देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्युयोर्क पुगेर कार्यवाहकको सम्झना

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको राजकीय भ्रमणमा जाँदा पार्टी विधानविपरीत केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने विवादित निर्णय गरेका थिए । उक्त विवादित निर्णय देउवाले फेरि एकपटक दोहोर्‍याएका छन् । देउवा यतिबेला संयुक्त राष्ट्रसंघको ७२औं महासभामा भाग लिने क्रममा अमेरिकामा छन् । उनी गत असोज ३ गते न्युयोर्क प्रस्थान गरेका हुन् । जानेबेला देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा स्थानीय विकास मन्त्री विजय गच्छदारलाई दिए पनि पार्टीमा कार्यवाहक सभापतिको जिम्मेवारी भने दिएका थिएनन् । भारत जाँदा निधिलाई विधानविपरीत नै भए पनि कार्यवाहक सभापतिको जिम्मेवारी दिएका देउवाले न्युयोर्क जाँदा भने किन कसैलाई कार्यवाहकको जिम्मेवारी दिएनन् भन्ने विषय पार्टीभित्र उठ्यो । स्रोतका अनुसार देउवाले न्युयोर्कमा उक्त विषयलाई लिएर पार्टीभित्र बहस सुरु भएको चाल पाएपछि देउवाले न्युयोर्कबाटै पार्टीका मुख्यसचिवलाई कार्यवाहक सभापतिको जिम्मेवारी विमलेन्द्र निधिलाई दिइएको विज्ञप्ति तयार पार्न लगाए । देउवाको आदेशबमोजिम मुख्यसचिव कृष्ण पौडेलले असोज ४ को मितिमा विज्ञप्ति तयार पारेर निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको जानकारी गराए ।

भारत भ्रमणमा जाँदा पनि निधिलाई विधानविपरीत कार्यवाहकको जिम्मेवारी दिइएको थियो । कांग्रेसको विधानमा उपसभापतिलाई कार्यवाहकको जिम्मा दिन मिल्ने व्यवस्था छ । पार्टीको महाधिवेशन भएको दुई वर्ष पूरा हुँदासमेत दुई महिनामा पूर्णता दिनुपर्ने पार्टी पदाधिकारीको मनोनयन गर्न देउवाले चासो देखाएका छैनन् । भारत भ्रमणका बेला पार्टीभित्रबाट विरोध भएका कारणले भन्दा पनि सभापति देउवाले भारतलाई खुसी पार्नका लागि निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको तर्कसमेत पार्टीभित्र भएको थियो । कांग्रेसको विधानमा केन्द्रीय सभापतिले पदाधिकारीहरूको कार्य विभाजन गर्ने, कार्य विभाजन हेरफेर गर्ने तथा पार्टीका पदाधिकारी एवम् सदस्यहरूमध्येबाट प्रवक्ता तोक्ने वा मनोनयन गर्ने अधिकार रहे पनि महाधिवेशन सकिएको दुई वर्ष पुग्न लाग्दासमेत तोकेका छैनन् ।

सभापति देउवा विधि–विधानको पालना गर्ने र पार्टीमा सबैलाई समेटेर लैजानेभन्दा पनि एकलौटी रूपमा अगाडि बढ्न लागेको प्रतीत हुन्छ । देउवाले भारत भ्रमणमा जाँदा पार्टीको वरीयतामा आठौं नम्बरमा रहेका केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई कार्यवाहकको जिम्मेवारी दिएर धेरैलाई असन्तुष्ट बनाएका थिए । निधिभन्दा अगाडि वरीयतामा महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्ण सिटौला र गोपालमान श्रेष्ठ छन् ।

सभापति देउवाले पार्टीमा एक्लै हिँड्ने प्रवृत्तिका विरुद्धमा कोइराला परिवारका तीन नेता शशांक, सुजाता र शेखर पनि आक्रोशित बनेको बताइएको छ । शेखर र सुजाता देउवाप्रति सुरुदेखि नै आक्रामक देखिए पनि महामन्त्री डा.शशांक भने अलि नरम देखिँदै आएका थिए । तर दुई चरणको टिकट वितरणदेखि पार्टी सञ्चालनमा पनि देउवाले एकलौटी गर्न थालेपछि कोइराला राजनीतिक सन्देश दिनका लागि पनि एउटै मञ्चमा उभिएका हुन् । निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.रामशरण महतदेखि देउवा निकटका नेताहरू गोपालमान श्रेष्ठ र कुलबहादुर गुरुङदेखि अर्जुननरसिंह केसीसमेत असन्तुष्ट बनेको बताइएको छ ।