देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विमानस्थलबाट सुन तस्करीको नयाँ रहस्य

देशान्तर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन पक्राउ परेको काण्ड सेलाउन नपाउँदै एक साताअघि फेरि डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेको समाचार बाहिर आयो । तर, त्यही घटनालगत्तै विमानस्थलमै भएको अर्को सुन तस्करीको काण्ड भने यतिबेलासम्म गुपचुप राखिएको छ । प्रहरीले अहिलेसम्म यो घटना किन गुपचुप राखेको छ, खोजीको विषय बनेको छ । 

घटना गत बुधबारको हो । बुधबार बिहान टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो । जहाज अवतरण गरेलगत्तै दुई बर्दिधारी प्रहरीले एक व्यक्तिलाई स्कर्टिङ गर्दै टर्किस विमानस्थलसम्म पुर्‍याए । टर्किस एयरलाइन्सबाट ओर्लिएका एक व्यक्तिले एउटा ब्रिफकेस ती व्यक्तिलाई सुम्पिए । ब्रिफकेस लिएर ती व्यक्ति विमानस्थलको शौचालयमा प्रवेश गरे । शौचालयबाट निस्किएलगत्तै उक्त व्यक्तिलाई सिभिल ड्रेसमा आएका प्रहरीले नियन्त्रणमा लिए । नियन्त्रणमा लिएको व्यक्तिको हातबाट करिब एक किलो जति वजनको सुनको बाला बरामद गरियो । तर, त्यतिन्जेलसम्ममा उनले शौचालय छिराएको ब्रिफकेस भने गायब भइसकेको थियो । हाल उक्त व्यक्तिलाई प्रहरीले महानगरीय प्रहरी प्रभाग गौशालामा राखेको छ । तर अहिलेसम्म पनि उक्त घटना प्रहरीले बाहिर ल्याएको छैन । 

ती पक्राउ परेका व्यक्ति हुन् बुद्ध एयरका लोडर हेड भरत सिलवाल । सिलवाल बुद्ध एयरमा पुराना कर्मचारी हुन् । पदले लोडर मात्र भए पनि उनको चुरीफुरी र पहुँच हेर्दा एयरपोर्ट सुरक्षा प्रमुखको भन्दा कम नभएको जानकारहरू बताउँछन् । उनी त्यस्ता लोडर हुन् जसले विमानस्थल भित्र १ देखि १० नम्बरसम्मको पास पाएका थिए । अर्थात् विमानस्थलभित्र जहाँसुकै प्रवेश गर्न पनि उनलाई छुट थियो । र लामो समयदेखि ब्रिफकेस बोक्ने काममा उनी सक्रिय रहेको स्रोत बताउँछ । 

बुद्ध एयरको कर्मचारी वृत्तमा मालिक सुरेन्द्रबहादुर बस्नेतका प्रिय भनेर कहलिएका सिलवाल सिलवाललाई त्यस्तो सुविधा कसरी प्राप्त भयो, एयरपोर्ट सुरक्षाका प्रहरीले जवाफ दिन सकेका छैनन् । यतिमात्रै होइन सिलवाललाई विमानस्थलमा सुरक्षार्थ रहेको सैनिक गणको समेत विशेष निगाह रहेको बुझिएको छ । स्रोतका अनुसार सिलवाल विमानस्थल प्रवेश गर्न बढीजसो पेप्सिकोलातर्फ रहेको सेनाको १० नं. गेटको प्रयोग गर्थे । सिलवालकै इसारामा सैनिक गेटबाट प्रवेश पास नभएका व्यक्तिहरूलाई पनि विमानस्थलभित्र प्रवेश दिने गरिएको स्रोत बताउँछ । सिलवालको इसारामा केही व्यक्तिहरू सेनाको १० नं गेटबाट बुद्ध एयरको ह्यागरसम्म जाने र त्यहाँबाट केही समान बोकेर फेरि सोही गेटबाट बाहिर निस्कने गरेको स्रोतले बतायो । 

गत माघ २५ गते बुद्ध एयरले फ्रान्सबाट करिब एक अर्ब लगानीमा खरिद गरेको नयाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । समान्यतया विदेशबाट आएको जहाजभित्र सामान रहे, नरहेको सुरक्षा तथा भन्सार जाँच गर्नुपर्ने हुन्छ । तर स्रोतले जनाएअनुसार त्यसदिन उक्त जहाजभित्र कुनै सुरक्षाकर्मी जाँच गर्न गएनन् । जहाज सिधै बुद्ध एयरको ह्यांगरमा लगियो । ह्यांगरमा पुर्‍याइएको केही समयपछि जहाजबाट केही पोका समानहरू निकालियो । अनि ती समानहरू सेनाको पेप्सिकोलातर्फको गेटबाट बाहिर निकालियो । ती पोकाभित्र के समान थिए अहिलेसम्म पनि रहस्यकै गर्भमा छ । लोडर भरत सिलवालकै अगुवाइमा बाहिर निकालिएका ती सामानहरूको सेनाले जाँच गर्न पनि उचित नठानेको स्रोतले बतायो । 

यतिबेला सिलवाल पक्राउ त परेका छन् । तर, उनको पक्राउलाई अहिलेसम्म प्रहरीले गुपचुप राखेको छ । सुन पक्राउपरेपछि सधै पत्रकार सम्मेलन गरेर आफ्नो पौरख उजागर गर्ने प्रहरीले सिलवाल पक्राउको घटना भने बाहिर ल्याउन नचाहनु आफैमा रहस्यको विषय बनेको छ । 

 

]]>