काठमाडौं । टीकाको तेस्रो दिन आज पनि आफन्त र मान्यजनको हातबाट टीक, जमरा र आर्शीवाद ग्रहण गरिँदैछ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी कोजाग्रत पूर्णिमाको दिनसम्म मनाइन्छ । विजयादशमीका दिन जान नभ्याइएका आफन्तजनकहाँ कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा थाप्न जाने प्रचलन छ । कतिपय स्थानमा भने टीकाको दिनबाहेक अरू दिन टीका थाप्न नजानेसमेत गरिन्छ ।
दसैँ मनाउन गएकाहरु फर्कन थालेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ । मंगलबारदेखि सरकारी कार्यालय खुल्ने भएकाले काठमाडौं भित्रने यात्रुको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
सडकमा गाडीको संख्या बढ्न थालेको छ भने मुख्य चोकमा केही समय पालो पर्खनुपर्ने अवस्था छ । गएको २४ घण्टामा ४९ हजार १० जना यात्रु काठमाडौं भित्रिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आजदेखि काठमाडौ भित्रने यात्रुको संख्या ७० हजार नाघ्ने ट्राफिक प्रहरीको अनुमान छ ।
प्रतिक्रिया