देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी युद्धको पीडक अब एमाले पनि

देशान्तर

काठमाडौं । दुईवटा कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रका बीचमा चुनावी तालमेल हुँदै पार्टी एकता गर्ने घोषणा गर्ने सहमति भएसँगै नेपाली राजनीतिमा एउटा प्रश्न उठ्न थालेको थियो । त्यो भनेको माओवादीले १७ हजार नेपालीको ज्यान जाने गरी चलाएको हिंसात्मक युद्धलाई अब एमालेले कसरी सम्बोधन गर्छ वा माओवादीले त्यो हिंसात्मक युद्धलाई इतिहास बनाउँछ भन्ने विषय बहसमा आएको थियो । तर आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि घोषणापत्रमा एमालेले माओवादीको हिंसात्मक युद्धलाई जनयुद्धका रूपमा स्वीकार गरेको छ । एमाले–माओवादीको संयुक्त घोषणापत्रमा जनआन्दोलनलाई भन्दा माओवादी जनयुद्धलाई प्राथमिकतामा राखिएको छ । सुरुमा माओवादी जनयुद्ध भनेर त्यसपछि मात्र जनआन्दोलन अनि जनजाति आन्दोलन मधेस आन्दोलन भनिएको छ ।

एमालेले माओवादीको हिंसात्मक युद्धलाई जनयुद्धका रूपमा स्वीकार गरेसँगै अब एमालेले त्यो युद्धताका भएका मानवीय अपराधको समेत माओवादी सरह भागीदार हुनुपर्ने राजनीतिक विश्लेषकहरूले बताउन थालेका छन् । उनीहरूले एमालेले माओवादीको हिंसात्मक युद्धलाई जनयुद्ध भनेर स्वीकार गरेको अवस्थामा अब एमालेले त्यो युद्धको पीडामा परेका नेपाली नागरिकहरू एउटा पीडक एमाले पनि बनेको विश्लेषण गर्न थालेका छन् ।  माओवादी जनयुद्धलाई सकारात्मक रूपमा परिभाषित गर्न एमाले सहमत भएपछि माओवादी केन्द्र पनि एमालेले अंगीकार गर्दै आएको बहुदलीय जनवादलाई सारभूत रूपमा स्वीकार गरेको छ । पार्टी एकता भइनसके पनि एकै निर्वाचन घोषणापत्रमार्फत निर्वाचन लड्ने योजना बनाएका एमाले–माओवादी केन्द्र निर्वाचन घोषणापत्र मस्यौदासम्बन्धी कार्यदलमार्फत माओवादी जनयुद्ध र बहुदलीय जनवादलाई हेर्ने दृष्टिकोणमा समान धारणा बनाएको बताइएको छ ।

मस्यौदा घोषणापत्रको बुँदा नं १ अन्तर्गत ‘श्रद्धाञ्जली, संकल्प’ खण्डमा माओवादी जनयुद्ध सम्बन्धमा भनिएको छ– ‘हाम्रो देश आजको बिन्दु त्यसै सहज रूपमा आइपुगेको होइन । यसका लागि भएका ससस्त्र र शान्तिपूर्ण संघर्ष क्रममा हजारौं योद्धाले बलिदान गरेका छन् । तसर्थ माओवादी जनयुद्ध, अनआन्दोलन, मधेस आन्दोलन जनजाति आन्दोलत तथा सवै उत्पीडित वर्गले चलाएका आन्दोलनका सहिदप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछांै ।’  एमालेले यसअघि एमाले माओवादी जनयुद्धलाई नकारात्मक रूपमा चित्रण गर्दै आएको थियो । २०६५ माओवादीसँगै सरकारमा रहेका बेला भएको आठौं महाधिवेशनबाट पारित र राजनीतिक प्रतिवेदनमार्फत माओवादी जनयुद्धलाई कथित जनयुद्ध र उग्रवामपन्थी भड्काउ भनिएको थियो भने नवौं महाधिवेशनले माओवादी उग्रवामपन्थबाट मुक्त हुँदै गरेको भए पनि ‘रूपान्तरण प्रक्रिया पूरा नभएको’ विश्लेषण गरेको थियो । रूपान्तरणका लागि माओवादीलाई सहयोग गर्नुपर्ने बताउँदै नवौं महाधिवेशनले रूपान्तरणको मात्राले उसँगको पार्टीको सम्बन्धको स्वरूप तय गर्ने पनि बताएको थियो ।

एमालेका सातौं महाधिवेशनले माओवादी गतिविधिका कारण एमाले कम्युनिस्ट आन्दोलनलाई बदनाम गरेको विश्लेषण गरेको थियो । महाधिवेशनबाट पारित राजनीतिक प्रस्तावमा कथित जनयुद्ध शब्दावली प्रयोग गर्दै भनिएको थियो, उग्रवामपन्थी चिन्तन, जडसूत्रवाद, अराजकतावादले ग्रस्त नेकपा (माओवादी) ले कम्युनिस्ट पार्टीका नाममा कम्युनिस्ट आन्दोलन र विचारलाई नै बदनाम गरेको भन्ने उल्लेख थियो । नेपालमा शान्तिपूर्ण रूपले कम्युनिस्ट आन्दोलन अघि बढ्दै राष्ट्रिय राजनीतिमा समेत निर्णायक भूमिका खेल्न अग्रसर रहेको बेलामा नेकपा (माओवादी) को भूमिका कम्युनिस्ट आन्दोलनका साथै मुलुककै लागि समेत हानिकारक देखिएको बताएको थियो ।
विगतमा माओवादीलाई वामपन्थी आन्दोलनको बदनाम गर्ने शक्ति भन्ने एमालेले अहिले घोषणापत्रमा जनयुद्धलाई स्वीकार गरेपछि सो आन्दोलनमा क्रममा भएका पीडितहरूको पीडक भएको कुरा पनि स्वीकार्नुपर्ने राजनीतिक क्षेत्रमा चर्चा चल्न थालेको छ ।