काठमाडौं । पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने जिल्लामा उम्मेदवारी दर्ता गराएका दलहरु चुनावी घोषणापत्रको तयारीमा जुटेका छन् । गत आइतबार मनोनयन दर्ता भए लगत्तै दलहरुले चुनावी घोषणा पत्र निर्माणलाई तीव्रता दिएका हुन् ।
सत्तारुढ नेतृत्वकर्ता दल नेपाली कांग्रेसले घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिएको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सभापति शेरबहादुर देउवासहित मस्यौदा निर्माण समिति र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यबीचको बैठकले मस्यौदालाई अन्तिम रुप दिएको हो । बैठकबाट पारित ६४ पृष्ठ लामो घोषणा पत्र छपाईको काम आजबाटै सुरु हुने कार्यलय सचिव प्रेम केसीले जानकारी दिए ।
नेता महेश आचार्य संयोजकत्वको मस्यौदा निर्माण समितिले विकास, स्थायित्व र समृद्धिको खाकासहितको प्रारम्भिक मस्यौदा छलफलका लागि बैठकमा प्रस्तुत गरेको थियो । घोषणापत्रमा कांग्रेसले आफ्नो नेतृत्वमा संविधान जारी भएको भन्दै बहुमत दिन मतदातामा आग्रह गर्ने भएको छ ।
कांग्रेसको नेपाली कंग्रेसको सरकार, लोकतन्त्र राष्ट्रिय एकता र विकासको आधार चुनावी नारा तय गरेको छ । यसैबीच कांग्रेसले आगामी मंसिर १० र २१ मा गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार समिति गठन गरेको छ । संसदीय बोर्डका सदस्य समेत रहेका बालकृष्ण खाँडलाई प्रचार समिति संयोजक तोकेपनि कांग्रेसले अन्य सदस्यबारे भने टुंगो लगाएको छैन् ।
प्रतिक्रिया