काठमाडौं । बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू नेपालीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरिरहेका छन् ।
भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।
चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन् ।
सौर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ ।
यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिस्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिरहेका छन् ।
आ–आफ्नो घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजा आराधनाका साथै दुर्गा सप्तशती चण्डी पाठ पनि गर्दैछन् ।
प्रतिक्रिया