देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोरङ काँग्रेसद्वारा २२८ उम्मेदवारको नाम केन्द्रमा सिफारिस

देशान्तर

विराटनगर । नेपाली काँग्रेस मोरङले प्रतिनिधिसभा, प्रदेश र समानुपातिक गरी २२८ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। ६ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश रहेको मोरङ जिल्लाका लागि नेपाली काँग्रेस जिल्ला कार्य समितिको शनिबार बसेको बैठकले क्षेत्र नं– १ बाट पार्टी सभापति डिगबहादुर लिम्बू र क्षेत्र नं ५ बाट अमृत अर्यालको नाममा सर्वसम्मत निर्णय गरेको छ। दुवै जना सांसद हुन्। जिल्लाका ६ वटै क्षेत्रबाट संसदीय क्षेत्र, समानुपातिक, प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि आएका नामलाई बैठकले अनुमोदन गरी केन्द्रमा सिफारिस गरिएको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए।

क्षेत्र नं १ बाट प्रत्यक्षका लागि एकमात्र डिगबहादुर लिम्बूको नाम सिफारिस गरिएको छ भने समानुपातिक र दुई वटा प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि २० जनाको नाम सिफारिस गरिएको छ। क्षेत्र नं २ बाट सुजाता कोइराला, डा मीनेन्द्र रिजाल र काशिरामलाई सिफारिस गरिएको छ।

सो क्षेत्रबाट समानुपातिकसमेत गरी ३७ जनाको नाम सिफारिस गरिएको छ। क्षेत्र नं ३ बाट सुनीलकुमार शर्मा, मानबहादुर लिम्बू, भौसीदेवी खवास र समानुपातिकसमेत गरी २८ जना, क्षेत्र नं–४ बाट महेश आचार्य, दिलीप गच्छदार र डा मीनेन्द्र रिजाल र समानुपातिकसमेत गरी ३५ जनाको नाम परेको छ। त्यसैगरी क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ एकमात्र अमृत अर्यालको नाम सिफारिस गरिएको छ भने समानुपातिकसमेत गरी ३९ जना र क्षेत्र नं ६ बाट डा शेखर कोइराला, रमेशजङ्ग रायमाझी, डा डीला संग्रोला र अशोक कोइरालाको नाम सिफारिस गरिएको छ। उनीहरुसमेत गरी सो क्षेत्रबाट ६९ जनाको नाम सिफारिस गरिएको हो।