देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुुलिदो शोधनान्तर घाटाले आर्थिक संकटको खतरा

देशान्तर

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिनामा देशको सोधनान्तर अवस्था ऋणात्मक भएको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्र नेपालले ३ अर्ब २९ करोड रुपैयाँ सोधनान्तर घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो वर्षको साउन महिनाको तुलनामा १ अर्ब १८ करोड रुपैयाँले बढी हो ।

देशको चालु खाता, पूँजी खाता र वित्तिय खातामा रहेको रकमको समग्र हरहिसाबबाट सोधानान्तर स्थिति पत्ता लगाइन्छ । राष्ट्र बैंकले यी तीनैवटा खाताको लेखाङ्कन गर्दा देशभित्र भित्रिने रकमको तुलनामा बाहिरिने रकम बढी भएमा सोधानान्तर अवस्था ऋणात्मक अर्थात घाटामा जान्छ भने देशबाट बाहिरिने रकम भन्दा भित्रिने रकम बढी भएमा सोधानान्तर बचतमा जान्छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार वैदेशिक व्यापार घाटा बढ्दै जानु, वैदेशिक लगानीमा दिइने लाभांस बढ्दै जानु, डलरको भाउ आकाशिनु, रेमिट्यान्सको बृद्धिदर घट्दै जानु र वैदेशिक अनुदानको हिस्सा कम हुँदै जानु लगायत कारणले नेपालको सोधानान्तर स्थिति ऋणात्मक भएको हो । दुई वर्षअघिसम्म बचतमा रहेको नेपालको सोधनान्तर स्थिति निरन्तर ऋणात्मक अवस्थामा पुगेको यो पहिलोपटक भने होईन ।

देशको सोधनान्तर ऋणात्मक भएपछि त्यसको सोझो असर वैदेशिक विनिमय सञ्चितिमा पर्छ । सामान्य सोधानान्तर घाटाले ठूलो असर नपर्ने भएपनि लामो समयसम्म सोधनान्तर घाटा भइरहेमा देशले विदेशी मुद्रामा भुक्तानी गर्ने क्षमता गुमाउदै जाने राष्ट्रबैकको भनाई छ ।
राष्ट्रबैंकले सोधानान्तर ऋणात्मक देखियो भन्नुको अर्थ वैदेशिक मुद्राको सञ्चिति कमहुनु र वैदेशिक मुद्राको सञ्चिति घट्ने वित्तिकै आयातको क्षमता घट्दै जानु जनाएको छ ।

नेपालसँग अहिले १ वर्षसम्म आयात गर्न पुग्ने विदेशी मुद्राको सञ्चिति छ । अरु विकासशील तथा विकसित देशमा ३ देखि ६ महिना आयात गर्न पुग्ने विदेशी मुद्राको सञ्चिति हुन्छ । नेपालको सोधानान्तर स्थिति निरन्तर ऋणात्मक हुँदै विदेशी मुद्राको सञ्चिति तीन महिना मात्र आयात गर्न पुग्ने अवस्थामा ओर्लिए देशमा आर्थिक संकट निम्तिन सक्छ ।

अर्थबिद् डा. शंकर शर्माका अनुसार यसले नेपालको मुद्रा कमजोर बनाउँने भएकाले वैदेशिक लगानीको वातावरण कमहुने र आयात महँगो भएपछि यसबाट मूल्य बृद्धि सिर्जना प्रबल सम्भावना रहन्छ ।