देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सूर्य उपासनाको महापर्व छठको आज पहिलो दिन

देशान्तर

काठमाडौँ । चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको आज पहिलो दिन बिबिध कार्यक्रम गरी मनाइदैछ । बिहान स्नानपछि लौका, दाल र भात खाइ तराई–मधेसलगायत मुलुकभरका ब्रतालुले यो पर्व सुरु गरेका छन् ।

उनीहरु अनुकुलता हेरी घरमै वा नजिकैको जलाशय किनारमा नुहाइ चोखिएका छन् । यो विधिलाई स्थानीय भाषामा ‘नहा खा वा नहाए खाए’ भनिन्छ । चार दिनसम्म मनाइने यसलाई पूर्णतया शाकाहारी पर्वका रुपमा लिने गरिन्छ ।

पूर्णरुपले उपवास बसेका ब्रतालुले दोस्रो दिन बुधबार साँझ लिपपोत गरिएको एक कोठामा केराको पात ओछयाएर त्यसमाथि प्रसादको रुपमा खिर, पुरी र केरा राखी मौन पुजा गर्छन् । स्थानीयले यसलाई खरना भन्छन् ।

मधेसतिर यो पर्वकै प्रयोजनकोलागि निर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा यी चढावा तयार पारिन्छ । यो पुजा सम्पन्न भएपछि ब्रतालुले आफू पनि प्रसाद खान्छन् । परिवारजन, छरछिमेक एवं पाहुनालाई समेत बाँडछन् ।

लोक आस्थाको यो पर्वको तेस्रो दिन बिहीबार बिहानदेखि गहुँ एवं चामलको शुद्ध पिठोबाट क्रमशस् चर्चित मिष्ठान ठेकुवा, पुरी एवं भुसुवा बनाउँछन् । यो पर्वको महत्वपूर्ण दिन हो जसको ब्रतालुलगायत सबैले व्यग्र प्रतिक्षा गरिरहेका हुन्छन् । प्रसाद तयार पार्ने कार्यमा मुख्य उपासकलाई परिवारजन र छरछिमेकले सहयोग गरिरहेका हुन्छन् । मुख्यतस् घरका पुरुष सदस्य यतिखेर घाट सिंगार्न एवं बजारबाट ताजा फलफुल र तरकारी ल्याउनमा व्यस्त हुन्छन् ।

प्रसाद एवं पुजन सामग्री तयार भएपछि घरको आँगनलाई अपराहन लिपपोत गरी एवं जल छर्केर चोख्याइन्छ । नांग्लो र ढाकीलाई फिजाएर त्यसभित्र ठेकुवा, भुसुवा, पुरी खाजा, गेडागुडी, मौसमी फलफुल एवं तरकारी राखिन्छ । ब्रतालु एवं परिवारजनले यी सबै सामग्रीको बन्दोबस्ती पहिलेदेखि गरिसकेका हुन्छन् ।

घरमै एक पटक पुजा गरेपछि ती सबै सामग्रीलाई ढाकीमा राखेर बाँधि माथितिर एउटा दियो बालिन्छ । ब्रतालुको अगुवाईमा परिवारजन ढाकी एवं अन्य विविध पुजन सामग्री बोकी छठको लोक गीत गाउँदै आफूलाई पायक पर्ने पोखरी वा नदी किनार ९घाट० तिर लाग्छन् । परिवारजन, स्थानीयवासी एवं सहयोगीले केराको बोट, दियो एवं बत्तीले घाटलाई झकिझकाउ पारेका छन् ।

पूर्व निर्धारित पुजन थलोमा पुगेपछि ती सम्पूर्ण पुजन सामग्रीलाई पुनः फिजाएर राखिन्छ । नांग्लो, ढाकी र वरिपरि दियो तथा धूप बालिन्छ । त्यसपछि मुख्य ब्रतालु अस्ताइरहेको सूर्यतर्फ मुख फर्काइ जलाशयमा उभिने परम्परा छ ।

सहयोगी एवं परिवारजनले उनको हातमा पालैपालो नांग्लोसहितको पुजन सामग्री राख्दै त्यसमाथिबाट दूधरजलको अर्घय दिन्छन् । यो विधिको समापनपछि कतिपय ब्रतालु एवं परिवारजन घाटमै बस्छन् भने कतिपय घर फर्कन्छन् । यसलाई सझिया ९साँझको ० घाट वा सझिया अर्घय भनिन्छ । यो साँझ घरदेखि घाटसम्म दिपावली मनाइन्छ । घाटमा कुस्ती, लोक नृत्य, नाटक मञ्चन एवं विविध साँस्कृतिक कार्यक्रमको आयोजन हुन्छ ।

चौंथो तथा अन्तिम दिन शुक्रबार बिहान ब्रतालुसहित सम्पूर्ण परिवार जलाशय किनारमा पुजन सामग्रीसहित भेला हुन्छन् । साँझकै विधिझैं बिहान उदाइरहेको सूर्यलाई सम्पूर्ण पुजन सामग्रीसहित अर्घय दिएपछि यो महापर्वको समापन हुन्छ । यसलाई भोरका घाट वा भोरका अर्घ भनिन्छ ।