काठमाडौं । नेपाली कांग्रेसले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न आन्तरिक गृहकार्य सुरु गरेको छ । केही दिनभित्रै निर्वाचन घोषणापत्र ल्याउने तयारीमा जुटेको कांग्रेसले नेता बालकृष्ण खाँणको संयोजकत्वमा प्रचार समिति गठन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकसँग चुनावी तालमेल हुने भएपछि समानुपातिक सूचीमा परेका खाँणको संयोजकत्वमा कांग्रेसले प्रचार समिति गठन गरेको हो ।
समितिमा समानुपातिक सूचीमा परेका अन्य नेतालाई समेटेर समिति गठन गरिएको नेता प्रकाशशरण महतले जानकारी दिनुभयो । महतका अनुसार कांग्रेसले अन्य समिति पनि बनाएर कांग्रेस चुनावमा जुटने तयारी गरिरहेको छ भने घोषणापत्र २÷४ दिनभित्रै सार्वजानिक गर्ने तयारीमा छ ।
पार्टी नेता महेश आचार्यको संयोजकत्वमा गठित समितिले घोषणापत्र पहिलो मस्यौदा तयार गरेको छ । पार्टी सभापतिसहितका नेतासँग समितिले मंगलबार छलफल गरेको छ । नेताहरूका सुझाव समेटेर केही दिनभित्रै घोषणापत्रलाई अन्तिम रूप दिइने संयोजक आचार्यले जानकारी दिए ।
कांग्रेसले पार्टीको घोषणापत्रमा पार्टी स्थापनादेखि हालसम्म गरेका आन्दोलन, विकास निर्माण र सामाजिक परिवर्तनमा पु¥याएको योगदानका साथै अब के गर्छ भन्ने विषय समेट्नेछ ।
त्यस्तै, कांग्रेसले दोस्रो चरणमा निर्वाचन हुने जिल्लाको उम्मेदवार छनोट बुधबारदेखि सुरु गर्नेछ । उसले बिहान संसदीय समितिको बैठक बोलाएको छ भने बिहान १० बजे नै चुनावी तालमेल गर्ने दलहरुसँग सिट बाँडफाँटका विषयमा बैठक बोलाएको हो ।
तालमेल गर्ने दलहरुसंगको छलफलसंगै कांग्रेसले दोस्रो चरणमा चुनाव हुने क्षेत्रका लागि टिकट वितरण गर्न आजबाट छलफल थाल्ने भएको छ ।
प्रतिक्रिया