काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्र्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । आज बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसैबिच,राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।
यसैगरी,उपराष्ट्रपति नन्दबहादुर पुनले पनि छठ पर्वको पावन अवसरमा शुभकामना दिदै पवित्र छठ पर्वको माध्यमबाट नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र बलियो एकता अभिवृद्धि हुँदै जाने बताए ।
यस्तै, छठ पर्वको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले छठ प्रेम, स्नेह र समाजिक सद्भाव बोकेको नेपालीहरुको महान चाड भएको बताउँदै देउवाले यो पर्व तराईमा मात्र नभएर हिमाल, पहाड र विधि सांस्कृतिक धनी सबै नेपालीले अपनत्व गरेको पर्वको रुपमा विकसित भएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया