चरिकोट । मंसिरमा हुने संघ र प्रतिनिधि सभा निर्वाचनको लागि दोलखामा युवाहरुको चर्चा चल्न थालेको छ । दुई वटा क्षेत्र र एउटा केन्द्र रहेको दोलखामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तीब्र प्रतिस्पर्धा हुने देखिन्छ । संघ र प्रदेशको निर्वाचन नजिकिए सँगै टिकट हात पार्नका लागि हाल नेताहरु केन्द्रीय नेताको घरमा धाउन थालेका छन् । निर्वाचनका लागि सबैभन्दा युवाहरुको आकंक्षा बढी नै देखिएको छ ।
स्थानीय तहको निर्वाचनमा दोश्रो बनेको नेपाली कांग्रेस यो पटकको संघ र प्रदेश सभाको निर्वाचनमा जित्ने दाउमा रहेको छ । कांग्रेसले हालसम्म २०५१ सालमा क्षेत्र नम्वर १ मा स्वर्गीय नेता भीमबहादुर तामाङले एक पटक मात्र जितेका थिए । त्यस पछि लगातार हार्दै आएको दोलखा काँग्रेसमा यो पटक भने युवाहरु टिकट लिएर जित्ने दाउँमा रहेका छन् ।
हाल संघको टिकटका लागि नेपाल विद्यार्थी सघंका महामन्त्री कुन्दनराज काफ्लेको नाम चर्चामा रहेको छ । संघको टिकट पाएमा जुनसुकै हालतमा जितेर देखाउने महामन्त्री काफ्लेको भनाई रहेको छ । यस्तै संघकै टिकटका लागि पूर्व सभाषद् जिपछिरिङ लामा, पार्टी सभापति रुद्रबहादुर खड्का, पूर्वपार्टी सभापति देविप्रसाद न्यौपाने, पूर्वपार्टी सभापति उद्धबराज काफ्ले, पूर्व पार्टी सभापति ताराबहादुर कोइरालाको नाम चर्चामा रहेको छ ।
यस्तै प्रदेशको टिकटको लागि क्षेत्र नम्वर १ बाट नेपाल तामाङ संघका महासचिव एवंम युवा नेता बर्मा लामा, तरुण नेता चरित्रकुमार बम्जन(गौरब), युवा नेता भवेन्द्र कार्की, विद्यार्थी नेतृ विनिता अधिकारी लगायतको नाम चर्चामा रहेको छ । यसैगरी क्षेत्र नम्वर २ मा युवा नेताहरु इश्वर मानन्धर, केशवराज चौंलागाई , विद्यार्थी नेताहरु सन्तोष पाण्डे, राकेश श्रेष्ठ, युवा नेता च्याङा सेर्पा लगायतको नाम चर्चामा रहेको छ । उनीहरु हाल टिकट लिनको लागि राजधानीमा छुट्टाछुट्टै भेला गरिरहेका छन् ।
स्थानीय तहको निर्वाचनमा पहिलो पार्र्टी बनेको नेकपा एमालेले संघ र प्रदेशमा पनि जित हासिल गर्ने उद्धेश्यका साथ पार्र्टी भित्र टिकट मिलाउने अभियानमा लागेको छ । दोश्रो संविधान सभाको निर्वाचनमा पनि दुवै क्षेत्र जितेको एमाले लागि संघ र प्रतिनिधि सभाको निर्वाचनमा पनि जित्नको लागि रणनीति बनाइरहेको छ ।
एमालेको तर्फबाट संघको निर्वाचनको लागि सभाषद् एवंम पोलिट व्यूरो सदस्य पशुपती चौंलागाई, केन्द्रीय सदस्य एवंम सभाषद् पार्वत गुरुङ, पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलको नाम चर्चामा रहेको छ । यस्तै प्रदेश सभाको निर्वाचनमा क्षेत्र नम्वर १ बाट एमालेका अनुशासन आयोगका केन्द्रीय सदस्य शिवप्रसाद भण्डारी, युवा नेता हिरा थोकरको नाम चर्चामा रहेको छ भने क्षेत्र नम्वर २ मा लालकुमार केसी, युवा नेता बालकृष्ण शिवाकोटी लोकतान्त्री तामाङ सघंका जिल्ला अध्यक्ष धनबहादुर तामाङ, एमाले नेता भुवन शिंह थापा लगाएतको नाम चर्चामा रहेको छ ।
यस्तै पहिलो संविधान सभाको निर्वाचनमा दुई क्षेत्र जितेर पहिलो पार्टी बनेको नेकपा माओवादी केन्द्रले दोश्रो संविधान सभाको निर्वाचनमा हार बेहोर्नु परेको थियो । पहिलाको साँख जोगाउने उद्धेश्यका साथ माओवादी केन्द्र दोलखाका नेताहरु संगठन विस्तारको लागि गाउँगाउँमा पसेका छन् ।
स्थानीय तहको निर्वाचनमा तेश्रो बनेको माओवादी केन्द्रले संघको निर्वाचनका लागि उम्मेद्धवार छनौट गरिसकेका छन् । माओवादी केन्द्र दोलखाका इन्चार्ज एवंम पूर्व सभाषद देवी खड्कालाई संघको उम्मेद्धार बनाउने सहमति भएको माओवादी नेता विशाल खड्काले बताएका छन् । उनले प्रदेशका लागि पनि छिट्टै उम्मेदवारको टुङ्गो लगाउने जानकारी दिए । हाल क्षेत्र नम्वर १ मा युवा नेता विशाल खड्काको नाम चर्चामा रहेको छ भने क्षेत्र नम्वर २ मा शंकर लामा, नरबहादुर पाख्रिन, युवा नेता गोपाल पाण्डे लगायतको नाम चर्चामा रहेको छ । (अन्नुपूर्ण पोष्ट)
प्रतिक्रिया