्कार गर्ने घोषणा गरेको थियो । त्यसपछि विवादका बीचमा पार्टीले हस्तक्षेप गर्ने क्रममा बहिष्कार गरेको पक्षले एक महिनापछि महाधिवेशन गराउने सभापति शेरबहादुर देउवासँग आग्रह गरेका थिए । तर देउवाले महाधिवेशन गर्न अस्वीकार गरेपछि पार्टीका विभिन्न गुटलाई भागबन्डा गरी नेतृत्व चयन गरिएको थियो । जसअनुसार सभापति देउवा पक्षलाई वरिष्ठ सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई भाग लगाएर सहमति गरिएको बताइएको छ । 

यसैबीच संघको अध्यक्ष पदका प्रत्याशी सुष्मा कार्कीले लोकतान्त्रिक प्रणालीमा सर्वसम्मत कायम गर्ने नाममा सम्बन्धित उम्मेदवारलाई परामर्श नगरिकन पदाधिकारी घोषणा गरेकाले त्यसलाई सच्याउन पार्टीका शीर्षस्थ नेतृत्वलाई आग्रह गरेकी छन् । उनले एक साताभित्र सो अधिवेशनलाई केन्द्रीय नेतृत्वले निर्वाचनको प्रक्रियामा नलगिएमा आफू न्यायका लागि अदालतमा जाने चेतावनीसमेत दिएकी छन् ।

सर्वसमम्त नेतृत्व चयन गरेपछि बसेको संघको बैठकले महाधिवेशनमा पार्टीले हस्तक्षेप गरेका कारण संघ अब शुभेच्छुक संस्था हुन नसक्ने ठहर गरी भ्रातृ संगठनको मान्यता दिनका लागि पार्टीसंग आग्रह गर्ने भएको छ । संघका वरिष्ठ उपाध्यक्ष जनार्दन आचार्यले पार्टीका शुभेच्छुक संस्था स्वतन्त्र हुने भएकाले महाधिवेशनमा पार्टीले हस्तक्षेप गरेका कारण शुभेच्छुक संस्थाको मान्यता विपरीत भएकाले भ्रातृ संस्थाको मान्यता दिनमा केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरेको छ । यसका साथै पहिलो बैठकले स्थानीय निर्वाचनलाई मध्यनजर राख्दै जिल्ला समितिमार्फत संघका सबै क्षेत्रीय समितिलाई स्थानीय चुनावको वातावरण बनाउन र पार्टीको पक्षमा प्रचारप्रसारमा लाग्ने निर्णयसमेत गरेको वरिष्ठ उपाध्यक्ष आचार्यले जानकारी दिए ।

 

]]>