काठमाण्डौ
सामान्य प्रशासन मन्त्रायलले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन नियमावली–२०७४’ को मस्यौदा तयार पारेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन ऐन प्रमाणीकरण गरेपछि मन्त्रालयले समायोजन नियमावलीको मस्यौदा बनाएको हो । तयार पारिएको मस्यौदा मन्त्रालयले परामर्शका लागि अर्थ र कानुन तथा न्याय मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी गराए ।
नियमावलीमा संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि आवश्यक दरबन्दी तथा संगठन संरचना तयार पार्नका लागि समिति गठन गर्ने, स्वेच्छिक अवकाश लिने कर्मचारीलाई सेवा–सुविधा, ६ महिनाभित्र संगठन संरचना तयार पारी कर्मचारी समायोजन गर्ने कुरा उल्लेख गरिएको सहसचिव समेत रहेका न्यौपानेले बताए ।
नियमावलीमा कुन तहमा कति कर्मचारी रहने गरी संगठन संरचना तयार पार्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गर्नेसमेत उल्लेख गरिएको छ । नियमावलीमा तीन महिनाभित्र स्वेच्छिक अवकाशमा जानेरनजाने कर्मचारीको व्यक्तिगत वितरण संकलन गरिने उल्लेख रहेको छ । यस्तै, कार्यरत् पदको ज्येष्ठता, संघ, प्रदेश र स्थानीय तहको रोजाइ तथा स्थायी बसोबासका आधारमा कर्मचारी समायोजन गरिने नियमावलीमा उल्लेख छ । प्रवक्ता न्यौपानेले नियमावलीलाई चाँडै नै ल्याइ समायोजनको कार्य थालनी गरिने बताउँदै नियमावली ल्याइसकेपछि ६ महिनाभित्रमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरिने स्पस्ट पारे । सरकारले असोज २२ गते कर्मचारी समायोजनसम्बन्धी ऐन जारी गरेको हो
प्रतिक्रिया