देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्यालसँग अख्तियारको बयान गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालसँग आइतबार बयान लिएको छ ।

अर्यालले बुझाएको सम्पत्ति विवरणमा चित्त नबुझाएको अख्तियारले आइतबार उनलाई बयानका लागि डाकेको हो । डीएसपी हुँदादेखि नै गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । त्यसक्रममा अर्यालले दुई महिनाअघि १३ पाने सम्पत्ति विवरण अख्तियारमा बुझाएका थिए । अख्तियार स्रोतका अनुसार अर्यालले आँपको बगैंचाको आम्दानी देखाएका थिए । त्यस्तै दाइजोका रूपमा केही सम्पत्ति आर्जन गरेको दाबी पनि गरेका थिए ।

अकुत सम्पत्ति आर्जनकै आरोपमा अख्तियारले सचिव गजेन्द्र ठाकुर, काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेसँग पनि बयान लिएको छ । उनीहरूको बयान जारी रहने अख्तियार स्रोतले जनाएको छ ।

ट्रान्सफर्मर प्रकरणमा फेरि छानबिन

अख्तियारले बहुचर्चित ट्रान्सफर्मर अनियमितता प्रकरणमा फेरि छानबिन सुरु गरेको छ । विवादास्पद प्रमुख आयुक्त लोकमानसिंह कार्कीका पालामा तीनवटा मुद्दा चलेर अस्वाभाविक रूपमा रोकिएको फाइलमाथि ४ वर्षपछि फेरि छानबिन सुरु भएको हो । छानबिनका क्रममा अख्तियारले आइतबार पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसहित ३ जनासँग बयान लिएको अख्तियार उच्च स्रोतले बतायो ।

‘गुणस्तरहीन ट्रान्सफर्मर खरिद प्रकरणमा मुद्दा चलेको अर्को महिनामा नै यी पदाधिकारीले गैरकानुनी रूपमा आर्बिटेसन (मध्यस्थता) लगायतको निर्णय गरी राज्यकोषमा नोक्सानी पुर्‍याएको अनुसन्धानका क्रममा भेटियो,’ अख्तियार स्रोतले कान्तिपुरसित भन्यो, ‘उनीहरूको बयान चलिरहेको छ । उनीहरूले आफ्नो कामको औचित्य पुष्टि गर्न नसके भ्रष्टाचारको आरोप सामना गर्नुपर्नेछ ।’

अख्तियार स्रोतका अनुसार आइतबार ऊर्जा सचिवका हैसियतले नेपाल विद्युत् प्राधिकरणको अध्यक्ष भएका क्षत्रीसहित पूर्वसचिव विश्वप्रकाश पण्डित र प्राधिकरणका पूर्वकार्यकारी निर्देशक अर्जुन कार्कीसँग बयान लिइएको छ । पण्डित ऊर्जा सचिव हुँदा प्राधिकरण बोर्डमा थिए । २०७० भदौ २९ मा ट्रान्सफर्मर अनियमितता प्रकरणमा मुद्दा चलाउने निर्णय अख्तियारले गरेकामा अर्को महिना नै प्राधिकरणबाट ‘आर्बिटेसन’ को निर्णय भएको थियो । अर्को वर्ष क्षत्रीले त्यस्तै विवादास्पद निर्णय गरेका थिए । विवादित निर्णयका कारण करिब ३ करोड रुपैयाँको हाराहारीमा अनियमितता भएको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

कार्कीको संरक्षण 

लोकमानसिंह कार्की अख्तियार प्रमुख हुनासाथ दायर भएको ट्रान्सफर्मर खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गत चैतमा विशेष अदालतले गर्‍यो । चारवटा भ्रष्टाचार मुद्दामा अख्तियारले एक अर्ब ६ करोड रुपैयाँ बिगो मागदाबी गरेकामा विशेष अदालतले ४६ करोड १७ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको थियो । तर झन्डै आधा दर्जन टेन्डर र खरिदको फाइलमा हात हालेको अख्तियारले अर्जुन कार्की मुछिएको घटनामा भने फाइल खोलेको थिएन ।

सबैभन्दा बढी चुहावट भएको ट्रान्सफर्मर खरिद प्रकरणको फाइल ४ वर्षदेखि अख्तियारमा थन्किएको छ । भारतीय कम्पनी एसभीआरबाट खरिद भएको ६४० थान ट्रान्सफर्मर र त्यसमा भएको अनियमिततामा तत्कालीन कार्यकारी निर्देशक कार्की जोडिएका थिए ।

छानबिनमा परेकामध्ये थाइल्यान्डको सहवान्त र चीनको हुवावे सनलाइट कम्पनीको ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुद्दा चलाएको थियो । सबैभन्दा बढी विद्युत् चुहावट र अनियमितता भएको भनी ल्याब परीक्षणबाट प्रमाणित भएको एसभीआर कम्पनीको टेन्डरका क्रममा भएको अनियमितता छानबिन भएको थिएन ।

यही घटनामा सोमबार प्राधिकरणका सञ्चालक समितिका पदाधिकारी सन्तोषनारायण श्रेष्ठ, लक्ष्मण अग्रवाल, मनोज मिश्र, रामचन्द्र पाण्डे र विवेक तातेडसँग बयान लिने योजना रहेको अख्तियार स्रोतले बतायो ।