देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि धमाधम उम्मेदवार छान्दै राजनीतिक दलहरु

देशान्तर

काठमाडौं । मुख्य राजनीतिक दलहरुले दशैंको बिदामा पनि प्रतिनीधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार छनौट प्रक्रियामा व्यस्त रहे । मुख्य राजनीतिक दलहरु स्थानीय समितिले उम्मेदवारको नाम केन्द्रमा धमाधम सिफारिस गरिरहेका छन् ।

प्रक्रिया थाल्न बुधबार कांग्रेस बैठक
कांग्रेसले प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार चयन गर्न छिट्टै संसदीय बोर्ड गठन गर्ने भएको छ । बोर्ड गठनसहितका चुनावी तयारीका लागि छलफल गर्न बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । ‘जिल्लाबाट उम्मेदवार सिफारिस भएर आउने क्रम सुरु हुँदै छ अब १८ असोजमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापतिले सम्भवतः संसदीय बोर्ड गठनका लागि प्रस्ताव गर्नुहुनेछ,’ देउवानिकट केन्द्रीय सदस्य डा। प्रकाशशरण महतले नयाँ पत्रिकासित भने, ‘बोर्ड गठनलगत्तै पार्टीले दुवै निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार चयन गर्छ ।’ कांग्रेसमा उम्मेदवारका लागि जिल्लाबाट सिफारिस आएपछि संसदीय बोर्डले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ । बोर्ड १५ सदस्ययीय हुनेछ । सभापति नै संसदीय दलको नेता भएकाले विधानअनुसार यसपटक बोर्ड १४ सदस्यीय हुने नेता महत बताउँछन् । १० र २१ मंसिरमा निर्वाचनका लागि घोषणापत्र तयारी समिति, प्रचारप्रसार तयारीसहितका विभिन्न समिति छिट्टै गठन गर्ने तयारी कांग्रेसको छ । कार्यसम्पादन समितिको बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । तर, सभापतिले आफ्नो अनुकूल बोर्डमा सदस्य चयन गर्ने र आफूनिकट नेतालाई टिकट वितरण गर्ने अभ्यास चल्दै आएकाले बोर्डमा पर्न र उम्मेदवारमा आफूनिकट नेतालाई पार्न कांग्रेसमा हानाथाप चल्नेगर्छ ।

उम्मेदवार चयनका लागि समयको दबाब
निर्वाचन तालिका अनुसार २९ असोजसम्म पार्टीले समानुपातिकतर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । साथै, तिहारको टीकाको भोलिपल्टै ५ कात्तिकमा पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्नुपर्ने भएपछि दललाई छिट्टै उम्मेदवार चयन गर्नुपर्ने दबाब छ ।  ‘२९ असोजसम्म समानुपातिक, र ५ कात्तिकमा पहिलो चरणका लागि उम्मेदवारी मनोनयन गर्नुपर्नेछ’ कांग्रेस नेता डा। प्रकाशशरण महतले भने, ‘समयको दबाब भएकाले अब हामी नियमित छलफल गरेर उम्मेदवार टुंग्याउन सक्रिय भएर लाग्छौँ ।’ महतका अनुसार समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवार एकैपटक टुंग्याउन कांग्रेसले पहल गर्नेछ । एकैपटक उम्मेदवार चयन गर्दा नेता कार्यकर्तामा असन्तुष्टि र नेताहरूको दबाब कम पर्ने भएकाले एकैपटक टुंग्याउन प्रयास हुने महत बताउँछन् ।  कांग्रेसमा १७ असोजसम्म जिल्लाबाट उम्मेदवारको सिफारिस केन्द्रलाई पठाइसक्नुपर्नेछ । तर, सोमबारसम्म जिल्लाबाट उम्मेदवारको सिफारिस आएको छैन । ‘अब मंगलबारबाट जिल्ल्लाबाट उम्मेदवारको सिफारिस भएर आउन थाल्छन्,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले  भने । कांग्रेसले १० असोजभित्र गाउँ र नगर कार्यसमितिले जिल्लालाई उम्मेदवदार सिफारिस गर्न र १३ असोजभित्र क्षेत्रीय कार्यसमितिलाई जिल्लामा उम्मेदवार सिफारिस गर्न परिपत्र गरेको थियो । तर, अझैसम्म सबै क्षेत्रीय समितिले जिल्लामा उम्मेदवारको सिफारिस गरिसकेका छैनन् ।

कांग्रेसको प्राथमिकतमा पार्टी प्रवेश गर्ने नेता
कांग्रेसले यसपटकको निर्वाचनमा लोकप्रिय र अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गर्ने नेतालाई पनि उम्मेदवार बनाउने तयारी गरेको छ । ‘निर्वाचनमा पार्टीभित्रै निरन्तर सक्रिय रहेका र लोकप्रिय नेतालाई टिकट दिने विषय प्राथमिकता छ’ महतले भने, ‘तर, पार्टीलाई बलियो बनाउन अन्य पार्टीबाट आएका नेतालाई पनि हामी टिकट दिने तयारीमा छौँ ।’ अन्य पार्टीका प्रभावशाली नेतालाई पार्टीमा प्रवेश गराएर टिकट दिने तयारी भएको दाबी उनले गरे ।

एमालेमा जिल्ला र प्रदेशबाट सिफारिस सुरु –
एमालेले धमाधम उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । अधिकांश जिल्लाबाट सोमबारै उम्मेदवार छनोट सिफारिस सुरु भएको छ । स्थायी समितिले निर्धारण गरेको विधि, प्रक्रिया र मापदण्डअनुसार सोमबारबाट प्रदेश सभा निर्वाचन समन्वय कमिटी र प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीले सुझाबसहित सिफारिस सुरु गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए । ‘सोमबार र मंगलबार प्रत्यक्ष र समानुपातिकातर्फका उम्मेदवारको नाम सुझाबसहित सिफारिस हुन्छ, श्रेष्ठले भने, ‘त्यसपछि जिल्ला कमिटी र प्रदेश हुँदै स्थायी समितिमा सबै उम्मेदवारको नाम आउनेछ ।’ १० असोजमा सम्पन्न स्थायी समिति बैठकले १६ असोजबाट छनोट प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । बैठकले १९ र २० असोजमा जिल्लाले, २२ र २३ असोजमा प्रदेशले उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाउनुपर्ने कार्यतालिका निर्धारण गरेको थियो । प्रदेश र केन्द्र दुवैमा प्रत्यक्षतर्फ एक महिलासहित तीनजना तथा समानुपातिकतर्फ एक महिलासहित हरेक प्रदेश निर्वाचन क्षेत्रबाट तीनजनाको नाम सिफारिस गर्न स्थायी समितिले निर्देशन दिएको छ । समानुपातिकबाट सांसद बनिसकेका भने दोहोरिएर पुरानै कोटामा सिफारिस हुन नसक्ने एमालेको निर्णय छ ।

हृदयस त्रिपाठीले एमालेको चिह्नबाट चुनाव लड्ने

राष्ट्रिय जनता पार्टीका सहअध्यक्ष हृदयस त्रिपाठीसहित सो पार्टीका पाँच नेता एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने भएका छन् । पार्टीबाट विद्रोह गर्दै त्रिपाठीसहित राजपाका पाँच नेताले स्वतन्त्र राजनीतिक समूहको नामबाट सूर्य चिह्न लिएर उम्मेदवार बन्ने निर्णय लिएका हुन् । एमाले महासचिव ईश्वर पोखरेल र समूहका तर्फबाट पाँच नेताले संयुक्त रूपमा जारी विज्ञिप्तिमा स्वतन्त्र समूहमा क्रियाशील नेता तथा कार्यकर्ता सूर्य चिह्नबाट चुनाव लड्ने उल्लेख छ । ‘स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ता आगामी प्रतिनिधिसभा, प्रदेश सभा र राष्ट्रिय सभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुनुहुनेछ । स्वतन्त्र समूह स्वतन्त्र पहिचानसहित क्रियाशील हुनेछ ।’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै, तराई–मधेससमेतका जनतालाई शोषण, उत्पीडन र विभेद र असमानताबाट मुक्त गर्न दुवै पक्ष सहमत भएको समझदारी पत्रमा उल्लेख छ । विज्ञप्तिमा समूहका तर्फबाट त्रिपाठीसहित विके गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले हस्ताक्षर गरेका छन् ।

छिटो उम्मेदवार सिफारिस गर्न राप्रपा प्रजातान्त्रिकको निर्देशन
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम छिटो सिफारिस गर्न प्रदेश संयोजक र सह–संयोजकलाई निर्देशन दिएको छ । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकको सोमबार बसेको पदाधिकारी बैठकले सातवटै प्रदेशका संयोजक र सह–संयोजकलाई छिटोभन्दा छिटो प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम केन्द्रमा पठाउन निर्देशन दिएको हो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय चाबहिलमा अध्यक्ष पशुपतिशमशेर जवराको अध्यक्षतामा बसेको बैठकमा आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा पार्र्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल भएको थियो । अध्यक्ष राणाले पार्टीबाट सरकारमा सहभागी मन्त्री र सबै नेतालाई जिल्ला पुगेर पार्टीको पक्षमा माहोल बनाउन पनि निर्देशन दिएका छन् । ‘निर्वाचनको परिणामलाई परिणामुखी बनाउन सबैजना सशक्त रूपमा लाग्नुपर्छ । यसका लागि सरकारमा सहभागी मन्त्रीदेखि नेताहरू पनि जिल्लाजिल्ला पुग्नुस्’ अध्यक्षको भनाइ उद्धृत गर्दै प्रवक्ता राजेन्द्र गुरुङले नयाँ पत्रिकासित भने । बैठकमा निर्वाचनको तयारी, जिल्लाको सांगठनिक गतिविधिका विषयमा पार्टीका महामन्त्री धुव्रबहादुर प्रधानले रिपोटिङ गरेका थिए ।

राप्रपा राष्ट्रवादी पनि निर्वाचनमा
डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले पनि १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन केन्द्रित अभियान घोषणा गरेको छ । राष्ट्रवादीले १८ देखि २२ असोजसम्म पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्यहरू निर्वाचन परिचालन अभियानमा सहभागी हुने निर्णय गरेको छ ।  पार्टीले अध्यक्ष लोहनीको नेतृत्वमा उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्री श्याम तिमल्सिना, केन्द्रीय सदस्य प्रा।डा। विजय सिंह सिजापतिसहितको टोली १७ असोजदेखि रुपन्देही कपिलवस्तु, दाङ, बाँके, बर्दिया, धनगढी, कञ्चनपुरसम्म पुगी निर्वाचनका लागि पार्टी परिचालनको कार्यक्रम गर्ने तालिका सार्वजनिक गरेको छ । त्यस्तै, वरिष्ठ नेता केशरबहादुर विष्ट नेतृत्वको टोली झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, बर्दिवासहुँदै काठमाडौं फर्किने कार्यक्रम छ । उपाध्यक्ष सुष्मा आचार्य नेतृत्वको टोली नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लम्जुङ, स्याङ्जा, कास्की, पर्वतका खटाइएको छ । उपाध्क्ष टोपेन्द्रनाथ योगी नेतृत्वको टोलीले धौलागिरि, कर्णाली, राप्ती, सेती, भेरीका उत्तरी भेगका जिल्लाको भ्रमण गर्नेछ । नयाँ पत्रिकामा समाचार छ ।