देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतान्त्रिक गठबन्धनको आज देखि औपचारिक छलफल सुरु

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बन्ने ६ दलको लोकतान्त्रिक गठबन्धनले आजदेखि औपचारिक छलफल सुरु गर्ने भएको छ । कांग्रेसको आज बस्ने कार्यसम्पादन समितिको बैठक अघिनै ६ दलबाट तालमेल लगायतका बिषयमा छलफल गरी सहमति जुटाउन बनाईएको समितिले छलफल गर्ने भएको छ ।

 

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेलदेखि पार्टी एकतासम्म गर्ने सहमति गरेपछि कांग्रेसले पनि बृहत् लोकतान्त्रिक राष्ट्रवादी प्रगतिशील मोर्चा बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ । ठूला वाम दल मिलेको भोलिपल्टै बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक मोर्चा बनाउने निर्णय गरेको हो ।

 

कांग्रेस बैठकलगत्तै सभापति शेरबहादुर देउवाले वाम गठबन्धनविरुद्ध लोकतान्त्रिक गठबन्धन बनाउन साना दलहरूसँग छलफल गरेका छन् ।

कांग्रेस बैठकमा सभापति देउवाले वाम गठबन्धनविरुद्ध बृहत् लोकतान्त्रिक गठबन्धन बनाएर जानुपर्ने भन्दै सुझाब दिन सदस्यहरूलाई आग्रह गरेका थिए । ‘एमाले र माओवादी एक भएर निर्वाचनमा जाँदा हामीलाई पनि एक भएर जानुपर्ने बाध्यकारी अवस्था सिर्जना भयो,’ कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले भने, ‘यसकारण पनि हामीले बृहत् लोकतान्त्रिक, राष्ट्रवादी, प्रगतिशील गठबन्धन बनाएर जाने निर्णय गरेका हौँ ।

 

गठबन्धन बनाएर जाने विषयमा बिहीबार बैठक बसेर वक्तव्य जारी गर्ने तयारी कांग्रेसको रहेको महतले बताए । उनले हामी गठबन्धन बनाएर जाने तयारीमा जुटिसकेकाले आज बिहीबार औपचारिक वक्तव्य सार्वजनिक गर्ने बताए । संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राजपा, दुवै राप्रपा र प्रगतिशील दलसँग गठबन्धन बनाउन सहमत भएका छन ।

 

यसअघि बसेको ६ दलको बैठकले एमाले–माओवादी–नयाँ शक्तिको गठबन्धनलाई विरोधभास र अवसरवादी भनेको छ । यता,कांग्रेसनिकट कानुन व्यवसायीहरूले सरकार तत्काल अप्ठ्यारो अवस्थामा नरहेको सुझाब प्रधानमन्त्रीलाई दिएका छन् । सत्तारुढ दल माओवादी एमालेसँग चुनावी गठबन्धनमा जान सहमत भएपछि सरकार के हुन्छ भन्ने प्रश्नका बीच उनीहरूले यस्तो सुझाब दिएका हुन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार दुई राप्रपा, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकका नेतासँग छलफल गरेका छन् । वाम गठबन्धन बनेपछि लोकतान्त्रिक गठबन्धन बनाउन ६ दलले सात सदस्यीय कार्यदल गठन गरेका छन् ।

 

कार्यदलमा कांग्रेसबाट दुई, समाजवादी फोरम, राजपा, राप्रपा, राप्रपा प्रजातान्त्रिक र लोकतान्त्रिक फोरमबाट एक–एक सदस्य रहने गरी कार्यदल गठन गरिएको हो । बिहीबारसम्म सदस्य चयन भएपछि कार्यदलले चुनावमा गरिने तालमेलका आधारमा छलफल गर्ने कांग्रेस नेता डा. प्रकाशशरण महतले बताए ।

 

गठबन्धन बनाउन दुवै राप्रपा र राजपा सकारात्मक छन् । संघीय फोरम र लोकतान्त्रिकले पनि तालमेलका लागि इच्छा देखाएको नेता महतले बताए । सबै दल सकारात्मक भएपछि बिहीबारबाटै छलफल अघि महतको भनाई छ ।

छलफलमा कांग्रेसबाट देउवासहित नेता रामचन्द्र पौडेल, संघीय समाजवादीबाट उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक फोरमबाट विजयकुमार गच्छदार, राजपाबाट कमल थापा, राप्रपा प्रजातान्त्रिकबाट पशुपतिशमशेर राणा, राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेता सहभागी थिए ।