काठमाडौं । कांग्रेस शीर्षका नेताहरूले एक भएर आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिनुपर्ने बताएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवालगायत अधिकांश केन्द्रीय सदस्यले वाम गठबन्धन कांग्रेसविरुद्ध मात्रै लक्षित नभई मुलुक र प्रजातन्त्रप्रतिकै खतरा रहेको धारणा राखेका थिए ।
वाम गठबन्धनलाई परास्त गर्न कांग्रेस एक भएर निर्वाचनमा होमिनुपर्ने उनीहरूको भनाइ थियो । प्रधानमन्त्री देउवाले वाम दलहरू एक ठाउँमा मिलेपछि देखिएको चुनौतीलाई अवसरका रूपमा लिनुपर्ने बताए ।
कोषाध्यक्ष सीतादेवी यादव, प्रदीप गिरी, डा. रामशरण महत, अर्जुननरसिंह केसी, महेन्द्र यादव, मीन विश्वकर्मा, भीष्मराज आङदेम्बे, वीरबहादुर बलायर, केशवकुमार बुढाथोकी, एनपी साउद, डिला संग्रौलासहितका नेताले धारणा राखेका थिए । उनीहरूले वाम तालमेलबाट एमाले र माओवादीभित्र पनि खैलाबैला भएको भन्दै आन्तरिक एकता र लोकप्रियलाई टिकट दिँदा कांग्रेसले उनिहरुलाई परास्त गर्ने बताएका छन ।
कांग्रेसले वाम तालमेलपछि विचलित नभई राष्ट्रिय एकता, लोकतान्त्रिक शासन, शान्ति–प्रक्रिया र संविधान कार्यान्वयनमा जिम्मेवारीका साथ अगाडि बढ्न प्रतिबद्ध रहेको जनाउँदै सबैसँग सहकार्य गर्ने निष्कर्ष निकालेको छ ।
अनपेक्षित र अस्वाभाविक घटनाक्रमबाट विकसित परिस्थितिमा, मुलुकमा प्राप्त उपलब्धिको संरक्षण र संवद्र्धन गर्न तथा प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराई संविधानको कार्यान्वयन तथा मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने राष्ट्रिय दायित्व र जिम्मेवारी पुनः कांग्रेसको काँधमा आइपरेको छ ठहर कांग्रेसले गरेको छ । कांग्रेसले सबै लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील राजनीतिक शक्तिहरूका बीचमा आपसी सद्भाव कायम राख्दै सहकार्य र आवश्यकता अनुसार चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय पनि गरेको छ ।
कांग्रेसले माओवादी केन्द्रको एमालेसँग हठात रूपमा गरेको चुनावी तालमेललाई अस्वाभाविक ठहर गरेको छ । वर्तमान सरकार बनाउन गठबन्धन निर्माण गर्दा भएको तीनबुँदे सहमतिलाई माओवादी केन्द्रले तोडेको आरोप लगाएको छ ।
यस्तो ध्रुवीकरणले संविधान कार्यान्वयन, रािष्ट्रय एकता र विभिन्न जाति तथा समुदायबीचको सद्भाव र विश्वासका आधारमा देशलाई समृद्धि र विकासको मार्गमा अगाडि बढाउनेभन्दा पनि विभाजनको मानसिकतालाई प्रोत्साहन गरेको कांग्रेसको निष्कर्ष छ ।
लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भावसमेतलाई कमजोर पार्नेतर्फ उन्मुख हुँदै आएको एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रूपमा धु्रवीकरणतर्फ धकेलेको छ,’ कांग्रेस निर्णयमा भनिएको छ ।
वाम गठबन्धनले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर पार्दै निरंकुशता र अधिनायकवादलाई प्रोत्साहित गरेको आरोप कांग्रेसको छ । सामाजिक सद्भाव र एकतालाई कमजोर गर्दै राष्ट्रिय एकतालाई कमजोर पार्ने, विधिको शासनमा आधारित लोकतान्त्रिक पद्धतिमार्फत देशमा समृद्धि सिर्जना गर्दै आमजनताको पहुँचमा पु¥याउने सोचलाई कमजोर पार्ने प्रवृत्तिलाई दृढताका साथ सामना गर्दै यस्तो प्रवृत्तिलाई पराजित गर्ने संकल्प कांग्रेसले गरेको छ ।
प्रतिक्रिया