काठमाडौं । नेपाली कांग्रेसका तीन सांसदले विद्युतीय मुद्रा प्रणाली लागू गर्न माग राख्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव सोमबार संसदमा दर्ता गराएका छन्। उनीहरुले दर्ता गरेको प्रस्ताव अनुसार काम गर्न संसद र सरकार राजी भए नेपालमा केही वर्षमै विद्युतीय पेमेण्ट लागु भई हरेक कारोबार पारदर्शी हुनेछ । यसबाट भ्रष्टाचार शून्यमा झार्न सकिन्छ ।
कांग्रेसका सांसद धनराज गुरुङ, बद्री पाण्डे र जीवन परियारले विद्युतीय मुद्रा प्रचलनमा ल्याउँदा व्यक्तिको आर्थिक कारोबार पारदर्शी हुने उल्लेख गर्दै प्रस्ताव दर्ता गराएका हुन् । राज्यका सबै निकायमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्ने उपाय हुने दाबी गर्दै नोट मुद्राको प्रचलनलाई विद्युतीय मुद्राले पूर्णरुपमा प्रतिस्थापना गर्ने विकल्प रहेको दावी उनीहरुले गरेका छन्।
उनीहरुले सिक्का वा नोट मुद्राको सट्टा बैंक कारोबारबाट हुने र त्यसले व्यक्तिको तलब, पेन्सन, लाभांश, विदेशबाट पठाएको रकम, ऋण लिएको तथा अन्य आम्दानीको हिसाबकिताब विद्युतीय ट्रान्सफर अर्थात् क्रेडिट वा डेविट कार्डको प्रयोगबाट हुनेछ । जसले गर्दा प्रत्येक व्यक्तिको आम्दानी र खर्च पारदर्शी हुने भएकाले कुनै किसिमको भ्रष्टाचारजन्य कार्यको नियन्त्रण भई लोककल्याणकारी राज्य स्थापना गर्न सकिने उनीहरुको दाबी छ।
‘मुलुकको समृद्धिको लागि भ्रष्टाचारको जालोलाई जरैदेखि उखेलेर फाल्न आवश्यक छ । यसका लागि नोट मुद्राको प्रचलनलाई विद्युतीय मुद्राले प्रतिस्पथापन गर्नुपर्छ’, प्रस्तावमा भनिएको छ।
प्रतिक्रिया